चौधरीले कांग्रेसको अनुशासन समितिबाट राजीनामा दिए

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन ३० गते १३:१९
चौधरीले कांग्रेसको अनुशासन समितिबाट राजीनामा दिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिएका छन् ।
केन्द्रीय सदस्य चौधरीले अनुशासन समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् । चौधरी नेता कृष्णप्रसाद सिटौलाको सिफारिसमा अनुशासन समितिमा सदस्य मनोनीत भएका थिए । पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, डडेलधुरा सभापति कर्णबहादुर मल्ल, कैलालीका नेता पुष्करनाथ ओझामाथिको कारबाहीको सिफारिसमा असन्तुष्टि जनाउँदै चौधरीले समितिबाट राजीनामा दिएको जनाइएको छ । चौधरीले मल्ल, जोशी र ओझालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावमा असहमति जनाएका छन् । जोशीविरुद्ध पौडेललाई हराउन भूमिका खेलेको, ओझाविरुद्ध आरजु राणा देउवालाई हराउन भूमिका खेलेको र मल्ललाई पार्टीको निर्देशन नमानेको भन्दै सम्बन्धित जिल्ला समितिबाट कारबाहीका लागि सिफारिस गरिएको थियो ।
अनुशासन समितिमा पौडेलको तर्फबाट धनराज गुरुङ, देउवाको तर्फबाट संयोजक भीष्मराज आङदेम्बे र सदस्यमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहेका छन् ।

प्रकाशित : २०७६ फागुन ३० गते १३:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI