कोरोना आशंका : कोरियाबाट फर्केका तीन नेपाली र एक चिनियाँ नागरिक आइसोलेसन वार्डमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १८ गते २१:१५
कोरोना आशंका : कोरियाबाट फर्केका तीन नेपाली र एक चिनियाँ नागरिक आइसोलेसन वार्डमा

काठमाडौं- दक्षिण कोरियाबाट फर्केका तीन जना नेपाली नागरिक र एक जना चिनियाँ नागरिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। कोरोनाको आंशकामा उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ।अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाका अनुसार तीन जना नेपाली दक्षिण कोरियाबाट फर्केका र एक जना चीनबाट आएका नागरिकको उपचार भइरहेको हो। उनीहरुको नुमना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र सोमबारसम्म रिपोर्ट आउने उनले जानकारी दिए।

उनका अनुसार दक्षिण कोरियाबाट फर्केका नेपाली कोरोना भाइरसको संक्रमण देखिएको क्षेत्रबाट आएका होइनन्। ‘रुघाखोकी देखिएकाले आइसोलेसनमा राखिएको हो,’ उनले भने, ‘कोरिया र चीन कोरोना प्रभावित देश भएकाले रुघाखोकी र ज्वरो आएका कारण विशेष निगरानी गरिएको हो।’ 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ। अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। 

कोरोना भाइरसले संक्रमण गर्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने लक्षण देखिन्छ।  यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा जानु हुँदैन। भिडभाडमा जानै परेमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने चिकित्सकहरुको बताउँछन्। यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन आवश्यक छ। साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खाने कुरामा ध्यान दिन आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले सुझाब दिएको छ।

प्रकाशित : २०७६ फागुन १८ गते २१:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI