No ads found for this position

एसईई परीक्षा नरोकिने, भयभित नहुन सरकारको अपील

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ४ गते १९:४०
No ads found for this position
एसईई परीक्षा नरोकिने, भयभित नहुन सरकारको अपील
No ads found for this position

काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालहरुसँगको परामर्श र छलफल पश्चात् उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय अनुगमन समितिमा भएका छलफल तथा विश्लेषण समेतका आधारमा शिक्षा मन्त्रालय एसइइ परीक्षा पूर्व निर्धारित  समय तालिका अनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन गर्ने निधोमा पुगेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् । परीक्षा सञ्चालनका सबै तयारी पुरा भइसकेको र विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेको मन्त्री पोखरेलले जनाएका हुन् ।
६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।

विद्यार्थीहरुलाई परीक्षाकेन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रवन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरी सकिएकोसमेत शिक्षामन्त्री पोखरेलले जनाएका छन् ।

शिक्षा मन्त्री पोखरेलले विद्यार्थीको स्वास्थ्य सुरक्षा र बचावट सरकारकोे पहिलो प्राथमिकता भएको र संकटापन्न अवस्थामा पनि बालबालिकाको पढ्न पाउने हक अधिकार सुरक्षित हुनु पर्दछ भन्ने विषयमा सरकार गम्भिर रहेको स्पष्ट पारेका छन् ।

तसर्थ मन्त्रालयले परिस्थितिको नियमित विश्लेषण गरिरहेको छ । यस सन्दर्भमा आइपर्ने कुनै पनि विषम परिस्थितिमा मन्त्रालयले उच्चस्तरीय समितिसँग संयोजन गरी यथोचित निर्णय लिने नै हुँदा अनावश्यक हल्ला र अफवाहको पछि नलाग्न र मन्त्रालय एवम् सम्वन्धित निकायका आधिकारिक सूचनाहरुमा भरपर्न पनि शिक्षामन्त्री पोखरेलले  सबैमा अनुरोध गरेका छन् ।

भयभित नहुन अनुरोध
शिक्षा मन्त्रालयले  परीक्षा केन्द्र परिसरमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगरिदिन अभिभावक तथा परीक्षा केन्द्रका आसपासमा रहेका स्थानीय जनसमुदायसँग अनुरोध गरेको छ । साथै, मन्त्रालयले सोको अनुगमन र सहजीकरणको लागि स्थानिय तह र स्थानीय प्रशासनलाई आग्रह गरेको छ । परीक्षामा समावेश सबै विद्याथीहरुलाई केन्द्राध्यक्ष र हेल्थ डेस्कमा कार्यरत व्यक्तिले दिएका निर्देशनहरुलाई पालना गर्दै व्यक्तिगत तवरमा सचेत रहि भयभित र त्रसित नभैकन मर्यादित तवरले परीक्षामा सहभागि हुन शिक्षा मन्त्री पोखरेलले अनुरोध गरेका छन् ।  

अब्जेशन लेटर स्थगित
शिक्षा मन्त्री पोखरेलले कोरोना भाइरस (कोभिड(१९) विश्वव्यापि रुपमा संक्रमित भइरहेको वर्तमान अवस्थामा उच्च स्तरीय अनुगमन समितिले ३० अप्रिल २०२० सम्मका लागि संक्रमण फैलिएका देशहरुमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि नो अब्जेशन लेटर जारी नगर्ने निर्णय गरेको जानकारी दिएका छन् ।  भारतमा एमवविएस एवम् एमडी को प्रवेश परीक्षा दिन फारम भर्ने प्रयोजनका लागि र विदेशमा पढी रहेका नेपाली विद्यार्थीले विषय परिवर्तन वा कलेज परिवर्तन गर्न चाहेको अवस्थामा नेपालमा निजका अभिभावकले आवेदन गरेमा नो अब्जेशन लेटर जारी गर्ने प्रवन्ध मिलाइएको मन्त्री पोखरेलले स्पष्ट पारेका छन् ।  अन्यको हकमा स्थितिको नियमित अनुगमन र मूल्याङ्कन गरी चाँडै मन्त्रालयले यस कार्यलाई सहज वनाउदै लैजाने मन्त्री पोखरेलले प्रतिबद्धता जनाएका छन् ।

यस्तै, एसईई  परीक्षा सकिएपछि  शैक्षिक सत्र शुरु नहुन्जेल सम्म करीव तीनहप्ता देशभरका करीव ७० लाख विद्यालय जाने उमेरका बालबालिकहरु घर परिवारमा नै रहने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।  संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीहरुलाई घर वाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखि विद्यालयमा साँस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न सबैमा शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित : २०७६ चैत ४ गते १९:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI