पीपीईको बारेमा मन्त्री पद्माका पति लक्ष्मीपतिले भनेः कुरा यसो हो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १२ गते १५:२८
पीपीईको बारेमा मन्त्री पद्माका पति लक्ष्मीपतिले भनेः कुरा यसो हो

काठमाडौं। भाइरसजन्य रोगको उपचारका क्रममा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट पीपीई भुमिसुधार मन्त्री पद्मा अर्यालका पति लक्ष्मीपति पौडेलले फोटोसुट गरि सामाजिक सञ्जालमा राखेको बिषयमा विभिन्न अनलाइनले बनाएको समाचारका बारेमा उनले आफ्नो स्पष्टिकरण दिएका छन्। लक्ष्मीपतिले सामाजिक सञ्जालमा राखेको दुई स्टाटसलाई आधार बनाएर तयार गरिएको समाचारमा पौडलले आफ्ना तर्फबाट थप स्पष्टिकरण दिएका हुन्। 


जनस्वास्थ्य प्रयोगशालादेखि विभिन्न अस्पतालमा पीपीईको ब्यवस्था नहुँदा उपचारमा खटिने चिकित्सकहरुले आफूहरूलाई भाइरस सर्ने डरले उपचार गर्न डराई रहेकाबेला मन्त्री पतिले सामाजिक सञ्जालमा पीपीई लगाएको फोटो पोष्ट गरेपछि यस बारेमा सार्वजनिक चर्चा भएको थियो।

सामाजिक संजालमा सम्वन्धित व्यक्तिले पोष्ट गरेपछि त्यसलाई आधार बनाएर समाचार बनाउने अभ्यास अन्तर्गत लक्ष्मीपति पौडेलको सामाजिक सञ्जालमा आएको दुईवटा पोष्टलाई आधार बनाएर सामग्री प्रकाशन भएको थियो। उनले अहिले स्पष्टीकरणमा लेखेको जस्तै विषय शुरुका दुई स्टाटसमा राखेको भए त्यो पनि समाचारको विषय बन्न सक्थ्यो। पौडेलले पठाएको आफ्नो स्पष्टीकरणमा भनेका छन्ः 

मेरा तस्बीरको बारेमा हाम्राकुरा डट्कम र अरु केही अनलाइन मिडियाले बनाएको समाचार पढ्दा अनौठो लाग्यो। ती कुरा सांचो होइनन्। कुरा यसो होः यो कहिंबाट आएको अनुदान होइन। गाउन Rain coat बनाउने कपडा बजारबाट किनेर पोखरामा बनाएको हो, यसलाई तयार पार्दा XL साइजकोलाई रु २२०० र L साइजकोलाई रु २००० परेको छ। अनि मुखमा लगाएको फेस प्रोटेक्शन ट्रान्स्पेरेन्सी पेपर,फोमको टुक्रा, टेप र इल्यास्टिक बाट बनाएको हो,यस्लाइ रु १०० परेको छ। टाउकोमा लगाएको प्लास्टिक मेहन्दिको प्याकमा आउने मेहन्दी लगाइसकेपछी कपाल छोप्ने प्लास्टिक हो। लगाएको डिस्पोजेबल मास्कलाई रु १० परेको छ। हातमा लगाएको ग्लोव जोडीको रु २० परेको छ । 

म सहकारीकर्मी, सामाजिक राजनितिक ब्यक्ती हुँ। हाम्रो अगाडि आउँदै गरेको महाबिपत्तिमा आफ्नो र अरुको सुरक्षा र उद्दारमा आबस्यक पर्ने भएकोले मैले मेरो साथी रामचन्द्र रेग्मीबाट किनेर ल्याएको हुँ। त्यसमध्ये १ सेट आफ्नो लागि र ३ सेट वालिङ हस्पिटललाई बुझाइएको हो। अरुको मुख ताक्ने र कुरा काटेर बस्ने होइन आफै पनि केही गर्न सकिन्छ भन्ने कुराले सकारात्मक सन्देश जाला भनेर मैले पोस्ट गरेको हो। मैले पोस्ट गरेपछि स्वास्थ्यकर्मी सहित धेरैले कसरी बनाउने भनेर समेत सोध्नु भो। कपडा सस्तो पाइए गाउन अलि सस्तो मुल्यमा तयार गर्न सकिन्छ। पाइएसम्म यो तपाईं हामी सबैले बिरामीको नजिक जाँदा,उनिहरुको हेरचाह गर्दा पनि प्रयोग गरे हुन्छ। हामीले यस्लाई स्याङ्जामा पनि बनाउन कोसिस गरिरहेका छौं। 

त्यसैले मैले गरेको कुरामा मलाइ कुनै गलत गरे भन्ने लागेको छैन। यस्ले सकारात्मक सन्देश लैजाला भन्ने मेरो उदेश्य हो । यो गाउन सर्जीकल गाउन जस्तो मेडीकेटेड होइन। रुघाखोकी लागेको बिरामीको स्याहार गर्दा प्रयोग गर्न सकिन्छ। सम्बन्धित मिडियाकर्मीले एक पटक मलाई सोधेको भए यस्तो भ्रममा पर्नु पर्थेन । संकटको बेला भ्रमको खेती नगरौं प्लीज।

हाम्राकुरा डटकम बाट

प्रकाशित : २०७६ चैत १२ गते १५:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI