चीनबाट नेपाली ल्याउने विमानका १८ सदस्यलाई क्‍वारेन्टाइनबाट बिदाइ

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १८ गते २०:५७
चीनबाट नेपाली ल्याउने विमानका १८ सदस्यलाई क्‍वारेन्टाइनबाट बिदाइ

भक्तपुर — कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिएको चीनको बुहानबाट नेपाली नागरिक लिएर फर्केका नेपाल वायु सेवा निगमको विमानका चालक दलका १८ जनालाई क्वारेन्टाइनबाट बिदाई गरिएको छ ।चाँगुनारायण नगरपालिका–६ पिपलबोटस्थित खानेपानी सरसफाई डिभिजन तालिम केन्द्र क्वारेन्टाइनमा रहेका १८ जना मै कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएपछि उनीहरूलाई आइतबार साँझ बिदाइ गरिएको हो ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, शहरी विभागका इन्जिनियर, नेपाल एयरलायन्सका पदाधिकारी, स्थानीयबासिन्दा लगायतले खादा, टिकासहित बिदाइ गरेका थिए ।
कोरोना भाइरस प्रभावित चीनको वुहानबाट नेपाली नागरिक ल्याएर क्वारेन्टाइन राख्‍न लागेको विषयलाई लिएर चर्को विरोधमा उत्रिएका स्थानीय बासिन्दाले समेत माफी माग्दै उनीहरुलाई खादा ओढाएर बिदाइ गरे ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोना परीक्षणका लागि शनिबार उनीहरु सबैको नमुना संकलन गरिएको थियो ।

चाँगुनारायण–७ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्र क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना सबैको पनि कोरोना परीक्षणका लागि शनिबार नमुना संकलन गरिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा पुनः कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको हो ।
उनीहरुको नमुना परीक्षण भइरहेको र सोमबारसम्म रिपोर्ट आइसक्‍ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । क्वारेन्टाइनमा राख्‍नुअघि पनि उनीहरूको कोरोना परीक्षण गरिएको थियो ।
कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि हुने बित्तिकै खरिपाटी क्वारेन्टाइनमा रहेका नागरिकलाई पनि बिदाइ गर्ने पाण्डेले बताइन् । क्वारेन्टाइनमा रहेका मध्ये कसैमा कोरोना भाइरसको संक्रमण देखिएमा आइसोलेसनको व्यवस्था गरिएको छ ।

प्रकाशित : २०७६ फागुन १८ गते २०:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI