अस्पतालको सूचना बङ्ग्याएर कोरोना भाइरसको संक्रमणका भ्रम र त्रास फैलाउनेको पहिचान

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३० गते १०:५४
अस्पतालको सूचना बङ्ग्याएर कोरोना भाइरसको संक्रमणका  भ्रम र त्रास फैलाउनेको पहिचान

चितवन,फागुन ३०-

भरतपुर अस्पतालको सूचना बङ्ग्याएर कोरोना भाइरसको संक्रमणका बारेमा सामाजिक सञ्जालमा भ्रम र त्रास फैलाउनेको पहिचान भएको चितवन प्रशासनले जनाएको छ । बिहीबार दिउँसो भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो । भरतपुर अस्पतालले बिहीबार दिउँसो कोरोना रोकथाम तथा नियन्त्रणका लागि चालेको आवश्यक कदमका बारेमा प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो । सो विज्ञप्ती बङ्ग्याएर अफवाह फैलाउनेको पहिचान भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नारायणी अनलाइनलाई जानकारी दिए ।

चिनिया राजदुतको प्रोफाइल तस्विर राखेर शलिना गुरुङको नामबाट फेक आइडी बनाएर अफवाह फैलाइएको उनले बताए । ‘सूचना तोडमोड गर्नेले आफ्नो पोष्ट हटाइसकेको छ,उनले भने’,पक्राउ गरेर साइबर क्राइम व्यूरोमा पठाउँछौं ।’ उनले दुई दिनको अवधिमा दुई जनालाई पक्राउ गरेर कारवाहीका लागि पठाएको जानकारी दिए ।

पछिल्लो समय कोरोनाका विषयमा कहिले विभिन्न उपचारका विधि त कहिले संक्रमणबारे काल्पनिक कुरा फैलाएर त्रास फैलाउने काम भइरहेको छ । भरतपुर अस्पतालको विज्ञप्तीमा कोरोनाका बारेमा सही सूचना दिनका लागि पोस्टर, पम्पलेट तथा फ्लेक्स प्रिन्ट तयार पारिएको साथै ५ शैयाको आइसोलेसन वार्डलाई बढाएर १९ शैया बनाइएको उल्लेख थियो ।

त्यस्तै विज्ञप्तिमा अस्पतालमा अहिलेसम्म २ जनाको नमुना परीक्षण गरिएको र नेगेटिभ देखिएको जानकारी पनि थियो । विज्ञप्तिमा लेखिएको थियो, ‘यस अस्पतालबाट हालसम्म २ जनाको नमुना परीक्षण गरिएकोमा नेगेटिभ देखिएको र आज फागुन २९ गते थप एकजनाको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको छ ।’

तर यही सूचनालाई फोटोसपमार्फत ‘नेगेटिभ’ लाई ‘पोजिटिभ’ बनाएर सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काम भएको छ । भरतपुर अस्पतालले विहिवार आधिकारिक सूचनालाई तोडमोड गरी अफवाह फैलाउनेविरुद्ध कारबाही गर्न सम्बन्धित निकायमा अनुरोध गरेको थियो ।

नारायणि अनलाईन बाट

प्रकाशित : २०७६ फागुन ३० गते १०:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI