विद्यालय बन्द गर्नुपर्ने अवस्था छैन: शिक्षामन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २३ गते ९:५७
विद्यालय बन्द गर्नुपर्ने अवस्था छैन: शिक्षामन्त्री

काठमाडौं । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विद्यालय, शिक्षक, अभिभावक, विश्वविद्यालयका उपकुलपति, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, अध्यक्ष, मन्त्रालयका कर्मचारीहरूलालयमै डाकेर सतर्कताका उपायबारे छलफल गरेको छ ।

निजी विद्यालय सञ्चालकसमेत सहभागी सो छलफलमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको असर नेपालमा कति छ भन्ने नबोलेसम्म र मन्त्रिपरिषद्ले गठन गरेको कोरोना भाइरस संक्रमण व्यवस्थापन समितिले संक्रमणको प्रतिवेदन नदिएसम्म कुनै पनि शैक्षिक संस्था बन्द नगरिने बताउँदै बरु भाइरसबाट बच्न उच्च सतर्कताको उपाय अपनाउन निर्देशन दिए। उनले निजी विद्यालय सञ्चालकहरूलाई विद्यालयमा बालबालिका बसबाट ओसारपसार गर्ला व्यवस्थित तरिकाले गर्न निर्देशन दिएको मन्त्रीको स्वकीय सचिव पुरन केसीले बताए।

‘तपाई स्कुल सञ्चालकहरू बालबालिका र अभिभावकलाई कोरोनाबाट बच्ने उपायबारे कक्षामै बुझाउनुस्,’ मन्त्री पोखरेलको भनाइ उद्धृत गर्दै केसीले भने ‘बालबालिकालाई कोचेर बसमा ओसारपसार नगर्नुस्। कक्षाकोठामा कुनै बालबालिकालाई ज्वरो वा रुघाखोकी लागिहालेमा पनि त्यस्ता बच्चालाई मनोबल नगिर्नेगरी घरमा आराम गर्न पठाइदिनुस् भन्नुभयो।’ हाल नेपालमा विद्यालय बन्दै गर्नुपर्ने अवस्था नरहेको जनाउँदै शिक्षामन्त्रीले सो बैठकमा विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गरेको केसीले बताए।

केसीका अनुसार चैत ५ गतेभित्र सबै वार्षिक परीक्षा सकेर यो शैक्षिक सत्र सम्पन्न गराउने मन्त्रालयको योजना छ। उनले एसइइ परीक्षाा केन्द्रहरूमा समेत हेल्थ–डेस्कको व्यवस्था गरिने सरकारी तयारी रहेको बताए। परीक्षा केन्द्रमा कुनै विद्यार्थी बिरामी भएमा त्यस्ता विद्यार्थीलाई आइसोलेसनमा राखेर छुटै परीक्षाको व्यवस्था गरिने राष्ट्रिय परीक्षा बोर्डको तयारी रहेको पनि जनाए।

यस वर्ष चैत ६ गतेदेखि सुरु हुने एसइई परीक्षामा पाँच लाखभन्दा बढी परीक्षार्थीले सहभागिता जनाउँदै छन्। यस वर्ष परीक्षा व्यवस्थापन साथै परीक्षार्थीको स्वास्थ्यप्रति सरकारले सचेतना अपनाएको मन्त्रालयको दाबी छ।

 रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

प्रकाशित : २०७६ फागुन २३ गते ९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI