No ads found for this position

त्रिवेणीलाई मुख्य भन्सारको मान्यता

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २४ गते ११:०६
No ads found for this position
त्रिवेणीलाई मुख्य भन्सारको मान्यता
No ads found for this position

एक महिनाभित्र कार्यालय स्थापना गरेर भन्सारको काम सुरू गर्ने तयारी

नारायण शर्मा/पूर्वी नवलपरासी

गण्डकी प्रदेशको भारतसँग जोडिने एक मात्र नाका त्रिवेणी छोटी भन्सारलाई संघीय सरकारले मुख्य भन्सारको मान्यता दिएको छ । गत साता मन्त्रिपरिषद्ले मुख्य भन्सारमा स्तरोन्नति गर्ने निर्णय गरेको हो । ४३ बिघामा भन्सार कार्यालय र गोदाम बनाउन थालिएको नवलपुर क्षेत्र नम्बर २ बाट संघीय सांसद तिलक महतले बताए । भन्सारका लागि आवश्यक कर्मचारीको दरबन्दी कायम गर्न सामान्य प्रशासन मन्त्रालयले सहमति दिएको उनले जानकारी दिए । एक महिनाभित्र कार्यालय स्थापना गरेर भन्सारको काम सुरु हुनेछ । अघिल्लो मंगलबार भन्सार विभागका महानिर्देशकसहितको टोलीले त्रिवेणी भन्सारको स्थलगत निरीक्षणसमेत गरेको छ ।

त्रिवेणीको गण्डक ब्यारेजदेखि उत्तरतर्फको नेपाली भूभागमा भन्सार कार्यालय स्थापना गरिनेछ । ०१५ सालमा नेपाल–भारतबीचको गण्डक सम्झौताअनुसार त्यहाँ जवाहरलाल नेहरू–महेन्द्र पार्कका नाममा ३५ बिघा जग्गा छ । त्रिवेणी गण्डक पुल नजिकै रहेको त्यही जग्गामा भन्सारको गोदाम बनाइने भएको छ । त्रिवेणी ब्यारेकदेखि दुई किलोमिटर पूर्वोत्तरमा सात कट्ठा जग्गामा भन्सारकै नाममा पुरानो भवनसमेत छ । नजिकै रहेको अर्को आठ बिघा क्षेत्रफलको सरकारी स्वामित्वको जग्गासमेत थपेर मूल भन्सार बढाइने भएको हो ।
त्रिवेणीसम्म पुग्न ५ नम्बर प्रदेशको बर्दघाट हुँदै जानुपर्छ । महेन्द्र राजमार्गको दुम्कीबास र अरुणखोलाबाट राष्ट्रिय वन क्षेत्र हुँदै राजमार्ग लैजान वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढेको छ । अब केही महिनाभित्र त्यसको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र बजेट विनियोजन अघि बढाउन प्रधानमन्त्री सहमत भएको सांसद महतको भनाइ छ । ‘०७७ भित्र त्रिवेणी–दुम्कीबास सडकखण्ड निर्माण अघि बढ्छ,’ उनले भने ।
त्रिवेणीधाम–दुम्कीबास १८ किमि सडक निर्माण सुरु हुँदासम्म भन्सारको भवनसमेत बनाउने संघीय सरकारको तयारी छ । त्रिवेणीलाई मूल भन्सारमा स्तरोन्नति गरी पूर्वाधार थप्ने कार्यक्रम संघीय सरकारको रहेको गण्डकीका प्रमुख सचिव हरिप्रसाद बस्यालले बताए ।

प्रकाशित : २०७६ फागुन २४ गते ११:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI