एसईईको प्रश्नपत्रमा दोहोरो सिलबन्दी

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३० गते १०:४१
एसईईको प्रश्नपत्रमा दोहोरो सिलबन्दी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ६ देखि हुने एसईईको प्रश्नपत्रलाई दोहोरो सिलबन्दी गरेको छ । गत वर्ष सिरहामा प्रहरी कार्यालयबाटै प्रश्नपत्र बाहिरिएर प्रदेश २ मा परीक्षा स्थगित गर्नुपरेकाले यस वर्ष थप सजगता अपनाइएको बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार पहिला सबै विषयको प्रश्नपत्र छुट्टाछुट्टै खाममा राखेर हरेक परीक्षा केन्द्रका लागि कपडाको एउटा थैलामा सिलबन्दी गरेर पठाइन्थ्यो । यसपटक खामबन्दीपछि पनि प्रत्येक विषयको प्रश्नपत्र छुट्टाछुट्टै कपडाका थैलामा सिलबन्दी गरेर पठाइएको छ । गत वर्ष कपडाको मूल पोकाको सिलबन्दी तोडेपछि खामभित्र रहेका अन्य विज्ञान र सामाजिक विषयका प्रश्नपत्र बाहिरिएको भेटिएको थियो । प्रदेशपिच्छे फरक/फरक प्रश्नपत्र हुन्छन् । प्रश्नपत्र ७७ जिल्लाको परीक्षा समितिको जिम्मामा जिल्ला प्रहरी कार्यालयहरूमा सुरक्षित राखिएको परीक्षा नियन्त्रक खकुरेलले बताए । यस वर्ष एसईईमा मुलुकभरबाट ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुनेछन् जुन गत वर्षभन्दा ६ हजार ९ सय ४४ जनाले बढी हो । खकुरेलका अनुसार यसपालि परीक्षा केन्द्र १ हजार ९ सय ९४ वटा तोकिएका छन्, जुन पोहोरभन्दा २५ वटाले बढी हो ।

यस वर्ष विद्यार्थीले अनलाइनबाटै परीक्षा आवेदन फाराम भरेका थिए । यसअघि विद्यालयले पठाउने आवेदन फारामका आधारमा साबिकको जिल्ला शिक्षा कार्यालयले सिम्बोल नम्बर तोक्थे । कान्तिपुरमा खबर छ ।

प्रकाशित : २०७६ फागुन ३० गते १०:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI