नवलपुरमा दादुरा-रुबेला खोप अभियान चैत ३ देखि

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २४ गते ३:४३
नवलपुरमा दादुरा-रुबेला खोप अभियान चैत ३ देखि

नवलपुर, फाल्गुन २३ । दादुरा–रुबेला खोप अभियान नवलपुरमा चैत्र ३ गतेदेखि शुरु हुने भएको छ । 


जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले कावासोतीमा पत्रकार सम्मेलन गरी नवलपुरमा दुई चरणमा दादुरा–रुबेला खोप अभियान सम्पन्न गर्ने जनाएको छ । 


पहिलो चरणमा चैत्र ३ गतेदेखि ११ गतेसम्म पूर्वी नवलपरासी जिल्लाको सदरमुकाम कावासोतीसहित, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका तथा, विनयी–त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिए ।  


त्यसैगरि, दोस्रो चरणमा चैत्र १६ गते देखि २४ गतेसम्म गैंडाकोट नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिनेछ । 


नौ महिनादेखि ५ वर्ष मुनीका बालवालिकालाई लगाउन सकिने यो खोप अभियानका लागि पूर्वी नवलपरासी जिल्लामा ३ सय ७९ खोप केन्द्र तोकिएको छ । अभियानका लागि ९७ जना खोप कार्यकर्ता र ७ सय ५८ स्वयंसेवक कार्यकर्ता परिचालन गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ । 


नौ देखि २३ महिनासम्मका बालबालिकालाई दायाँ तिघ्राको बीच बाहिरी भागमा र २४ महिना माथि ५ वर्षसम्मका बालबालिकालाई बाँयाँ पाखुराको माथिल्लो भागमा खोप लगाइने छ । 


खोप अभियान सञ्चालनका लागि जिल्लामा सुक्ष्म योजना तर्जुमा गोष्ठी तथा खोप कार्यकर्तालाई तालिम लगायतका कार्यक्रम सम्पन्न गरिसकिएको पनि जनस्वास्थ्य प्रमुख चापागाईँले जानकारी दिए ।  


नवलपुरको तथ्याङ्क अनुशार जिल्लामा पूर्ण खोप करिव ७३ प्रतिशत बालवालिकाले प्राप्त गरेको तथ्याङ्क छ ।


सन् २०१६ को तथ्याङ्क अनुसार नेपालमा ७८ प्रतिशत बालवालिकाले पूर्ण खोप पाएका छन् भने २१ प्रतिशत बालवालिका आंशिक खोप र १ प्रतिशत बालवालिका शुन्य डोजको अवस्थामा रहेका छन् । 

प्रकाशित : २०७६ फागुन २४ गते ३:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI