देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै बढ्यो : शेखर कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २८ गते १४:५३
देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै बढ्यो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।  बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गरे । उनले संसदमा समेत कांग्रेसको उपस्थिति कमजोर भएको उल्लेख गरे । ‘नेकपाका साथीहरू नै प्रमुख प्रतिपक्ष अलि कडा रुपमा उत्रिनु परो भन्नुहुन्छ,’ उनले भने, ‘नेकपा नेताहरू नै सरकारको कामबाट सन्तुष्ट छैनन् । सरकारका गलत कामको प्रतिपक्षले आवाज उठाइदिए हुन्थ्यो भन्ने उनीहरूको चाहना छ । जुनरुपमा कांग्रेसले आवाज उठाउनुपर्ने हो त्यसअनुसार उठाउन सकेको छैन ।’ कांग्रेसप्रति जनताको ठूलो आशा र भरोसा रहेको कोइरालाले भनाइ थियो । आफ्नै सरकार भएकाले नेकपाका नेताले विरोध गर्ने आँट गर्न नसकेको उनको कथन थियो । नेकपाका नेताहरू नै सरकारको कामबाट वाक्क भइसकेको कोइरालाको टिप्पणी थियो । कांग्रेसले संसदमा आफूलाई खरो रुपमा प्रस्तुत गर्न नसकेको कोइरालाले बताए । राष्ट्रिय राजनीति, सरकारका गलत क्रियाकलाप, जनताका समस्यालाई कांग्रेसले संसदमा सशक्त रुपमा उठाउनुपर्नेमा उनले जोड दिए । कांग्रेस नेतृत्व काठमाडौंमा मात्रै सीमित भएको उनको दाबी थियो ।

नेतृत्वले आफू निकटका व्यक्तिलाई पद बाँडेर आफू बलियो भएको महसुस गरिरहेको कोइरालाले बताए । नेता कोइरालाले शेरबहादुर देउवा समग्र पार्टीको सभापति हुन नसकेको उल्लेख गरे । ‘नेतृत्वले गुटको राजनीति गर्ने होइन, सभापति भनेको सबैको हो,’ कोइरालाले भने, ‘पार्टीभित्र विचारको बहस हुन्छ । समस्या आउँछ । तर, अहिले सभापतिजी पद बाँडेर आफू बलियो हुन खोज्दै हुनुहुन्छ । गिरिजाबाबु सभापति हुँदा पनि समस्या थियो । तर, उहाँ पद बाँड्नु हुन्नथ्यो । उहाँ आफू अप्ठ्यारोमा पर्दा गाउँ जानुहुन्थ्यो । नेता कार्यकर्तालाई भेट्नु हुन्थ्यो र नेता कार्यकर्ताको विचार बोकेर फेरि काठमाडौं फर्किनु हुन्थ्यो र आफ्ना धारणा सार्वजनिक गर्नुहुन्थ्यो ।’ भागबण्डाको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको कोइरालाको ठम्याइ थियो । कोइरालाले शेरबहादुर देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै झ्यांगिएको दाबी गरे । ‘१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँदै गर्दा देउवाजीले पार्टीलाई एकढिक्का बनाउँछु, भागबण्डाको राजनीति अन्त्य गर्छु भन्नुभएको थियो । खोई त आफ्नो कार्यकाल सकिँदै गर्दा पनि उहाँले भागबण्डा गरिरहनु भएको छ, गुटगत राजनीतिलाई बढावा दिइरहनु भएको छ’ उनले थपे, ‘भागबण्डाको राजनीतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत साथ दिइरहनु भएको छ ।

आफ्नो मान्छे पर्दा चुप बस्ने अनि नपर्दा विरोध गर्ने चरित्र वरिष्ठ नेताहरूमा समेत देखिएको छ । जसको ज्वलन्त उदाहरण नेविसंघलाई लिन सकिन्छ । आफ्नो मान्छे परेपछि उमेर हद नतोक्न पनि उहाँ तयार हुनुभयो ।’ कोइरालाले सरकारकै कारण लोकतन्त्र खतरामा पर्दै गएको दाबी गरे । सरकारले गलत काम गर्ने व्यक्तिलाई कारबाही नगर्दा सरकारप्रति जनताको वितृष्णा बढ्दै गएको कोइरालाले प्रस्ट्याए ।

वाइडबडी, निर्मला हत्याकाण्ड, ३३ किलो सुन, ७० करोड कमिसनलगायतका काण्डका कारण सरकारप्रति जनताको विश्वास गुमेको उनको भनाइ थियो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीजीले सेक्युरिटी प्रेस खरिदको ७० करोड टेपकाण्ड सार्वजनिक हुँदा पनि गोकुल बास्कोटाको डिफेन्स गरिरहनुभएको छ,’ कोइरालाले भने, ‘मैले त अस्ति प्रधानमन्त्रीलाई भेट्दा तपाईंमाथि नै आशंका उब्जिएको छ भनिदिएँ । त्यसपछि प्रधानमन्त्रीजीले गोकुल बाँस्कोटाले गल्ती गरेको रहेछन् भने पार्टीबाटै निकाल्छु भन्नुभएको छ । अब हेरौं कतिको कारबाही गर्नुहुन्छ ।’ उनले सरकार र पार्टीहरूले गरेका गलत कामका विषयमा आवाज उठाउन प्राध्यापक र बुद्धिजीविसँग आग्रह गरे ।

प्रकाशित : २०७६ फागुन २८ गते १४:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI