विशेष अभियान सन्चालन गर्दै नेकपा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३ गते १०:५२
विशेष अभियान सन्चालन गर्दै नेकपा

काठमाडौँ, फागुन ३ गते । हालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकबाट पारित पार्टीको विशेष अभियानको तयारी पूरा भएको छ ।
माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव गरिएको थियो । प्रस्ताव सर्वसम्मतिले पारित भएपछि नेताहरू कार्यान्वयनमा जुट्नुभएको थियो । अब फागुनभरि प्रदेशस्तरको अभियानका लागि तयारी भेला, बैठक गर्ने र चैतदेखि अभियान सञ्चालन गर्ने कार्यक्रम तय भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । चैत र वैशाखमा केन्द्रीय सङ्गठन विभागको योजना र निर्देशनअनुरूप सङ्गठित सदस्यता नवीकरण गर्नुपर्ने छ । चैत १ देखि जेठसम्म पार्टीको एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि जिल्ला तहदेखि स्थानीय तहसम्म अभियान सञ्चालन हुने नेकपाका कार्यालय सचिव श्रीराम ढकालले बताए  । फागुन ४ गते प्रदेश ५ को बुटबलबाट अभियानका लागि भेला र बैठक सुरु भई प्रदेश १ को विराटनगरमा गएर सम्पन्न हुने उनले बताए । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलपछि यस्तो कार्यक्रम तय भएको हो । अभियानमा शीर्ष नेताहरू पनि सहभागी हुने कार्यक्रम छ । फागुन ४ गते प्रदेश ५ मा भेला भई ५ गते बैठक हुने छ । त्यस्तै फागुन ६ गते कर्णाली प्रदेशमा भेला र ७ गते गते बैठक हुने छ । फागुन ९ गते सुदूरपश्चिम प्रदेशमा भेला र १० गते बैठक हुने छ भने फागुन १२ गते गण्डकी प्रदेशमा भेला र १३ गते बैठक हुने बताइएको छ । १५ गते बाग्मती प्रदेशमा भेला र १६ गते बैठक हुने छ । फागुन १८ गते प्रदेश २ मा भेला र १९ गते बैठक तथा प्रदेश १ मा फागुन २० गते भेला र २१ गते बैठक हुने नेकपाले जनाएको छ ।
सातवटै प्रदेशका कार्यक्रममा दुवै अध्यक्ष सहभागी हुनुहुनेछ । प्रदेश १ र ५ मा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा, प्रदेश २ र बागमती प्रदेशमा वरिष्ठ नेता माधवकुमार नेपाल र रक्षामन्त्री ईश्वर पोखरेल, गण्डकी प्रदेशमा वरिष्ठ नेता झलनाथ खनाल, सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेता वामदेव गौतम सहभागी हुनुहुनेछन ।
पार्टी एकताको तत्कालीन एवं दीर्घकालीन महत्व जनतामा स्थापित गर्न, राजनीतिक स्थायित्व एवं सामाजिक–आर्थिक रूपान्तरणद्वारा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा कार्यान्वयन गर्न, सुदृढ सङ्गठन एवं फराकिलो जनाधार निर्माण गर्दै सरकारले गरेका सकारात्मक कामहरूबारे जनतामाझ सन्देश सम्प्रेषण गर्न र पार्टी पङ्क्तिमा नयाँ गतिशीलता सिर्जना गर्न विशेष अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियानको नारा ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ रहेको छ । अभियान सम्पन्न गरिएपछि नेकपाले २०७७ भदौदेखि मङ्सिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गरी चैत २५ देखि ३० मा पार्टीको महाधिवेशन गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको थियो ।

प्रकाशित : २०७६ फागुन ३ गते १०:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI