हुप्सेकोटमा विभिन्न मुलुकबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरिदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १३ गते १८:२४
हुप्सेकोटमा विभिन्न मुलुकबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरिदै

हुप्सेकोट । हुप्सेकोट गाउँपालिकाले दुई साता भित्र बिभिन्न मुलुकबाट पालिकामा प्रबेश गरेका मानिसहरुको तथ्यांक संकलनको कामलाई तिब्रता दिएको छ । हुप्सेकोटको स्थायी बसोबासी भई रोजगारी तथा अन्य कामले नेपाल बाहिर रहेर दुई साता भित्र घर फर्किएका तथा काम विशेषले पालिकामा आएका मानिसहरुको तथ्यांक संकलनको कामलाई तिब्रता दिईएको हो । दिनहु तथ्यांक संकलन पश्चात् उनिहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।


उनका अनुसार आज मात्र दुई साताको समयमा पालिकामा प्रबेश गरेका २४ जना मानिसको स्वास्थ्य परिक्षण गरिएको र सबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ । २४ जना मध्ये २३ जना छिमेकी मुलुक भारत तथा एक जना दुबई बाट आएको बताईएको छ । उनिहरुलाई कोरोना भाईरस (कोभिड 19) बाट बच्ने उपाय बारे जानकारी दिई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । उनिहरुलाई पालिकाका स्वास्थ्य कर्मिले दिनहुँ सम्पर्क गर्ने सापकोटाले जानकारी दिएका छन । यो अबधिमा हुप्सेकोटमा ६९ जना मानिस प्रबेश गरेको तथ्यांकमा उल्लेख छ । यसरी तथ्यांक संकलनको क्रममा कार्यालयले जनप्रतिनिधि,स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सहयोग लिने गरेको छ भने बाहिर रहेका मान्छे गाउँमा प्रवेश गरेकै समयमा गाउँबासीले नै कार्यालय एबं जनप्रतिनिधिलाई खबर गर्ने गरेको गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डे बताउँछिन ।

गाउँपालिकाको प्रत्येक वडा तथा टोलको सिमानामा स्वत स्फुर्त रुपमा गाउँबासिले नै बाटो बन्द गरेको उनले जानकारी दिईन । तुलनात्मक रुपमा हिजो भन्दा आज घर बाहिर निस्कनेको संख्या घटेको पाण्डेको भनाई छ । हुप्सेकोट गाउँपालिकाले ६ वटै वडामा कोरोना बिपद ब्यवस्थापन समिती गठन गरेको छ भने यसअघि नै स्थापना गरिएका ०५ वटा हेल्प डेस्कले सेवा दिईरहेका छन । पालिकामा ३ वटा क्वारेन्टाइन होम तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित : २०७६ चैत १३ गते १८:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI