नेपाल प्रेस युनियनको महाधिवेशनको तयारी तिब्र पारिदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ११ गते २०:१७
नेपाल प्रेस युनियनको महाधिवेशनको तयारी तिब्र पारिदै

काठमाडौं – हजारौ पत्रकार आबद्ध नेपाल प्रेस युनियनको महाधिवेशनको तयारी व्यापक गराईएको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीका अनुसार चैतको २१ गते नेपालगञ्जमा महाविधेशनको उद्घाटन हुनेछ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महाधिवेशनमा करीव १५ सय पार्षदहरूले भाग लिने सिवाकोटीले बताए । अघिल्लो पटकभन्दा यस पटक युनियनमा पार्षदहरूको संख्या बढ्नेछ । महासचिव सिवाकोटीका अनुसार फागुन महिनाभित्र देशभरिका पार्षदहरूको नामावली अध्यावधि हुनेछ । सोमबारसम्म झण्डै छ सय पार्षदहरूको नाम केन्द्रीय कार्यालयमा आइसकेको छ ।

प्रदेश र केन्द्रका पार्षदहरूको सूची पनि धमाधम तयार भइरहेको छ । युनियनका ८८ वटा शाखा छन् । विदेशमा युएई, युके र पोर्चुगलमा युनियनको शाखा छ । विदेशी पाहुनाहरूलाई बोलाउन निमन्त्रणा पठाउने काम पनि भइरहेको छ ।

सुर्खेत, दैलेख, नुवाकोट र काभ्रे जिल्लामा अधिवेशनलाई लिएर केही तनाब भएको छ । तर, ती जिल्लाहरूको अधिवेशन छिटोभन्दा छिटो गर्ने तयारी भइरहेको र विवादहरू समाधानतिर गइसकेको महासचिव सिवाकोटीले बताए ।

नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा युनियनको महाधिवेशन गर्ने तयारी भएको छ । झण्डै १५ सय पार्षदहरूलाई राख्नका लागि बाँकेको होटेल व्यवसायी संघसँग कुराकानी पनि भएको छ । त्यसका लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, स्थानीय आयोजक समितिका संयोजक प्रेम केसीलगायतको टिमले नेपालगञ्जमा तयारी गरेको महासचिव सिवाकोटीले बताए ।

यस पटक युनियनले उद्घाटन सत्र अगाडि दुइटा सत्र चलाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय पत्रकारहरूको संस्था आइएफजेकै मोडलमा महाधिवेशन गर्ने तयारी भएको सिवाकोटीले बताए । उद्घाटन गर्नु अगाडि बिहान खाजा खाएर साढे एक घण्टा संगठनका विषयमा छलफल हुनेछ । त्यसपछि साढे एक घण्टा नेपाली प्रेसको समस्याका विषयमा कार्यशाला गर्ने तयारी भएको सिवाकोटीले बताए । झण्डै चार घण्टाभित्र दुइटा सेसन सम्पन्न गरेपछि उद्घाटन गरेर महाविधेशन गर्ने तयारी भएको छ । उद्घाटन सत्रपछि बन्द सत्र र त्यसपछि नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम शुरु हुनेछ । महाधिवेशनमा करीव ५० लाख खर्चको अनुमान गरिएको महासचिव सिवाकोटीले बताए । झण्डै दश लाख सदस्यता शुल्कबाट संकलन हुनेछ । बाँकी पैसा व्यक्तिगत रुपमा भार नपर्ने गरी शुभेच्छुक संस्था र व्यक्तिहरूबाट सहायतका रुपमा लिइनेछ ।

महाधिवेशनको खर्चका लागि प्रदेश ५ को सरकार, बाँकेका गाउँपालिका र नगरपालिका, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएको महासचिव सिवाकोटीले बताए ।
महाधिवेशनमा सहभागी हुन आउने पार्षदहरूलाई तीन रात नेपालगञ्जमा बस्ने र खाने व्यवस्था गरिनेछ । महाधिवेशनमा नेतृत्वका लागि बर्तमान सभापती बद्री सिग्देल,बरिस्ठ उपाध्यक्ष दिपक आचार्य,सल्लाहकार शिव लम्साल,महासचिव अजय बाबू सिवाकोटिको मुख्य दाबेदारी रहेको छ । पुर्ब सभामुख कृष्ण बहादुर महरा र सञ्चार तथा सुचना प्रबिधि मन्त्री गोकुल बास्कोटाको समाचार बाहिर ल्यायपछी अजय बाबू सिवाकोटिको सम्भावना बलियो देख्न सकिन्छ । महाधिवेशनको मिति नजिकिदै गर्दा पाटिका केही प्रभाबशाली नेता तथा युनियनका सदस्यहरु यसपालिको नेतृत्व सिवाकोटिलाई दिनुपर्नेमा जोड दिईरहेका छन ।

प्रकाशित : २०७६ फागुन ११ गते २०:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI