सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ। कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्च स्तरीय समन्वय समितिले उक्त निर्णय गरेको हो। अब पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने भएको छ।
त्यस्तै पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई समेत रोक लगाइको छ। साथै ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको छ।
त्यस्तै फिल्म हल, जिम हल, नाइट क्लब, रंगशाला, सांस्कृतिक केन्द्र, हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू समेत २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरिएको छ। कसैलाई कोरोना संक्रमण देखिएमा उक्त विरामीलाई कुन अस्पतालमा उपचार गर्ने भन्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ। स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार अब कसैलाई कोरोना देखिएमा मन्त्रालयले नै कुन अस्पतालमा उपचार गर्ने भनेर निर्णय गर्नेछ।
प्रकाशित : २०७६ चैत ५ गते १७:०६
Facebook Comment