अक्सफोर्ड कलेजको चरम लापरवाही,स्वीकृति नलिई अध्यापन,विद्यार्थी बिचल्लीमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ४ गते १४:१८
अक्सफोर्ड कलेजको चरम लापरवाही,स्वीकृति नलिई अध्यापन,विद्यार्थी बिचल्लीमा
Oxford College of Engineering and Management, Nawalparasi

चितवन,फागुन ४-

नवलपुरको गैडाकोटस्थित अक्सफोर्ड कलेजको चरम लापरवाहीका कारण विद्यार्थी समस्यामा परेका छन् । पटक–पटक विद्यार्थीमाथि खेलवाड गर्दै आएको अक्सफोर्डको लापरवाहीका कारण फेरी विद्यार्थी बिचल्लीमा परेका हुन् । कलेजले यसपटक विश्वविद्यालयबाट स्वीकृति नै नलिई अध्यापन गराएको पाइएको छ । कलेजले सिभिल इन्जिनियरिङतर्फ आठौँ सेमेस्टरमा टनेल नामको विषय स्वीकृत नलिई पढाएको खुलासा भएको हो ।

कलेजको आग्रह अनुसार ४२ जना विद्यार्थीले टनेल विषयमा फाराम भरेका थिए । विश्वविद्यालयले पढाउँदा हुन्छ भनी अनुमति दिएको कलेज प्रशासनको भनाइ छ । अनुमति दिएको लिखित प्रमाण छैन । ट्रान्सक्रिप्ट दिने बेलामा टनेल विषय रजिष्टर नै छैन भन्दै विश्वविद्यालयले ट्रान्सक्रिप्ट दिएन । विश्वविद्यालयले भने कलेजले रजिष्टर नभएको विषय पढाएको भनेको छ । विश्वविद्यालय गएर बुझ्दा कलेजको गल्ती छ भनेको छ, एक विद्यार्थीले भने, ‘एकआपसमा दोष देखाएर हामी विद्यार्थीलाई बिचल्लीमा पार्ने काम भएको छ ।’ कलेजले भने विश्वविद्यालयले दुःख दिन र बदनाम गराउन यस्तो काम गरेको आरोप लगाएको छ । कलेजका प्रिन्सिपल हरि भण्डारीले भने, ‘हामीलाई दुःख दिन र बदनाम गर्न विश्वविद्यालयबाट पटकपटक नचाहिँदा काम भएका छन, यसपटक पनि हामीमाथि अन्याय भएको छ । उनले विश्वविद्यालयले परिक्षा लिएर परिक्षाफल सार्वजनिक गरेको तर ट्रान्सक्रिप्ट निकाल्ने बेलामा लफडा निकालेको आरोप लगाए । विश्वविद्यालयले सुरुमा फाराम स्वीकार ग¥यो । यसै विषयमा विद्यार्थीले परिक्षा दिए । नतिजा पनि प्रकाशन भयो । आठ जना विद्यार्थीमात्रै यस विषयमा पास भए ।

त्यसपछि विद्यार्थीहरु मार्कसिट लिएर ट्रान्सक्रिप्ट बनाउन विश्वविद्यालय पुग्दा अचम्मित बने । किनकि, विश्वविद्यालयले अक्सफोर्ड कलेजले टनेल विषयमा स्वीकृति नै नलिई पढाएको भन्दै ट्रान्सक्रिप्ट दिन मानेन । लोकसेवाको तयारी र मास्टर्स अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थी अन्योलमा परेका छन् ।

विश्वविद्यालय र कलेजका जिम्मेवार व्यक्तिहरुबीच गत हप्ता विश्वविद्यालयमै पुगेर विद्यार्थीसहित छलफल पनि भएको थियो । तर एकले अर्कोलाई दोष मात्रै देखाएको विद्यार्थीले बताएका छन् । कलेजले विद्यार्थीमाथि यसअघि पनि खेलबाड गरेको थियो । यसअघि पनि केही विद्यार्थीको नम्बर नपठाएपछि नतिजा नै अर्को वर्षका लागि कुर्नु परेको थियो । त्यसबेला कलेजले विद्यार्थीको मास्टर्स तहको अध्ययनमा निःशुल्क गराउने सहमती गरेपछि घटना सेलाएको थियो । त्यस्तै, कलेजले कम्प्युटर इन्जिनियरिङ विषय स्वीकृति नलिई पढाएको थियो । स्वीकृति नलिएको विषयमा विश्वविद्यालयले फर्म लिएन । फेरि विवाद भयो । त्यस समयमा सोही कलेजमा सिभिल पढ्न चाहनेले आधा शुल्क कममा र कम्प्युटर नै पढ्न चाहेकाको हकमा काठमाडौँमा पढ्ने भनी कलेजले प्रतिबद्धता गरेको थियो । यस्तै कलेजले पाँचौ र छैठौ सेमेस्टरको प्राक्टिकल नम्वर समयमै नपठाएका कारण ८४ जना विद्यार्थीहरु प्रभावित भएका थिए ।

नारायणी अनलाईन को सहयोगमा

प्रकाशित : २०७६ फागुन ४ गते १४:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI