महिनावारी सरसफाई तथा पुनःप्रयोग योग्य सेनेटरी प्याड निर्माणको तालिम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १६ गते १९:०३
महिनावारी सरसफाई तथा पुनःप्रयोग योग्य सेनेटरी प्याड निर्माणको तालिम सम्पन्न

दिपक शर्मा/देवचुली, १६ फागुन

महिनावारी अर्थात रजस्वला हुनु भनेको प्राकृतिक प्रकृया भएता पनि यसको बारेमा अझै पनि हाम्रो समाजमा अन्धविश्वास व्याप्त रहेको छ । महिनावारी अर्थात रजस्वाला हुँदा गर्नुपर्ने सरसफाई तथा यसको प्रकृयाको बारेमा भने देवचुलीका किशोरीहरुद्धारा विद्यालय तथा समुदायमा विभिन्न तालिमहरु सञ्चालन गर्दै आएका छन् ।
यसै क्रममा आज देवचुली नगरपालिका वडा नं. १७ मा रहेको वरचुली माध्यमिक विद्यालयका बालबालिकाहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको कुरा किशोरी अभियन्ता निरुता खत्रीले बताउनुभयो ।
कक्षा ८ मा अध्ययनरत बालक तथा बालिकाहरु गरी ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महिनावारी भनेको के हो ? यसको प्रकृयाहरु के के हुन ? महिनावारीको बारेमा हाम्रो समाजमा रहेको विश्वास र बास्तविकता के हो ? पुन: प्रयोग योग्य सेनेटरी प्याडको महत्व के रहेको छ ? कसरी यसको प्रयोग गर्ने भन्ने बारेमा र प्याड निर्माणको बारेमा समेत किशोरी अभियन्ताहरुबाट प्रशिक्षण प्रदान गरेको जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत सविता पंगेनीले बताउनुभयो ।


उक्त कार्यक्रममा सहभागी भएका बालक सहभागी विपिन गैरेले यो महिनावारीको बारेमा हामी सवै बालकहरुले समेत थाहा पाउनुपर्ने र आफ्नो घरमा र विद्यालयमा समेत किशोरीहरु र आमा दिदीबहीनीहरुलाई समेत सिकाउने कुरा तालिमको अन्त्यमा राख्नुभएको थियो ।
किशोरी साथीहरुलाइृ सहयोग गर्नुपर्ने अवस्थामा आज सम्म हाम्रो ध्यान नपुगेको र आजबाट हामीले थाहा पायौ र अवबाट हामीले यसको बारेमा सोध्ने र सहयोग गर्ने समेत प्रतिबद्धता अर्का बालक सहभागी आकाश डुम्रेले बताउनुभयो ।


कार्यक्रममा महिनावारीको बेलामा प्रयोग गर्ने पुन : प्रयोग योग्य सेनेटरी प्याडको तालिम समेत प्रदान गरिएको र यो कपडाबाट निर्माण हुने र यसको सरसफाईमा ध्यान दिन सकेमा स्वस्थ, कम खर्च हुने र समयको समेत बचत हुने कुरा बताइएको थियो ।


उक्त कार्यक्रममा किशोरी अभियन्ताहरु निरुता खत्री, प्रतिमा आचार्य, स्वस्तिका भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित : २०७६ फागुन १६ गते १९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI