यसकारण बालबालिका घरमै सुरक्षित

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ८ गते ९:२७
यसकारण बालबालिका घरमै सुरक्षित

काठमाडौं, चैत ८ । बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो । बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्णविकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पु¥याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेको भनाई छ । उनले अहिले सबै विद्यालय बन्द भइसकेका कारण बालबालिकालाई घरमा सुरक्षित कसरी राख्ने भन्ने विषयमा ध्यान पुर्‍याउनुपर्ने जानकारी दिँदै भने, “कोरोनाको त्रास र भ्रम फैलाउनु हुँदैन । बालबालिकालाई कोरोनाको त्रास दिएमा मानसिक समस्या आउँछ ।”

उनले बालबालिकालाई नेपालमा कोरोना आएको छैन तर सुरक्षा भने अपनाउनुपर्छ यो रोग लाग्दैमा मर्ने होइन जस्ता कुरा सम्झाउनुपर्ने जानकारी दिएका छन् । अभिभावकहरू आतङ्कित नहुन सुझाव दिँदै उनले भने, “बालबालिकाको मृत्युदर निकै कम छ, सही सूचना प्रवाह गर्नुपर्छ । खानपिनमा ध्यान दिनुपर्छ सकभर बाहिरको खुवाउनुु हुँदैन ।”

पोषणविद् डा अरुणा उप्रेतीका अनुसार अभिभावकले आतङ्कित हुनु हुँदैन् । जटिलता नभएकाले सुरक्षा अपनाउनुपर्ने उनको भनाई रहेको छ । बालबालिकालाई साबुनपानीले हात धुनुका साथै नाक, मुखमा हात लैजान नहुने ज्ञान दिनुपर्ने उनको भनाई छ । मौसम परिवर्तनका कारण सामान्य रुघा, खोकी लाग्न सक्ने भएकाले पोषिलो खानेकुरा खानुपर्छ भने बालबालिकालाई क्वाँटीको झोल अथवा मनतातोपानी वा दूध बेसार र कालो मरिच मिसाएर दिनुपर्छ भन्दै उनले ‘‘यस्ता खाने कुराले रोगसँग लड्ने क्षमता बढाउने जानकारी दिइन् ।

रोगसँग लड्ने क्षमता विकासले रोग लाग्न नदिने हो । त्यसलै रुघा, खोकीबाट बच्नुपर्छ जसले निमोनिया हुन दिँदैन । अहिले झाडा, पखाला लाग्ने पनि मौसम भएकाले हात धुने बानीले यस प्रकारको रोगबाट बच्च सहयोग गर्ने डा उप्रेतीको भनाई रहेको छ ।
-गोरखापत्र दैनिकबाट

प्रकाशित : २०७६ चैत ८ गते ९:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI