पश्चिम नवलपरासीमा देउवा क्याम्पमा पहिरो , दुई दर्जन जिल्ला नेताले क्याम्प छोडेको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २ गते १७:४२
पश्चिम नवलपरासीमा देउवा क्याम्पमा पहिरो , दुई दर्जन जिल्ला नेताले क्याम्प छोडेको घोषणा

नारायण शर्मा/नवलपरासी

नेपाली कांग्रेस पश्‍चिम नवलपरासीका जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि पार्टी सभापति शेरबहादुर देउवा निकट जिल्लाका २ दर्जन नेताले देउवा क्याम्प छोडेको घोषणा गरेका छन् । पश्चिम नवलपरासीमा १७ सदस्य रहेको निर्वाचित जिल्ला कार्य समितिमा १५ जनाले देउवा क्याम्प छोडेका हुन्। यसअघि ती सबै देउवा पक्षधर थिए।


देउवानिकट मानिने पूर्व सांसद विक्रम खनाल, पार्टी सभापतिबाट हटाइएका अर्जुन पोख्रेल, सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ता, पार्टी प्रवक्ता कुलदीप आचार्य, जिल्ला पार्टी सचिव विक्रम यादवलगायतले देउवा क्याम्प छोडेको घोषणा गरेका हुन्।


१७ सदस्य कार्यसमिति रहेको पश्चिम नवलपरासीमा जिल्ला समन्वय समितिका अध्यक्ष शिव शंकर राय, देवेन्द्र कँडेलका पूर्व स्वकीय सचिव देव राजभण्डारीबाहेक सबैले देउवा क्याम्पमा नरहने घोषणा गरेका हुन्। कँडेलकै डिजाइनमा देउवाले अर्जुन पोख्रेललाई पार्टी सभापतिबाट हटाएको उनीहरुको बुझाइ छ।


‘केन्द्रीय महाधिवेशनको मिति तोकिएको अवस्थामा जिल्लाका कार्यावहाक सभापतिलाई बिना कारण गलत्याएर फालेपछि देउवासँग बसिरहने कुरै भएन,’ पूर्व सांसद खनालले भने, ‘हामीले देउवालाई भेटेरै तपाईंसँग बस्न सकिएन मनलाग्दी गर्नुस् भनेर उहाँलाई छोड्यौ।’


देउवाको पछिल्लो कदमबाट असन्तुष्ट समूहले छलफल गरेरै देउवा क्याम्प छाड्‍ने निर्णय गरेको पार्टीका जिल्ला प्रवक्ता आचार्यले टेलिफोनमा जानकारी दिए। ७७ जिल्लामध्ये पश्चिम नवलपरासी देउवाको बलियो पकड भएको जिल्ला मानिन्छ।

कार्यवाहक सभापति रहेका पोख्रेललाई हटाएर पौडेललाई सभापति तोकिएपछि महामन्त्री कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुन नरसिंह केसीलगायतले देउवाको कदमको खुलेर विरोध गरेका छन्।
महामन्त्री कोइरालाले असहमति जनाउँदै निर्णय तत्काल सच्याउन पार्टी सभापति देउवालाई शुक्रबार लिखित पत्र थमाएका छन्।


नवलपरासी विभाजन भएपछि तत्कालीन पार्टी सभापति विष्णु लामिछानेले पूर्वी नवलपरासीको सभापति रोजेपछि पश्चिम नवलपरासीका तत्कालीन उपसभापति अर्जुन पोख्रेललाई कार्यबहाक सभापतिको जिम्मेवारी दिइएको थियो।


विजय गच्छदारको फोरम लोकतान्त्रिकबाट आएकाहरुलाई केन्द्रीय नेता कँडेलले जिम्मेवारी दिएपछि पोख्रेलसँग उनीहरुको मतभेद सुरु भएको थियो।


अघिल्लो साता रामचन्द्र पौडेलले बोलाएको असन्तुष्ट जिल्ला सभापतिको भेलामा समेत नगएका पार्टी सभापति पोख्रेललाई आफ्‍नो पक्षमा काम नगरेको भन्दै कँडेलको डिजाइनमा सभापतिबाट बर्खास्त गरिएको स्थानीय नेताहरुले दाबी गर्दै आएका छन्।

प्रकाशित : २०७६ चैत २ गते १७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI