काठमाडौं उपत्यकामा ५ हजार मानिस अट्ने क्‍वारेन्टाइन बनाइने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ९ गते १९:५७
काठमाडौं उपत्यकामा ५ हजार मानिस अट्ने क्‍वारेन्टाइन बनाइने

काठमाडौं : राजधानी उपत्यकामा तत्काल ५ हजार व्यक्ति क्षमताका सार्वजनिक क्‍वारेन्टाइन बनाइने भएको छ। त्यसका लागि काठमाडौं उपत्यकाभित्रका होटेल, होस्टल, स्कुल र रंगशालाहरुलाई तयार गरिने भएको छ। 

कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्‍वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको पहिलो बैठकले आइतबार यस्तो निर्णय लिएको हो।

बैठकले काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अट्ने क्‍वारेन्टाइनस्थल बनाउने निर्णय लिँदै आवश्यक परेमा तिनैलाई अस्थायी अस्पतालमा परिणत गर्न सकिने निर्णय गरेको कार्यदलको नेतृत्व गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन्। 

‘नेपाल सरकारले उपत्यकामा कम्तीमा ५ हजार मताको सार्वजनिक क्‍वारेन्टाइनस्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने भएका छन्’, उनले भने, ‘ती सार्वजनिक क्‍वारेन्टाइनस्थललाई आवश्यक पर्दा तुरून्तै अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गरिँदैछ।’

बैठकले पर्यटन विभाग र पर्यटन बोर्डलाई होटेल व्यवसायीसँग समन्वय गरी कम्तीमा २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटेलको स्थानसहितको विवरण तयार गर्न निर्देशन दिएको छ।

बोर्ड र विभागले निजीक्षेत्रका व्यवसायीसँगको समन्वयमा होटेल निर्धारण गर्ने छन्। प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तीमा दुई हजार क्षमताको क्‍वारेन्टाइन बनाउन स्थान दिनुपर्ने छ।

त्यसैगरि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानका होस्टेल तथा रंगशालामा क्‍वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमताबारे अध्ययन गर्ने भएका छन्। ती स्थानको क्षमता पहिचान गरी कार्यदललाई जानकारी गराउन निर्देशन दिइएको भट्टराईले बताए। 

काठमाडौं उपत्यकामा ५ हजार अट्ने क्‍वारेन्टाइन बनाउने मापतदण्ड र स्थान सोमबारसम्म पहिचान गरिसक्नुपर्ने भएको छ। सोमबार क्‍वारेन्टाइन बनाउन सकिने स्थानबारे सुझाव आएपछि आवश्यक निर्णय लिइनेछ।

कार्यदलका निर्णयहरु

निर्णय नम्बर १

सार्वजनिक क्वारेन्टाइन स्थल सम्बन्धी मापदण्ड (Protocol) को मस्यौदा आजै तयार गरी बेलुका ६:०० बजेसम्म गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ४ वटै सुरक्षा निकायका प्रतिनिधि (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग) रहेको टोलीले कार्य गरी पेश गर्ने ।

निर्णय नम्बर २

निर्णय नम्बर १ बमोजिमको टोलीको प्रतिवेदन/मस्यौदा आए पश्चात सो बमोजिम आवश्यक पर्ने स्रोतसाधन/बजेट व्यवस्थापन योजना सम्बन्धी कार्य अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र ४ वटै सुरक्षा निकायका प्रतिनिधीको टोलीले गरी भोली विहान १०:०० बजे पेश गर्ने ।

निर्णय नम्बर ३

पर्यटन विभाग र नेपाल पर्यटन वोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँग समन्वय गरी कम्तिमा २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूको स्थान सहितको विवरण तयार गरी भोली विहान १०:०० बजे पेश गर्ने।

निर्णय नम्बर ४

काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक पर्दा कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ विवरण तयार गरी भोली विहान १०:०० बजे पेश गर्ने ।

निर्णय नम्बर ५

प्याब्सन, एन प्याब्सन र हिसानका प्रतिनिधीले आपसी समन्वयमा कम्तिमा १ हजार ब्यक्ति क्षमताका होस्टेल/स्कूलको स्थान सहितको विवरण तयार गरी भोली विहान पेश गर्ने ।

निर्णय नम्बर ६

राष्ट्रिय खेलकुद परिषदले काठमाडौं, ललितपूर, पोखरा, वुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिने सहित) मा क्वारेन्टाइनको लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गरी भोली विहान १०:०० बजे पेश गर्ने ।

निर्णय नम्बर ७

उल्लिखित निर्णयानुसार नेपाल सरकारले उपत्यकामा कम्तिमा 5 हजार व्यकि क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धित सबै निकायहरू संयुक्तरूपमा परिचालित हुने र उक्त सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरून्त अस्थाई अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने ।

निर्णय नम्बर ८

कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति समक्ष देहाय बमोजिम क्षमताका क्वारेन्टाइन प्रयोग गर्न सक्ने गरी तयार गर्न देहाय बमोजिम प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन हुन सिफारिश गरी पेश गर्ने:-

(क) प्रत्येक प्रदेशले- कम्तिमा २ हजार क्षमताका
(ख) प्रत्येक महानगरपालिकाले- कम्तिमा २ हजार क्षमताका
(ग) प्रत्येक उपमहानगरपालिकाले- कम्तिमा १ हजार क्षमताका
(घ) सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले- कम्तिमा (हिमाली क्षेत्रको हकमा)- ५ सय व्यक्ति (पहाडी क्षेत्रको हकमा)- १ हजार व्यक्ति र (तराई क्षेत्रको हकमा)- २ हजार व्यक्ति क्षमताका क्वारेन्टाइन्स्थल ।

निर्णय नम्बर ९:

यस उपसमितिको वैठक भोली (२०७६।१२।१० गते) बिहान १०:०० बजे मन्त्रालयको बैठक कक्षमा बस्ने।

प्रकाशित : २०७६ चैत ९ गते १९:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI