भीमेश्वरमा पसिना, अनिष्टको संकेत

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते १६:३४
भीमेश्वरमा पसिना, अनिष्टको संकेत

दोलखा। प्रसिद्ध दोलखा भीमेश्वरमा बिहीबार बिहान पसिना आएको छ। भीमेश्वरमा पसिना आएपछि अनिष्ट हुने संकेतका रुपमा बुझिन्छ। 

पसिना आएपछि बिहीबार बिहानदेखि नै भक्तजनहरुको घुइँचो लागेको छ। अनिष्ट नहोस् भनी उनीहरुले कामना गरिरहेका छन्। त्यसैगरी एकोहोरो दमाहासमेत बजाइएको छ। 

भीमेश्वरमा पसिना आउनासाथ राष्ट्र प्रमुखले क्षमापूजा गर्ने चलन रहेको छ। 

यसअघि २०७४ सालको असोजमा पनि भीमेश्वरमा पसिना आएको थियो। भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पूजासामग्रीसहित क्षमा पूजा गरिएको थियो । 

भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ। सोहीअनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्रीसहितले भीमेश्वरमा क्षमापूजा गरिएको थियो। 

उक्त क्षमापूजामा लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ। सरकारका तर्फबाट र स्थानीयवासीको तर्फबाट दुई–दुईवटा बोका बलि दिनुपर्ने प्रचलनअनुसार बलिपूजा गरिन्छ।

बाजागाजासहित बलिपूजा गरेपछि उपस्थित सबैलाई प्रसाद बाँडिन्छ र क्षमापूजा समापन हुन्छ।

त्यसअघि राजदरबार हत्याकाण्डमा पूर्वराजा वीरेन्द्र शाहको वंश नाश हुने बेलामा पनि भीमेश्वरमा पसिना आएको थियो । त्यस्तै २०७२ सालको महाभूकम्पअघि पनि भीमेश्वरमा पसिना आएको थियो। 

प्रकाशित : २०७६ फागुन ८ गते १६:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI