नेपाल भ्रमण गरेर फर्किएका एक व्यक्तिको स्पेनको एक अस्पतालमा फेब्रुअरी १३ तारिखमा मृत्यु भएको छ। भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन्।
डेली मेलको खबर अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएको र त्यसपछि अस्पताल भर्ना गरिएको थियो। उनको मृत्यु के कारणले भएको भन्ने खुलाइएको थिएन। त्यतिबेला उनको अवस्थालाई ‘एक प्रकारको निमोनिया’ बाट ग्रसित भनेर उल्लेख गरिएको थियो। यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृत्यु जनाइएको छ।
उनको मृत्युबारे पुष्टि गर्दै स्थानीय स्वास्थ्य अधिकारीले भने, ‘आर्नउ डे भिलानोभा अस्पतालमा उपचाररत एक पुरुषको फेब्रुअरी १३ मा मृत्यु भएको छ। भ्यालेन्सिया समुदायमा दुई नयाँ संक्रमित भेटिएका छन् । यससँगै यहाँ संक्रमितको संख्या १९ पुगेको छ।’
स्पेनमा अहिले १ सय ६५ जना संक्रमित छन् जसमध्ये ४६ जना मड्रिडका हुन्। सातजना बिरामी इन्टेन्सिभ केयर युनिटमा भर्ना छन्।
समाचारमा नेपालमै उनलाई संक्रमण भएको हो या अन्य ठाउँबाट भएको भन्ने चाहिँ खुलाइएको छैन।
प्रकाशित : २०७६ फागुन २१ गते ११:१७
No ads found for this position
Facebook Comment