प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण : शिक्षण अस्पतालको पछिल्लो अपडेट

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २१ गते ११:१४
प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण : शिक्षण अस्पतालको पछिल्लो अपडेट
Tribhuvan University Teaching Hospital in Maharajganj, Kathmandu. Photo: Keshav P. Koirala

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ। त्रिवि शिक्षण अस्पताल महाराजगंजमा केहिबेरमा शल्यक्रिया  हुँदैछ।  बिहान ९ बजे सुरु हुने भनिए पनि सवा १० बजे  प्रधानमन्त्रीलाई शल्यक्रिया कक्षमा लगेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए। त्यसअघि उनले चिकित्सकहरु परामर्श रहेको बताएका थिए। शल्यक्रिया सम्पन्न गर्न ४ देखि ५ घण्टासम्म लाग्ने  डा. उत्तम शर्माले जानकारी दिएका छन्। 

त्रिवि शिक्षण अस्पतालको एनेक्स मेडिकल वार्डमा प्रधानमन्त्री ओलीलाई राखिएको छ। अस्पताल र आसपासमा बुधबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।  अस्पतालका छतमा समेत सुरक्षाकर्मी तैनाथ छन्। 

अस्पताल बाहिर नेकपाका नेता कार्यकताहरुको बाक्लो उपस्थिति देखिन्छ । त्यहाँ उपस्थित सर्वसाधारणमा निकै कौतुहलता देखिन्छ। 

ओली रहेको मेडिकल वार्डसँगै आफ्ना बाबुलाई उपचारका लागि राखेका काभ्रेका रत्नसिंह तामाङले अहिले त्यहाँ आवतजावत निकै बाक्लो भएको जानकारी दिएका छन् । टेलिभिजनमा देखिने गरेका नेताहरु त्यहाँ आएको देखेको तर आफूलाई नाम भने थाहा नभएको तामाङले बताए।

शल्यक्रियाका लागि डा.प्रेम ज्ञवालीको टोली र डा. उत्तम शर्माको टोली तयारी अवस्थामा छ। एक टोलीले दाताकोे शल्यक्रिया गर्ने र अर्काे टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गर्नेछ। 

प्रकाशित : २०७६ फागुन २१ गते ११:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI