कोरोनाबाट मृत्यु हुनेकाे संख्या दुई हजार २४७ पुग्याे, ७६ हजार बढी संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ९ गते १०:३८
कोरोनाबाट मृत्यु हुनेकाे संख्या दुई हजार २४७ पुग्याे, ७६ हजार बढी संक्रमित

विश्वभर त्रास फैलाइरहेको कोरोना (कोभिड–१९) को महामारीबाट हालसम्म दुई हजार २४७ जनाले ज्यान गुमाइसकेका छन् । भाइरसका कारण हालसम्म चीनमा मात्रै दुई हजार २३६ जनाको ज्यान गइसकेको छ । चीनको वुहानबाट शुुरु भएको कोरोना भाइरसको संक्रमण विहीबारसम्म ७६ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । बिहीबार चीनमा थप ११५ जनाको मृत्यु भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

चीन बाहिर विभिन्न मुलुकमा कोरोना भाइरसबाट ११ जनाको मृत्यु भएको छ चीन बाहिर जापानमा तीन, हङकङ र इरानमा दुई–दुई, दक्षिण कोरिया, ताइवान, फ्रान्स र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितको संख्या भने निरन्तर घटिरहेको स्वास्थ्य आयोगले जनाएको छ।

बिहीबार थप ४११ चिनियाँ नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य आयोगले जनाएको छ । त्यस्तै १८ हजार ४३८ जना निको भएका छन् । कोरोना भाइरसका कारण मध्यपूर्वमा पनि दुई जनाको मृत्यु भएको छ । इरानले कोरोना भाइरस संक्रमित दुई जनाको मृत्यु भएको जनाएको छ । उसले बिहीबार थप दुई जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । बुधबारै हङकङले पनि थप एक ७० वर्षीय पुरुषको मृत्यु भएको जनाएको थियो।

फ्रान्स, फिलिपिन्स र ताइवानमा एक–एक जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजमा कोरोना भाइरसको संक्रमण पाइएका थप दुई जापानी नागरिकको मृत्यु भएको अधिकारीले बताएका छन् । दुवै जना ज्येष्ठ नागरिक भएको र उनीहरूको उपचारकै क्रममा मृत्यु भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मृत्यु हुनेमा एक ८७ वर्षीय पुरुष र एक ८४ वर्षीया महिला रहेका जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकका नाम भने सार्वजनिक गरिएको छैन । कोरोना भाइरसका कारण यसअघि जापानमा एक जनाको मृत्यु भएको थियो । १४ दिन क्वारेन्टाइनमा राखिएको पानीजहाजमा कम्तीमा ६२१ जनालाई कोरोना संक्रमण पाइएको छ । मुख्य भूमि चीनबाहिर सबैभन्दा धेरै संक्रमित डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजमै पाइएका छन् ।

कोरोना भाइरसका कारण पानीजहाजसहित चीन बाहिर एक हजार भन्दा बढी संक्रमित छन् । चीनको अथक प्रयासका बाबजुद पनि कोरोना भाइरस अझै नियन्त्रणमा आउन सकेको छैन । डिसेम्बरमा संक्रमण देखिएयता उसले अथक प्रयास गरिरहेको छ । हालसम्म हुबेई प्रान्तमा मात्रै ४० हजार शैंयाको अस्पताल बनाइएको छ । देशका विभिन्न भू–भागबाट ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी पठाइएका छन् । भाइरसको उद्गमस्थल वुहानमा ११ हजार ‘इन्टेसिभ केयर’ स्वास्थ्य अधिकारी परिचालन गरिएको छ । प्रकोप नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री सन चुन्लानकै नेतृत्वमा केन्द्रीय सरकारको टोली भाइरस प्रभावित वुहानमा खटिएका छन् । स्वास्थ्य टोलीलाई ज्वरो आएका बिरामीको पहिचानमा थप सक्रियता अपनाउन भनिएको छ।

हुबेईमा कोरोना प्रभावित गम्भीर प्रकृतिका बिरामीलाई मात्रै हेर्ने गरी १९ हजार १६१ शैंयाका ४५ अस्पताल सञ्चालनमा छन् । यसका साथै, जिमखाना, सम्मेलन वा प्रदर्शनी केन्द्र जस्ता ठाउँमा १२ वटा अस्थायी अस्पताल निर्माण गरिएका छन् । मध्यम प्रकृतिका संक्रमितलाई उपचार गर्न बनाइएका त्यस्ता अस्पताल २० हजार शैंया क्षमता छन् ।

वुहान अझै पनि बन्द अवस्थामै छ । अत्यावश्यक बाहेक अन्य बेला स्थानीयलाई घर बाहिर निस्कन दिइएको छैन भने निजी सवारीसाधन पूर्ण प्रतिबन्धित छन् । संक्रमित पहिचानका लागि नयाँनयाँ मापदण्ड लागू गरिएका छन् । कतियय विरामीलाई परम्परागत विधिबाट पनि उपचार भइरहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । हुबेई प्रान्तमा जारी बिदा मार्च १४ सम्मलाई लम्ब्याइएको छ । सरकारी अधिकारीले प्रकोप रोकथाम र नियन्त्रणमा संलग्न वा अत्यावश्यक सार्वजनिक सेवा प्रदायक कम्पनीबाहेकलाई बिदा लम्ब्याउन भनेका हुन् । दक्षिण कोरियामा पहिलो मृत्यु चीनको छिमेकी दक्षिण कोरियाली शहर डाइगुमा कोरोना भाइरसले पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

कोरियाभर संक्रमितको संख्या १०४ पुगेको छ । डाइगु शहरमा मात्रै बिहीबार कोरोना भाइरसका थप ३५ संक्रमित पाइएपछि त्यहाँका मेयर क्वोन योङ–जिनले बिहीबार २५ लाख नगरवासीलाई घरभित्रै बस्न भनेका छन् ।

आसियन राष्ट्रको ढाडस लगभग दुई महिनादेखि कोरोना भाइरससँग जुधिरहेको चीनलाई दक्षिण पूर्वी एसियाली राष्ट्रले समर्थन गरेका छन् । ती राष्ट्रसँग भाइरस प्रकोपबारे छलफल गर्न बिहीबार आयोजित विशेष बैठकमा चीनले आफूप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको थियो । प्राणघातक कोरोना भाइरस रोकथाम र नियन्त्रणमा चीनले उपयुक्त कदम नचालेको भन्दै आलोचना भइरहेकै बेला दक्षिण पूर्वी एसियाली राष्ट्रका संगठन (आसियान) सँग भियतनामको राजधानी लाओसमामा विशेष छलफल गरेको हो ।

प्रकाशित : २०७६ फागुन ९ गते १०:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI