No ads found for this position

कोरोना भित्रिन नदिन सुरक्षामा कडाइ

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३० गते ११:०७
No ads found for this position
कोरोना भित्रिन नदिन सुरक्षामा कडाइ
No ads found for this position

काठमाडौँ, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ । नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले अति सङ्क्रमित थप केही मुलुकबाट नेपाल प्रवेशको भिसा रोक्ने निर्णय गरेको छ । यसअघि सरकारले कोरोना भाइरस सङ्क्रमित पाँच मुलुकका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको थियो । बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भिसा निरुत्साहित गर्ने मुलुकको सङ्ख्या बढ्ने बताए । उनले भने, “वर्कआउट हुँदैछ । युरोपियन देश, मध्यपूर्वका देशमा पनि सङ्क्रमण बढी देखियो । सङ्क्रमणको यो बढ्दो स्थितिलाई हेरेर भिसा रोकिने छ । ” उनले भने, “पाँचवटा अति सङ्क्रमित मुलुकबाट आउनेहरूको भिसा निरुत्साहित गर्ने भनिएकोमा सङ्क्रमित मुलुकहरूको सङ्ख्या बढ्दै गएकाले भिसा निरुत्साहित गर्ने मुलुकहरूको सङ्ख्या बढ्ने छ । ”उनले तत्कालकै अवस्थामा एयरलाइन्सको उडान बन्द नगरिने बताएका छन् । उनले भने, “भिसा प्रवन्ध नै रोकेपछि मानिसको आवागमन स्वतः कम हुने भएकाले एयरलाइन्सको उडान उसै कटौती हुन्छ । ” बैठकले तत्कालै विद्यालय र परीक्षा बन्द नगर्ने निर्णय गरेको छ । मुलुकमा सङ्क्रमण देखिएमा तत्कालै निर्णय गर्न सकिने भन्दै हाललाई विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रूपमा घोषणा गरेपछि उत्पन्न भएको जोखिमको समीक्षा समेत बैठकमा गरिएको जनाइएको छ । (गोरखापत्र दैनिकबाट)

प्रकाशित : २०७६ फागुन ३० गते ११:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI