राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २५ गते ९:०२
राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौँ, २५ फागुन

राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यसै अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गरेको र उक्त उद्देश्यलाई साकार तुल्याउन सम्बद्ध सबै पक्ष अग्रसर हुनुपर्ने महसुस गरेको बताउनुभएको छ ।“नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ । सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पु¥याउनेजस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ”, सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसले लैङ्गिक समानताका विषयलाई आत्मसात गर्न तथा लैङ्गिक समानताका लागि क्रियाशील नयाँ र पुराना पुस्ताका अधिकारकर्मीलगायत सम्बद्ध सबैलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नुभएको छ ।(रासस)

प्रकाशित : २०७६ फागुन २५ गते ९:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI