प्रधानमन्त्री देख्दा सुरो यथार्थमा विचरो: गगन थापा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १३ गते १५:०८
प्रधानमन्त्री देख्दा सुरो यथार्थमा विचरो: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रकै राष्ट्रवादीले तह लगाइदिएको बताएका छन्।
मंगलबार संसदमा बोलेका सांसद थापाले एमसिसीको प्रसंगमा नेकपाभित्रकै खाँटी राष्ट्रवादीले प्रधानमन्त्रीलाई तह लगाइदिएको बताए। ‘एमसिसीमा नेकपाभित्रकै खाँटी राष्ट्रबादीले तपाईंलाई तह लगाइदिएका छन्। एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने कार्यदल बनाउने कुरामा तपाईं जसरी कमजोर देखिनुभयो, यो देखेपछि तपाईंलाई बाहिर के भन्दैछन् थाहा छ? देखिँदाखेरि सुरो यथार्थमा विचरो भन्दैछन्,’ थापाले भने।
प्रधानमन्त्रीले जन्मदिन मनाएकोबारे धेरै टिप्पणी गर्न नचाहेको उल्लेख गरेका थापाले राजसी ठाँटका साथ जन्मदिन मनाइएकोले पूर्वराजा ज्ञानेन्द्र शाहको झल्को मेटाइदिएको बताए। ‘तपाईंले राजसी ठाँटका साथ मनाएको जन्मदिनबारे नागरिक के भन्दैछन् थाहा छ प्रधानमन्त्रीज्यू?,’ उनले भने, ‘२०६१ सालमा ज्ञानेन्द्र शाहले देखाएकै जस्तो झल्को मेटाइदिनुभयो भन्दैछन्।’भ्रष्टाचारलगायतका एकपछि अर्को काण्डबारे प्रधानमन्त्रीले थाह नपाएजस्तो गर्नु पाप हुने थापाको भनाइ छ। ‘सबै कुरा थाहा पाएर थाहा नपाएजस्तो गरिरहनुभएको छ भने त्यो पाप हो। केही थाहा पाउनुभएको छैन भने त्यो असक्षमता हो,’ थापाले भने।
थापाले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभ गर्न सुझाव दिएका छन्। ‘संख्या तपाईंसँग होला प्रधानमन्त्रीजी तर शासन गर्ने बैधानिक क्षमता गुमाउनुभएको छ,’ उनले भने, ‘नेकपाको र नेपालको स्वास्थ्यका लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुस्।’

प्रकाशित : २०७६ फागुन १३ गते १५:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI