गण्डकी र प्रदेश ५ का सीमामा हेल्थ डेस्क

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ८ गते १८:५६
गण्डकी र प्रदेश ५ का सीमामा हेल्थ डेस्क

नारायण शर्मा/नवलपरासी — कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन गण्डकी र प्रदेश ५ सीमानाकामा ओहोरदोहार गर्नेलाई दाउन्नेमा हेल्थ डेस्क राखेर परीक्षण सुरु गरिएको छ । शनिबार ती दुई प्रदेशका सीमानामा रहेको दाउन्नेमा एक हेल्थ असिस्टेन्ट र प्रहरीको सहयोगमा ननकन्टयाक्ट गन (मान्छे नछोइकन ज्वरो नाप्ने यन्त्र) राखेर परीक्षण सुरु गरिएको हो। बिनयी त्रिवेणी गाउँपालिकाले दुई प्रदेशको सिमाना हुँदै ओहोरदोहोर गर्नेहरुका शरीरको तापक्रम नाप्न थालेको गाउँपालिका अध्यक्ष डम्बर जिसीले जानकारी दिए। उनका अनुसार दाउन्ने बजारमा झर्ने, मन्दिर जाने र बजारमा खाजाखान झर्नेहरुको परीक्षण भइरहेको छ।

बिनयी त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव काफ्लेका अनुसार अहेब उमाकुमारी गिरीलाई त्यहाँ खटाइएको छ। आइतबारदेखि जनशक्ति थपेर हेल्थ डेक्सलाई प्रभावकारी बनाउने योजना गाउँपालिकाको छ। सीमामा परीक्षण गरी सावधानी अपनाउने र ज्वरो, रुघा, खोकी देखिएमा नजिकका स्वास्थ्य केन्द्रमा रिफर गर्ने व्यवस्था मिलाइएको छ।
पूर्वीनवलपरासीको दाउन्नेमा गण्डकी प्रदेश र प्रदेश ५ को सिमाना पर्दछ। भारतीयहरुको पनि उत्तिकै आगमन हुने उक्त स्थानमा हेल्थ डेक्स राखेर सावधानी अपनाइएको गाउँपालिकाका अध्यक्ष जिसी बताए।

यसअघि फागुन २६ गतेबाट गण्डकी प्रदेश र भारतको सिमानामा पर्ने त्रिवेणीमा नेपाल-भारत आउजाउ गर्नेहरुलाई ख्याल राखेर हेल्थ डेस्क राखेर परीक्षण जारी राखिएको छ। त्रिवेणीमा शनिबारसम्म ४ हजार ८ सय जनाको ज्वरो परीक्षण भइसकेको छ।

प्रकाशित : २०७६ चैत ८ गते १८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI