No ads found for this position

विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३ गते १०:३०
No ads found for this position
विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या १८ पुग्यो
मदिरा सेवन गर्नेहरू प्रादेशिक अस्पताल जनकपुरको इमेरजेन्सी कक्षमा उपचार गराउँदै।
No ads found for this position

जनकपुधाम – विषाक्त घरेलु मदिरा सेवनबाट धनुषामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ र २ रमदैया टोलमा १३ र जनकपुरधाम उपमहानगरपालिका–७ मुसहरी टोलमा चार र लक्ष्मीनिया गाउँपालिका–६ मा एक गरी १८ जनाको मृत्यु भएको हो। प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराइरहेका लक्ष्मीनिया गाउँपालिका–६ का ५५ वर्षीय रतन दासको मृत्यु भएसँगै विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १८ पुगेको हो। घरेलु मदिराका नियमित सेवनकर्ता दास रक्सी लागेकै अवस्थामा उपचारार्थ अस्पताल पुगेका थिए।

विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुने रमदैयाका १३ जनामध्ये प्रहरीले नौजनाको मात्र पुष्टि गरेको छ। प्रहरीले पुष्टि गरेका मृतकमा ४७ वर्षीय शत्रुधन मण्डल, ५५ वर्षीय श्रीदेव यादव, २५ वर्षीय इन्द्रजित महरा, ३५ वर्षीय ब्रह्मदेव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी महरा, ३६ वर्षीय रामनारायण महरा, ३० वर्षीय राजु महरा, ५० वर्षीय रामप्रसाद यादव छन्। फागुन २८ गते बुधबार होली पर्वका अवसरमा मासुरक्सी खाएका उनीहरूको मृत्यु हुने क्रम बिहीबारदेखि सुरु भएको थियो। त्यही क्रममा आइतबार बिहान जानकी मेडिकल कलेजमा रमदैयाका रामप्रसाद यादव र प्रादेशिक अस्पतालमा लक्ष्मीनियाँका रतन दासको तथा जनकपुर मुसहरीका जितेन्द्र सदाको मृत्यु भएको हो।

स्थानीयका अनुसार त्यहीक्रममा रमदैया विजय सदा, रासमती सदा, झुरुक सदा र रञ्जित यादवको मदिरा सेवनबाट मृत्यु भएको थियो। तर यी चारजनाको मृत्युसम्बन्धी जानकारी दाहसंस्कार भइसकेपछि मात्र प्रहरीमा आएकाले विषाक्त मदिरा सेवनबाटै उनीहरुको मृत्यु भएको भन्न नसकिने धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

आइतबार बिहान मृत्यु भएका जनकपुर–७ मुसहरीका जितेन्द्र सदा विषाक्त रक्सी खाएर पेट दुख्ने, बान्ता हुने गर्न थालेपछि उपचारार्थ शनिबार प्रादेशिक अस्पताल पुगेका थिए। तर चिकित्सकले उनलाई ‘आत्तिनुपर्ने केही छैन,’ भन्दै सामान्य औषधि दिएर घर फर्काएको परिवारको भनाइ छ। यसअघि सो टोलमा विषाक्त रक्सी सेवनका कारण मिथिला सदा, बनारसीदेवी सदा र झगरु सदाको मृत्यु भएको थियो। घरेलु मदिरा सेवनबाट बिरामी बनेका रमदैया–१ का ३७ वर्षीय रामेश्वर महरा, वडा २ का २३ वर्षीय प्रदीप सदा, ५० वर्षीय भरत मण्डल, ४४ वर्षीय मनिर नदाफ, २२ वर्षीय भरत सदा र ५० वर्षीय सीताराम यादव गरी ६ जनाको उपचार भइरहेको र तीमध्ये चार जनाको अवस्था जटिल रहेको बताइएको छ।

उक्त घटनापछि मुसहरी टोलमा त्रास फैलिएपछि नियमित घरेलु मदिराकर्ता ३० जना उपचारार्थ प्रादेशिक अस्पताल जनकपुर आएका थिए। तर डराउनुपर्ने अवस्था नरहेको भन्दै स्लाइनपानी चढाएर, सम्झाइबुझाइ गरी घर फर्काइएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नागेन्द्र यादवले बताए। गाउँमा मुसहर समुदायमा कुलदेवता ‘भुइँया महाराज’ रिसाएको भन्दै भूतप्रेत खेल्न र पूजापाठ गर्न सुरु गरेपछि वडाध्यक्ष जानकीराम साहको आग्रहमा उनीहरू अस्पताल भर्ना भएका हुन्। मृतकमध्ये तीन जनाको सामाजिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ भने जितेन्द्रको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ। पोस्टमार्टम रिपोर्टपछि उनको मृत्यु विषाक्त मदिरा सेवनबाट वा अन्य कारणले भएको हो भन्न सकिने प्रहरी निरीक्षक झाले बताए।

यो समाचार आजको नागरिक दैनिक मा रोहित महतो ले लेखेका छन ।

प्रकाशित : २०७६ चैत ३ गते १०:३०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI