के हो थाईराईड क्यान्सर ???

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ८ गते २२:३७
के हो थाईराईड क्यान्सर ???

डा. दिपक मल्ल

थाइराइड क्यान्सर अन्य क्यान्सरभन्दा भिन्न हुन्छ। यो क्यान्सर भएका मानिस कुनै पनि लक्षण लिएर अस्पताल आउँदैनन्। घाँटीमा गिर्खा आयो भनेर उपचारका लागि आउने बिरामीमध्ये एक प्रतिशतमा यो क्यान्सर देखिने गर्छ।थाइरोइड क्यान्सर लागेका ० दशमलव ५ प्रतिशत मानिसको मुत्यु हुने गर्छ। त्यसैले यो क्यान्सर जति छिटो प्रहिचान भयो त्यति नै छिटो निको बनाउन सकिन्छ। यदि घाँटीमा गिर्खा आएको जस्तो महसुस भयो भने अस्पतालमा गएर अल्ट्रासाउन्ड गर्दा गिर्खा १ सेन्टिमिटर भन्दा माथिको छ भने एफएसी गरेर क्यान्सर भए/नभएको पत्ता लगाउनुपर्छ। घाँटीमा आएको गिर्खा अल्ट्रासाउन्ड गर्दा समय लगाएर गर्नुपर्छ। किनभने घाँटीमा भएका सबै गिर्खा कति ठूला छन् भनेर हेर्नु पर्छ। ४०-५० वर्ष उमेरका व्यक्तिमा यो क्यान्सर बढी मात्रामा देखिने गर्छ। थाइरोइडको क्यान्सर पुरुषभन्दा महिलामा बढी हुन्छ। थाइरोइड नोडल आएको र गर्भवतीलाई क्यान्सर हुने सम्भावना बढी हुन्छ। 

कारण
थाइरोइड क्यान्सर के कारण हुन्छ भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। तर मोटो मानिसलाई यो क्यान्सर हुने सम्भावना बढी हुन्छ। 

लक्षण
थाइरोइड क्यान्सर भएका मानिसहरु लक्षण लिएर अस्पताल आउँदैनन्। किनभने यो क्यान्सरले कुनै लक्षण देखाउँदैन।  यदि घाँटी पहिलाको भन्दा फुलेको जस्तो भयो। घाँटीमा सारो किसिमको डल्लो आयो, श्वास फेर्न,  थुक निल्न गाह्रो भयो भने क्यान्सर हुने सम्भावना बढी हुन्छ। त्यसैले जाँच गर्न अस्पतालमा जानु पर्छ।

उपचार 
थाइरोइड क्यान्सर विभिन्न प्रकारका हुन्छन्। ४० वर्षदेखि ५० वर्ष उमेरका मानिसमा यो क्यान्सर देखिने गर्छ। यो क्यान्सर शरीरमा छिट्टै फैलिँदैन। यस्तो क्यान्सरको उपचार भनेको थाइरोइड ग्रन्थीको शल्यक्रिया गरेर निकाल्ने हो। शल्यक्रियापछि विकिरणयुक्त ‘ओयोडिन स्क्यान’ भन्ने उपचार गरिन्छ। यो उपचारबाट शरीरमा थाइरोइड क्यान्सर कति बाँकी छ या निर्मूल भइसक्यो भन्ने जाँच गरिन्छ।  कसैकसैलाई एनाप्लास्टिक थाइरोइड क्यान्सर भएको हुन्छ। यो क्यान्सर उपचार गर्न गाह्रो हुन्छ। ६० वर्षभन्दा बढी उमेरका मानिसमा यो क्यान्सर देखिने गर्छ।  यो क्यान्सरमा छिटो शरीरमा फैलिन्छ। यस्तो क्यान्सरमा शल्यक्रियापछि रेडियोथेरापी र किमोथेरापी दिएर उपचार गर्नुपर्छ।  बेलैमा थाहा भयो भने उपचारपछि थाइरोइड क्यान्सर निको हुन्छ। तर, क्यान्सर शरीरभरि फैलिइसकेको अवस्थामा भने निको हुन गाह्रो हुन्छ। त्यसैले सामान्य अवस्थामा पनि थाइरोइड ग्रन्थीको नियमित चेकजाँच गराउनु राम्रो हुन्छ। थाहा भएको ४ देखि ६ महिनामा उपचार गर्नुपर्छ। गर्भवतीको केसमा भने बच्चा जन्मिएपछि शल्यक्रिया गरेर फल्न सकिन्छ। थाइरोइड क्यान्सरको उपचारपछि बिरामीले सामान्य जिन्दगी बिताउन सक्छन्। जिन्दगीभर थाइरोइड हर्मोनको औषधि भने लिनुपर्छ। 

(डा मल्ल वीर अस्पतालका इन्डोक्राइनोलोजिस्ट हुन्)

प्रकाशित : २०७६ फागुन ८ गते २२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI