`लकडाउन´मा सरकारलाई कांग्रेसको १२ बुंदे सुझाव

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ११ गते १७:०८


काठमाडौं । कोविड १९ को जोखिम सामना गर्न सरकारले घोषणा गरेको `लकडाउन´ को निर्णयलाई आत्मसात गर्दै पालना गर्न नेपाली कांग्रेस समस्त नेपाली दिदिबहिनी दाजुभाइमा अपिल गरेको छ ।  यो समयको प्रतिकुलतालाई संयम, एकता र पारिवारिक प्रेमका साथ सामना गर्नु हामी सबैको कर्तव्य भएको छ ।

कांग्रेसले लकडाउनको अवधिमा हुने या हुनसक्ने एकएक जटिलतालाई सहज बनाउने दिशामा सरकारले आफ्नो सम्बन्धित संयन्त्रहरुको ब्यवस्थित र प्रभावकारी परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै केही महत्त्वपूर्ण बिषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । साथै समग्र नेपाली समुदायको सहयोगी र विषेश धैर्य भूमिकाका लागि अपिल गरेको छ।

१.   लकडाउनको अवधी ७ दिनबाट लम्बिनपनि सक्छ, त्यस्तो स्थितिमा `दिनभरि काम गरेर माम जुटाउने बर्ग´ को चुल्हो यो लकडाउनले पुरै `लक´ गर्न सक्छ । अत सरकारले चुनौतीपूर्ण आर्थिक जीवन भोगिरहेको बर्गका लागि यथासिघ्र विशेष राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिस्चित गर्न तत्काल ध्यान पुर्‍याउनु पर्दछ ।

२.   लकडाउनको अवधी
लम्बिए विद्यार्थी र बेरोजगारको घनत्व धेरै रहेको राजधानी लगायतको मुख्य शहरी
क्षेत्रमा डेरा गरेर बसेका युवाहरुको स्थितिमा जटिलता उत्पन्न हुन जानेछ । सरकारको सम्बन्धित निकायले बेरोजगार र विद्यार्थीहरुका लागि विशेष राहत योजना अविलम्ब निर्माण गरेर यस्तो स्थिति सामना गर्न सघाउ पुर्‍याउनु  पर्दछ ।

३.   जोखिमसंग जुध्न दैनिक रूपमा सहि सूचना र तथ्यहरु सम्प्रेषण गर्ने कार्यमा सरकारले एकद्वार प्रणाली तत्काल निस्चित गर्नुपर्दछ । जसले नागरिक पंक्तिमा निरन्तर ढाडस संगै उच्च मनोबलको साथ रहनेछ । समुदायले सतर्कता राख्दै साथ दिएर यो संघर्षलाई सफल बनाउनु छ । 

४.   खाद्यान्न,पानी,अन्य रोगका औषधि एवं ग्यास, मट्टीतेल लगायतको अभाव असहजता हुनसक्ने स्थिति आउन नदिन संघिय सरकारले तिनै तहको सरकार विच उचित समन्वय साथ सुलभ स्थिति बनाउन र नागरिकलाई निरन्तर आश्वस्त बनाउन जरुरी छ । जोखिममुक्त ढंगले क्रयविक्रय गर्ने भरपर्दो सुनिस्चितता मिलाउन अत्यावश्यक छ ।

५.   ` अजदेखि होम क्वारेन्टाइन´ मा बसेका जो कसैलाई पनि कोरोना सम्बन्धि निस्चित लक्षण देखिए सम्पर्क कहाँ गर्ने,तिनलाई अस्पताल कसरी कहाँ पुर्‍याइने र उपचार प्रक्रियाको सहजता के हुने ,जस्ता अन्यौल सरकारले सार्वजनिक सूचना मार्फत यथासिघ्र चिर्न जरुरी छ । 

६.   आजको विश्वब्यापी महामारी संसारले स्वास्थकर्मीहरुको नेतृत्वमा लडिरहेको  छ । अत स्वास्थकर्मीहरुको उच्च मनोबल राख्न राज्य,राजनैतिक दल एवं सिंगो समाजको विशेष ध्यान र साथ पुग्न जरुरी छ । विश्व स्वास्थ संगठनले नेपाल जोखिममा रहेको सूचना दिएको महीना दिन पुगिसक्दापनि पर्याप्त `पिपिइ´ प्रबन्ध नगरिनु सरकारको गम्भीर लापरबाही हो । यथासिघ्र आयात गर्ने कार्यमा सरकारको गम्भीर भुमिका अपेक्षा गर्दछौं ।

७.   परिक्षण `कीट´ को अभाव हुनसक्ने स्थिति आउन नदिन आपतकालीन ढंगले जोहो गर्न अपिल गर्दै जिल्लाहरुबाट परिक्षणका लागि नमूना केन्द्रमै पठाउनुपर्ने अवस्था अन्त्य गर्न र कम्तीमा ७ प्रदेशको ७ ठाउँमा वैकल्पिक प्रयोगशाला प्रबन्ध गरेर परिक्षण सहज बनाउन सरकारसंग आग्रह गर्दछौं ।

८.   लकडाउनले सबै थरी ब्यवसायलाई गम्भीर असर पुग्ने स्थिति दृस्टिगत गरेर सरकारले ब्यवसायिको बैंकिङ ब्याज घटाउने र किस्ता तिर्ने समयावधि लम्ब्याउन समन्वयको भुमिका यथासिघ्र निर्वाह गर्नुपर्दछ ।

९.   बेरोजगारीको पीडा अलग छंदै थियो , मौजुदा प्रतिकुल स्थितिमा विविध क्षेत्रमा रोजगारीमा रहेकाहरुको पनि काम बन्द हुंदा रोजगारदातासंग नविन प्रकृतिको द्वन्द्व सृजना हुँदै गएको छ । यस्तो स्थितिको निकासमा सरकारको अभिभावकिय भुमिका मार्फत ब्यक्ती र प्रतिस्ठान दुवैको हितमा समाधान तय गर्न जरुरी छ ।

१०.  कोबिड प्रतिकुलताका कारण साप्ताहिक पत्रीकाहरु सामुहिक सूचनाका साथ तत्कालका लागि प्रकाशन स्थगनमा गएका छन् । अन्य प्रकाशनमा पनि यस्तै स्थिति उत्पन्न हुन सक्दछ । अत नागरिकलाई सुसूचित गर्ने राज्यको चौथो अंग सञ्चार माध्यम एवं पत्रकारलार्इ विविध ढंगले प्रोत्साहित, सुरक्षीत र संरक्षण गर्ने कर्तव्य यस्तो बेलामा राज्यले निभाउनु पर्ने आवश्यकता औंल्याउँदछौं ।

११.  प्रदेश ५ को बांकेमा एक क्वारेन्टाइनबाट हतास मनस्थितिमा नागरिक बाहिरएको र राज्यले स्नेहपुर्वक नियन्त्रणमा राख्न नसकेको घटनाबाट शिक्षा लिंदै लकडाउनको अवधी एवं संभावित अन्य क्वारेन्टाइन र आइसोलेसनमा त्यस्तो लापरबाहीको स्थिति बन्न नदिन विशेष सावधानीको अपिल गर्दछौं ।

१२. एकातर्फ हामी पुरै देश लकडाउन मा गएका छौं भने अर्कातर्फ लाखौं नेपाली बिदेशी भुमिमा `लक्ड´ स्थितिमा छन् । तिनको अभिभावक मुलत मातृभुमी नेपाल नै हो । सरकारले विविध माध्यमबाट प्रवासी नेपालीको सहजताका लागि भुमिका निर्वाह गर्न जरुरी छ । 

सरकारलाई यी सबै आग्रह `लकडाउन´ पुर्वनै हामीले आन्तरिक संवाद मार्फत गरिसकेका छौं । यस्तो बेला सरकारलाई सघाउनु हामी सबैको कर्तव्य हो । तर सरकारलाई घच्घच्याउने दायित्वपनि हामी सबैको हो ।

प्रकाशित : २०७६ चैत ११ गते १७:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI