रामपुर क्याम्पसमा अनेरास्ववियुको विवादले लियो उग्ररुप, पार्टी कार्यालय तोडफोड

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ५ गते १४:०५
रामपुर क्याम्पसमा अनेरास्ववियुको विवादले लियो उग्ररुप, पार्टी कार्यालय तोडफोड

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरु बीच भएको कुटाकुटले उग्ररुप लिन थालेको छ ।

जनयुद्ध दिवसका सन्र्दभमा पूर्व एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र पूर्व एमाओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी बीच भएको विवादले झडपको रुप लिएको हो ।

गत फागुन २ गते पूर्व एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आक्रमण गरी घाइते बनाएका थिए । उनीहरुको आक्रमणबाट अनेरास्ववियुका सागर काफ्ले, विक्रम केसी, आशिष कार्की, केशवराज काफ्ले लगायतका घाइते भए । सोही दिन साँझ अनेरास्ववियुका विद्यार्थीहरुले अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीमाथि आक्रमण गरे । उनीहरुको आक्रमणबाट क्रान्तकारीका विश्वास अम्गाई, अनिश शाक्य र दिनेश पौडेल घाइते भए । एक जनाको हात भाँचिएको छ । घाइते विद्यार्थीहरु चितवन मेडिकल कलेजमा उपचार पछि घर फर्किएका छन् । उनीहरुलाई अनेरास्ववियुका विद्यार्थीहरुले रडले आक्रमण गरेका थिए ।

अखिल क्रान्तिकारीका विद्यार्थीहरुले सोमबार अनेरास्ववियुका केन्द्रीय सदस्य देव पाठकलाई टाउकोमा रडले हानेर घाइते बनाएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । उनीसँगै आएका जिल्ला नेता सचित सुवेदी पनि सामान्य घाइते छन् ।

विवादका कारण तत्कालीन एमाले निकट अनेरास्ववियुका विद्यार्थी संगठनका विद्यार्थीहरु कलेजमा रहेको होस्टलमा समेत बस्न सक्ने वातावरण नरहेको बताएका छन् । रामपुरमा विद्यार्थीहरुबीच पटक पटक विवाद हुने गरेको छ ।

अनेरास्ववियुले परीक्षा रोक्न र शैक्षिक वातावरण बनाउन भन्दै विश्वविद्यालय प्रशासनलाई दबाव दिइरहेको छ । संकायले लिइरहेको परीक्षाा तत्कालका लागि रोकेर सहमतिमा शैक्षिक वातावरण बनाउनुपर्ने माग उनीहरुको छ ।

अनेरास्ववियु केन्द्रमा एकता भए पनि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भने एकता अझै भइसकेको छैन । नेकपाको जिल्ला नेतृत्वले विवाद मिलाउने प्रयास गरे पनि सहमती हुन नसक्दा घटनाले उग्ररुप लिन थालेको छ । रामपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जुनसुकै बेला पनि घटना हुने सक्ने देखिएकोले सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

प्रकाशित : २०७६ फागुन ५ गते १४:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI