कोरोना संक्रमित युवती चढेको जहाजमा आउने नवलपरासीका दुई जना

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १२ गते १६:२२
कोरोना संक्रमित युवती चढेको जहाजमा आउने नवलपरासीका दुई जना

हरि शर्मा परासी, १२ चैत
कोराना संक्रमण देखिएकी युवतीसँगै जहाज चढेर आएका यात्रुहरुमध्ये नवलपरासीका पनि दुई जना रहेको पाइएको छ । युवती चढेर आएको जहाजमा सवार यात्रुहरुको सरकारले खोजी गर्ने क्रममा नवलपरासीका दुई जना पनि सँगै आएको पाइएको हो ।

काठमाण्डौं निवासी युवती गत चैत ४ गते फ्रान्सबाट कतारको दोहाहुँदै काठमाण्डौं आएकी थिइन् । उक्त जहाजमा रहेका यात्रुमध्ये दुई जना नवलपरासीका रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । तिमध्ये एक जना पश्चिम नवलपरासी र अर्का पूर्वी नवलपरासीका रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले बताए । ‘गृहमन्त्रालयले जहाज चढेर आएका १ सय ५८ जनाको सूची पठाएको छ ।

उक्त सूचीमा नवलपरासी ठेगाना भएका दुई जना उल्लेख छ । ’ थापाले भने । नागरिकता नम्बरको आधारमा उनीहरुको खोजी भएको थापाले बताए । ‘एक जना पश्चिम नवलपरासी बर्दघाट नगरपालिकाका ३२ वर्षीया युवक र अर्का पूर्वी नवलपरासी देवचुली नगरपालिकाका रजहरका ३७ वर्षीया युवक रहेछन् ।’ थापाले भने । बर्दघाटका युवकको खोजी गर्ने क्रममा उनी घरमै सेल्फ क्वारेन्टाइनमा रहेको उनले बताए ।‘उनी सेल्फ क्वारेन्टाइनमा छन् ।

घरमै रहन दिनेकी स्वास्थ्य संस्थामा लैजाने भन्नेबारे चिकित्सकहरुसँग छलफल भइरहेको छ ।’ थापाले भने । पूर्वी नवलपरासीका युवक भने लामो समयदेखि काठमाण्डौं बस्दै आएकोले सोही अनुसार जानकारी गराइएको जिल्ला प्रशासनले जनाएको छ । कोरोना संक्रमित युवतीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७६ चैत १२ गते १६:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI