भारतका रक्षामन्त्री राजनाथ सिंहले छिटै नेपाल भ्रमण गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २४ गते ३:१३
भारतका रक्षामन्त्री राजनाथ सिंहले छिटै नेपाल भ्रमण गर्ने

काठमाडाैं– भारतका रक्षामन्त्री राजनाथ सिंहले छिटै नेपाल भ्रमण गर्ने भएका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले यसबारे जानकारी दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलले आफूले गत हप्ता भारतका रक्षामन्त्री सिंहलाई नेपाल भ्रमणको निम्ता पठाएको स्मरण गर्दै भारतका रक्षामन्त्रीबाट नेपालको भ्रमण हुने विश्वास व्यक्त गरे । राजदूत क्वात्राले भारतका रक्षामन्त्रीबाट यथाशीघ्र नेपाल भ्रमण हुने व्यवस्था मिलाउन आफूले आवश्यक पहल गर्ने जनाएको रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले जानकारी दिए ।

शिष्टाचार भेटको प्रारम्भमा उपप्रधानमन्त्री पोखरेलले नेपाल र भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्दै दुई देशबीच सांस्कृतिक, भौगोलिक, ऐतिहासिक र जनस्तरमा समेत अन्योन्याश्रित सम्बन्ध रहेको बताए । उनले दुई मुलुकबीच रहेको बहुआयमिक सम्बन्धलाई समयको परिवर्तनसँगै थप परिमार्जन गरी सुदृढ बनाउँदै जानुपर्ने खाँचो रहेकामा जोड दिए । नेपाल र भारतका सेनाबीच अत्यन्त असल र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासमा भारत सरकारले पुर्याउँदै आएको सहयोगका लागि आभार व्यक्त गरे ।

राजदूत क्वात्राले नेपाल भारतबीचको सम्बन्ध सरकार–सरकारबीचमा मात्र नभएर जनस्तरसम्म समेत अत्यन्त सुदृढ रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा दुई देशबीचको सुमधुर, मैत्रीपूर्ण र पारस्परिक सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउन सक्दो पहल गर्ने बताए ।

प्रकाशित : २०७६ फागुन २४ गते ३:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI