सुनसान बन्दै लुम्बिनी

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३० गते ११:०५
सुनसान बन्दै लुम्बिनी

३० फागुन । विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना सङ्क्रमणको त्रासले बुद्ध जन्मस्थल लुम्बिनी सुनसान बनेको छ । पर्यटक आगमनमा ह्वात्तै घटेकाले लुम्बिनी क्षेत्र सुनसान जस्तै बनेको हो । केही समय अघिसम्म राम्रै चहलपहल रहेको लुम्बिनीमा हिजोआज विदेशी पर्यटक देख्न मुस्किल परेको लुम्बिनीस्थित इगनाइट लाउन्ज एन्ड रेस्टुरेन्टका सञ्चालक बाबुराम पराजुलीले बताएका छन् । केही भारतीय र श्रीलङ्कनहरू फाट्टफुट्ट आएका छन्, उनीहरू पनि एकछिन घुमेर फर्किहाल्छन्, उनले भने, ‘दुई–तीन हप्तादेखि अरू विदेशी त देखि नै छाडे । ’ विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोरोनाको सङ्क्रमणका कारण मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी सुनसान भएको हो । नेपाल आउन खोजेका धेरै पर्यटकले होटलको बुकिङ पनि रद्द गराएका छन् । लुम्बिनीका होटलका ७० प्रतिशत कोठाको बुकिङ रद्द भएको लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले बताएका छन् ।“पाहुनाहरू आउनै छोडे, बुकिङ भएका कोठा पनि धमाधम रद्द भएका छन्”– उनले भने, “अन्य मुलुकमा फैलिएको कोरोनाको कारण ७० प्रतिशत बुकिङ रद्द भइसकेको छ । ” चैतसम्म लुम्बिनी घुम्न उपयुक्त मौसम मानिन्थ्यो तर सिजनकै समयमा पर्यटक आगमन घटेको श्रेष्ठको भनाइ छ । केही वर्षयता लुम्बिनी आउने चिनियाँ पर्यटक बढेका थिए । लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले चीनबाट सङ्क्रमण सुरु भएपछि पहिले चिनियाँ पर्यटक घटेको र अरू मुलुकका पर्यटक समेत आउन छोडेको बताएका छन् । चिनियाँ पर्यटक लगभग शून्यमा पुग्न लागे भन्दा पनि हुन्छ, अन्य पर्यटकको सङ्ख्या पनि अत्यन्तै न्युन भएको छ, उनले भने । (गोरखापत्र दैनिकबाट)

प्रकाशित : २०७६ फागुन ३० गते ११:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI