हुप्सेकोटमा माटोको अबैध उत्खननमा ब्रेक, खानी तथा भुगर्भ बिभागले दियो निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १७ गते १२:०३
हुप्सेकोटमा माटोको अबैध उत्खननमा ब्रेक, खानी तथा भुगर्भ बिभागले दियो निर्देशन

अवैध उत्खनन र निकासीलाई जारी  जारी राख्न स्वार्थ समूहले प्रसासकीय प्रमुख नै फेरेका थिए

नवलपुर। जिल्लाको हुप्सेकोट गाउँपालिकामा हुने गरेको माटोको अबैध उत्खनन् रोक्न खानी तथा भुगर्भ बिभागले विशेष चासो देखाएको छ। यसअघि हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ शंखदेबबाट ठूलो परिमाणमा माटोको अबैध उत्खनन हुने गरेको थियो।

अबैध उत्खनन् र निकासी रोक्न उध्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ बिभागको खानी अनुमती तथा प्रशासन शाखाको टोली केही दिन अघि गाउँपालिकाको कार्यालयमा नै आएर बिभागिय निर्णय अनुसारको पत्र दिएको थियो । पत्रमा त्यस क्षेत्रमा खनिज पदार्थ उत्खनन् उत्पादन गर्न अनुमती पत्र तथा उत्खनन् सहमती प्रदान नगरिएकाले अबैध रुपमा उत्खनन गरिएको भेटिएमा रोक्नलाई गाउँपालिकाको कार्यालयसंग सहयोग मागिएको छ।

सोही ब्यहोराको पत्र मध्यबिन्दु नगरपालिकाको कार्यालयलाई समेत दिइएको  छ। पत्र अनुसार यसअघि हुप्सेकोट गाउँपालिकासंगै मध्यबिन्दु नगरपालिकाको वडा नम्बर १० र वडा नम्बर १३ को क्षेत्रबाट समेत रातो माटोको अबैध उत्खनन तथा निकासी भईरहेको थियो ।

मध्यबिन्दु नगरपालिकामा बाताबरणिय प्रभाब मुल्यांकन गरेर नगरपालिकाको कार्यविधी अनुसार उत्खनन र निकासी गरिएको नगर प्रमुख चन्द्र बहादुर राना बताउँछन्। रानाका अनुसार मध्यबिन्दु नगरपालिकामा कार्यबिधि अनुसार उत्खनन् र निकासी गरिएतापनी खानी तथा भु गर्भ बिभागकोे निर्णय आकर्षित भएको छ। मध्यबिन्दु नगरपालिकामा भन्दा हुप्सेकोट गाउँपालिबाट ठूलो परिमाणमा माटो उत्खनन् भएको पार्ईएको छ। 

हुप्सेकोट गाउँपालिकामा कार्यबिधि बिपरित यस्तो उत्खनन बर्षेनी छिटफुट रुपमा हुने गरेता पनि यो आर्थिक बर्षको सुरुवातसँगै माटो उत्खननमा अस्वभाविक रुपमा वृद्धि भएको थियो । हुप्सेकोट गाउँपालिकाको शंखदेब गाउँबाट ठूलो परिमाणमा माटोको अबैध उत्खनन् र निकासी बढेको सुचना स्थानीयले दिएपछी हुप्सेकोट गाउँपालिकाको कार्यालयले त्यसलाई रोक्न पहल थालेको थियो । सो क्रममा गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारिको टोलीले पटक पटक अबैध उत्खनन् र निकासीमा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिई जरिवाना समेत गरेको गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र रेग्मी बताउँछन्। रेग्मीका अनुसार बाताबरणिय प्रभाब मुल्यांकन नगरिकन उत्खनन् गर्नु अबैध भएको ठहर्दै माटोको अबैध उत्खनन् रोक्न पहल थालेपछी दिनहुँ जसो उत्खनन् र निकासीमा संलग्न केहि स्थानिय (शंखदेब निवासी) समेत सहभागि ब्यापारिक समुहले गाउँपालिकामा प्रदर्शन गर्ने गरेका थिए।

प्रदर्शनमा सहभागिहरुले जग्गा धनीले राजस्व तिरेपछि आफ्नो बारिको माटो निकाल्न पाउनुपर्ने भन्दै नाराबाजि गर्ने गरेकोे बताईएको छ। गाउँपालिकाले बाताबरणीय प्रभाब मुल्यांकन गरेर मात्र उत्खनन र निकासी गर्न भनेता पनि स्थानिय समेतको ब्यापारिक समुहले राजस्व तिरेर निकाल्न किन नपाईने भन्दै आक्रोश ब्यक्त गर्ने गरेका थिए।

उत्खननको घटना दोहोरिरहेपछी गाउँपालिकाले प्रशासन र मन्त्रालयसंग सहयोग मागेर उत्खनन् रोकेको गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पान्डेले सुनाइन।  “अहिले खानी तथा भूगर्भ बिभागले समेत चासो देखाएको छ । माटोको अबैध उत्खनन् र निकासी रोक्दा समायोजनमा आएका प्रमुख प्रशासकिय अधिकृत लिला बल्लभ न्यौपानेको समय अगावै सरुवा भो” पान्डे थप्छिन् “ बाताबरणिय प्रभाव मुल्यांकन गरेर माटो उत्खनन गर्दा गाउँपालिकालाई राजस्व मात्र २ करोड आएपनि र प्रदेश तथा गाउँपालिकाको ऐन भन्दा बाहिर जान नसकिने भएकाले रोक्न पहल गरिएको हो । पछि हामिले मन्त्रालयको समेत सहयोग मागेका थियौ ।”

पान्डेले ऐनले निर्देशित गरे अनुसार प्रक्रिया पुर्याएर काम गर्न अनुरोध गरेता पनि त्यतिबेलादेखि नै प्रमुख प्रशासकिय अधिकृतको सरुवा गर्न केहि समूहले चलखेल सुरु भएको बताउँछिन । उनका अनुसार नियम अनुसार काम गर्न खोज्दा प्रमुख प्रशासकिय अधिकृत लिला बल्लब न्यौपानेको सरुवा भएको हो । नियम अनुसार राम्रो काम गरिरहेको कर्मचारीलाई सरुवा गर्न उच्च तहका जनप्रतिनिधी नै लागेको उनको दाबी छ।

ठेक्कामा गएको ढुङ्गा, गिटी, माटो, बालुवा, दहत्तर, बहत्तर उत्खनन् तथा निकासी गर्न पनि निश्चित समयावधी तोकिने गर्दछ तर शंखदेब क्षेत्रबाट रातिमा पनि एक्साभेटर,जेसिभि,ट्रिपर प्रयोग गरेर उत्खनन् तथा निकासी गर्ने गरिएको सुचना प्राप्त गरेपछी त्यसलाई रोक्न गाउँपालिकाले कडाईका साथ काम गरेको गृह मन्त्रालयमा सरुवा भएका प्रमुख प्रशासकिय अधिकृत लिला बल्लब न्यौपानेले बताएका छन्। “हामीले कार्यविधी अनुसार बाताबरणिय प्रभाब मुल्यांकन गरेर मात्र उत्खनन गर्न भनेका थियौ । अहिले माथिबाट (खानी तथा भूगर्भ बिभागबाट) पत्र आएको छ। बाताबरणिय प्रभाब मुल्यांकन गरेर मात्र पनि उत्खनन गर्न नपाईने रहेछ” उनी थप्छन “नियम अनुसार गर्न खोज्दा अप्ठ्यारोमा परियो । माथिबाट पनि पत्र आएपछी अब अबैध निकासी रोक्ने त्यतिबेलाको कदम ठिक रहेको महसुस गरेका छौ।” 

अबैध उत्खनन बढ्दै गए पछि गाउँपालिकाले कार्यपालिकाबाट माटो सम्बन्धि बिशेष कार्यबिधि पास गरेको न्यौपानेले जानकारी दिएका छन्। गिटी, ढुंगा, बालुवा, माटो, दहत्तर, बहत्तर सम्बन्धि कार्यबिधि पहिले नै पास गरेको भएता पनि माटोको अबैध उत्खनन रोक्न पछि फेरी माटोको मात्र बिशेष कार्यबिधि तयार गरेको उनले स्पष्ट पारे। न्यौपानेले भने जस्तै त्यस क्षेत्रमा रातिमा पनि रातो माटो उत्खनन् तथा निकासी हुने गरेको स्थानिय युवा सुरज सापकोटा बताउँछन्।  हुप्सेकोट गाउँपालिकाको शंखदेब क्षेत्रमा रातो माटो छ। रातो माटो सिमेन्ट कारखाना र ईट्टा भट्टामा ठूलो मात्रामा माग हुने भएकाले त्यहाँको माटो लिन ब्यापारीहरु हानाथाप गरेर लागि पर्ने गरेका थिए।

हाम्राकुरा डटकम बाट

प्रकाशित : २०७६ फागुन १७ गते १२:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI