No ads found for this position

सुनको मुल्य किन आकाशियो ???

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ७ गते २१:२२
No ads found for this position
सुनको मुल्य किन आकाशियो ???
No ads found for this position

काठमाडौं : बजारमा सुनको मूल्यले हरेक दिन कीर्तिमानी अंक भेट्टाउन थालेको छ। मंगलबार प्रतितोला ७६ हजार ७ सयमा कारोबार भएको सुन बुधबार ७७ हजार १ सय रुपैयाँ पुगेको छ। सुनको मूल्य इतिहासमै पहिलोपटक ७७ हजार रुपैयाँ नाघेको हो।
        विवाहको मौसममा सुन महँगिएपछि ग्राहक भने मर्कामा परेका छन्। ‘३-४ महिनामै सुनको भाउ २० हजार महँगीसकेछ’, नुवाकोटका मदन ढकाल भन्छन्, ‘यसले विवाहको खर्च निकै बढाइदियो।’पछिल्लो समय सुनलाई समृद्धि र सम्पन्नताको प्रतीक मान्ने प्रबृत्ति बढ्दै गएकाले पनि पहेँलो धातु महँगिँदाको मार ग्राहकमा बझ बढी पर्न थालेको सुनचाँदी व्यवसायी बताउँछन्।
            व्यवसायीले भने सुनको भाउ उकालो लागेपछि व्यापार ठप्पप्रायः भएको बताए। सुन अझै महँगिने सम्भावना रहेको अन्तर्राष्ट्रिय विश्लेषकले अनुमान गरेका छन्।
पछिल्लो समय सूचना प्रविधिसम्बन्धी संसारकै सबैभन्दा ठूलो कम्पनी एपल इन्कले आगामी दिनमा आफ्नो नाफा घट्नसक्ने जोखिम औंल्याएपछि सुनको भाउ झनै चर्किएको छ।
         चीनमा फैलिएको कोरोना भाइरसले विश्वव्यापी उत्पादन र उपभोग दुवै खुम्चिएको छ। विकसित अर्थतन्त्रका कैयौं कारखाना बन्द भएका छन्। 
        पृथ्वीभर नै औद्योगिक कच्चा पदार्थको सबैभन्दा ठूलो आपूर्तिकर्ता चीनमा संकट परेपछि सबैजसो ठूला कम्पनीको नाफा घट्ने प्रक्षपण भएको छ। यसले सुरक्षित लगानीको साधन मानिने सुनमा धनिमानीले लगानी बढाउन थालेका छन्।
       यसैबीच नेपाली अर्थतन्त्रलाई प्रत्येक्ष प्रभाव पार्ने भारतमा आर्थिक समस्या गहिरिँदै गएको तथ्यांक एकपछि अर्को गरी आइरहेका छन्। बुधबारमात्रै भारतको राष्ट्रिय बचत दर १५ वर्षयताकै कम भएको विवरण सार्वजनिक भए। पुँजी लगानी घट्न थालेको र बाह्य ऋण लिएर खर्चनुपर्ने बाध्यता बढेका कारण राष्ट्रिय बचत खुम्चिएको बताइएको छ।
        महँगी बढेसँगै मानिसले टिकाउयुक्त समानको खरिद बढाएका कारण घर परिवारको बचत पनि घट्न थालेको बताइएको छ। यस्ता खराब तथ्यांकले सुनमात्र होइन, अमेरिकी डलरको भाउ पनि महँगिन सहयोग पुग्छ। यसको दोहोरो असर सुनको मूल्यमा पर्ने गर्छ।
           नेपाली समयअनुसार बुधबार साँझसम्मको अन्तरर्राष्ट्रिय बजार प्रवृत्तिले आगामी दिनमा सुन अझै महँगिने संकेत गरेको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार एकैदिन सुनको मूल्य प्रतिऔंस साढे १० अमेरिकी डलरसम्म महँगिएको छ। त्यसो त, २१ माघमा प्रतिऔंस १५ सय ५० डलरमा कारोबार भएको सुन बुधबार साँझ १६ सय ११ डलरसम्म पुगेको छ।    
        भारतीय बजारमा पनि बुधबार सुनको मूल्य प्रति १० ग्राम ४ सय ६२ भारु महँगिएको छ। अमेरिकी डलर र चाँदीको मूल्य पनि सँगसँगै महँगिएको छ। बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला ९ सय ५ रुपैयाँ पुग्यो। यो पनि ऐतिहासिक उचाइ हो।   
          सुन महँगिँदा नेपाली सुनचाँदी व्यवसायीले विदेश निर्यात गर्ने गरगहनाबाट नाफा पाउन सक्छन्। तर अहिले गरगहनाभन्दा पनि लगानीका लागि सुनको माग बढेकाले यस्तो लाभ कमैमात्र भएको व्यवसायीले बताए।  

प्रकाशित : २०७६ फागुन ७ गते २१:२२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI