चेतनाथ कणेल ‘हरित’
सन् २०१९ डिसेम्बर महिनाको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना भाइरस (‘कोभिड–१९’) को प्रभाव करिब ३ महिनाको अवधिमा अर्थात् आज (सन् २०२० मार्च २७ तारिख; चैत १४) सम्म आइपुग्दा यति भयावह र डरलाग्दो बन्ला भन्ने कुरा यो विश्वमा सायदै कसैले सोचेको थियो । वुहानका डाक्टरहरूले पनि यस्तो कहाँ सोचेका थिए होलान् ? नत्र ती केही डाक्टर र नर्सहरुको कहाँ निधन हुन्थ्यो ? वुहान सहर कोरोनाको प्रथम ‘इपिसेन्टर’ भनेर विश्वमा चर्चामा रह्यो।
तर वुहाने कोरोनाले मच्चाएको आतंक यति छिट्टै विश्वव्यापी बन्यो कि यतिबेला आश्चर्यमा नपर्ने र सशंकित नबन्ने कोही व्यक्ति छैन यो संसारमा । आशंका र भयले सीमा नाघेको छ सर्वत्र । चीनबाट सर्दैसर्दै यो अहिले विश्वका लगभग सबै देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हाल विश्वका १९९ देशमा कोरोनाको संक्रमण फैलिएको छ । कोरोनाकै कारण ज्यान गुमाउनेको सङ्ख्या २४ हजार नाघेको छ । त्यस्तै विश्वभर संक्रमितको कुल संख्या हालसम्म ५ लाख नाघेको छ । उफ यी भयग्रस्त तथ्याङ्कहरू, कल्पनाबाहिरका यी सङ्ख्याहरू, कत्रो त्रास, कस्तो सन्त्रास विश्वभर!
विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराउने तथ्याङ्क केलाउँदा यतिबेला हामी निकै आश्चर्यमा पर्छौं । विकास र सुदृढ स्वास्थ्य प्रणालीका कारण जुन देशमा कोरोना नसर्ला कि भन्ने थियो, तिनै देश अहिले महापीडामा परेका छन् । चीनपछि इरान र दक्षिण कोरियातिर बढ्यो संक्रमण । तर दक्षिण कोरियाले समयमै निकै ख्याल ग¥यो । आफ्नो सारा शक्ति कोरोना बचावट र नियन्त्रणमा लगायो । करिब एक सयको हाराहारीमा त्यहाँ हताहती भयो । तर त्यहाँ संक्रमण धेरै फैलिन पाएन । इरानमा भने करिब २३ सयले ज्यान गुमाए । त्यहाँ संक्रमण बढ्ने क्रम अन्य युरोपेली देशमा जस्तो नभएकोले इरान अहिले कोरोना नक्सामा धेरै चर्चाको विषय भएको छैन । संक्रमण बढ्ने क्रम त्यहाँ तीब्र छैन । विश्वको ध्यान नै अहिले युरोप र अमेरिकातिर छ । विकास र सुदृढ स्वास्थ्य प्रणालीको धज्जी उडाएको छ कलियुगे काल कोरोनाले।
इपिसेन्टर युरोपतिर
इटाली, स्पेन, फ्रान्स, बेलायत यतिबेला युरोपमा कोरोनाका कारण सबैभन्दा बढी पीडामा परेका देश हुन् । अझ इटालीमा कोरोनबाट मर्नेको संख्या विश्वकै सबैभन्दा बढी छ । त्यहाँ साढे ७ हजारभन्दा बढीले ज्यान गुमाएपछि विश्वको सारा ध्यान अहिले इटालीमा छ। यो क्षेत्रले यतिबेला विश्वको ‘कोरोना इपिसेन्टर’ भनेर नयाँ नाम पाएको छ। अब चीनलाई इपिसेन्टर भनेर भन्न छोडिएको छ। चीनमा हालसम्म करिब ३३ सयले मात्र ज्यान गुमाएका छन् । त्यहाँ संक्रमण बढेकै छैनभन्दा पनि हुन्छ। चीन अब तङ्ग्रिन लागिसक्यो। बजार र सहर खुल्न थाल्नु, अन्तर्राष्ट्रिय नाकाहरू पनि विस्तारै खुला हुन थाल्नुले चीनले कोरोनामाथि विस्तारै विजय प्राप्त गर्न थालिसक्यो भनेर विश्वको सिकाइ–दृष्टि यतिबेला चीनतिर मोडिएको छ। चीनको सिकाइ र सफलता अरुका लागि पनि गतिलो पाठ बन्नेमा सबै विश्वस्त छन् । चीनले सहयोगार्थ डाक्टर, नर्स तथा स्वास्थ्य उपकरणहरू धमाधम अन्य देशमा पठाउन थालेपछि चीनले अहिले कोरोनामाथिको विजयमा गर्व गर्न थालेको छ।
विकासमा अति अगाडि रहेका इटाली, फ्रान्स, स्पेन, बेलायतजस्ता देशमा पनि कोरोना संक्रमण देखिएको झण्डै डेढ महिना पुग्दा पनि नियन्त्रणमा सफलता हात नलाग्नु भनेको विकासको उपहास हो भनेर यतिबेला गरिब र विपन्न राष्ट्रहरू भनिरहेका छन् । “विकासमा धेरै अगाडि रहेका त्यस्ता सम्पन्न र समृद्ध देशहरूले त कोरोनासँगको लडाइँमा हार खाएका छन् भने हामी कम विकसित र कमजोर अर्थतन्त्र भएका देशमा कोरोना संक्रमणले भयावह रूप लिएमा हामीले के गरौंला ?”, अतिकम र अल्पविकसित मुलुकहरूको साझा प्रश्न र जिज्ञासा अनि संशय हो यो।
मार्च २७ विहानसम्म स्पेनमा करिब ४४ सयले, फ्रान्समा करिब १७ सयले, बेलायतमा करिब ६ सयले कोरोनाका कारण ज्यान गुमाएका छन् । ती देशमा संक्रमित हुनेको संख्या अनपेक्षितरूपमा बढिरहेकोले सबैको सातोपुत्लो गएको छ । सारा सहरहरू र पूरै देश लकडाउनमा छन् । तर पनि संक्रमण दर नसोचेको संख्यामा बढ्नुले हालको कोरोना इपिसेन्टर युरोप चकित छ, भयभीत छ । युरोपका अन्य देशमा पनि संक्रमण बढ्दै जानुले विश्व स्वास्थ्य संगठनको पूरै ध्यान यतिबेला युरोप र अमेरिकामा छ ।नयाँ इपिसेन्टर अमेरिका बन्ने?
बेलाबेलामा विश्व स्वास्थ्य संगठनले अमेरिकालाई भनिरहेकै छ- अमेरिकाले कोरोनालाई टेरेन। भयावह स्थिति बढ्न सक्छ। ‘नयाँ इपिसेन्टर’ अमेरिका बन्न सक्छ … आदि। हो, स्थिति त्यस्तै भयो। मार्च १६ तारिखसम्म अमेरिकामा जम्मा ६८ जना मरेका थिए, त्यो संख्या मार्च २० मा २१७ पुग्यो र त्यसपछिको ७ दिनमा दिन दुगुना, रात चौगुना भनेझैं आज मार्च २७ तारिख विहानसम्म मर्नेको संख्या १ हजार नाघेको छ । त्यो संख्या यही रीतले बढ्यो भने अझै एक हप्तामा चीनलाई नउछिन्ला भन्न सकिन्न । स्थिति भयावह छ । अमेरिकामा जुन रूपमा सजगता अपनाउनुपर्ने र समयमै ५० राज्य नै ‘लकडाउन’ हुनुपर्नेमा त्यो नहुनाले र ट्रम्प प्रशासनको लापर्वाही र सेखी बढ्नाले विश्व स्वास्थ्य संगठन पनि चकित छ। अझ ट्रम्पले भनेका छन्, “अमेरिका बन्द गर्नका लागि बनेकै होइन !” यो दम्भ, तुजुकीपन र सेखीले अमेरिकालाई कोरोनाको नयाँ इपिसेन्टर बनाउने र धेरै जनता त्यसको सिकार बन्ने हुन् कि भन्ने त्रास सर्वत्र छ।
यदि त्यसो भयो भने त्यहाँ रहेका २ लाखभन्दा बढी नेपालीको हालत के होला ? हामीलाई पनि ठूलो चिन्ता छ । मातृभूमिदेखि टाढिएका नेपालीजन (एनआरएनए तथा अन्य छोटो अवधिका लागि गएका) लाई दुःखको बेला आफ्नै आमाको काखमा फर्कूं भन्ने चाहना भएमा नेपालले के गर्न सक्छ त? के समयमै ती मातृभूमिप्रेमीलाई नेपाल ल्याउन सकिएला? न्युयोर्क सहरमा बस्ने एकजना नेपाली (लिम्बू) पुरुषको अघिल्लो हप्ता मृत्यु भयो । त्यो मृत्युले गर्दा अमेरिकामा बस्नेमात्र होइन, स्वदेशमा रहेका हामी नेपालीजनमा पनि भय बढ्दो छ।
भारत र नेपालको हालत!
भारत र नेपाल पनि कोरोनाबाट अछुतो रहेनन्। करिब दुई हप्ता भयो भारत पिरोलिन थालेको। तर नेपाल पिरोलिन थालेको भने यही हप्तादेखिमात्र हो । गत आइतवार (चैत ९) सम्म नेपालले कोरोना नभएको देश भनेर ‘हरित स्टिकर’ पाउँदै थियो। तर सोमवार चैत १० का दिन फ्रान्सबाट फर्केकी एक १९ वर्षे युवतीमा पहिलोपटक कोरोना संक्रमण देखियो। त्यसपछि हाम्रो ‘हरित स्टिकर’ हट्यो। ती युवतीसँग आएका १२५ जनामा पनि कोरोना छ कि भनेर परीक्षण भइरहेको छ। सबैजना आइसोलेसन र क्वारेन्टाइनमा छन्। हालसम्म जम्मा ३ जना नेपालीलाई कोरोनाले छोएको छ, तर भगवानको कृपा प्राप्त भइरहेछ नेपाललाई–अहिलेसम्म कोरोनाबाट एकजनाको पनि मृत्यु भएको छैन। यस हिसाबले मार्च २७ तारिखसम्म हामी निकै भाग्यमानी हौं । हामी प्रार्थना गरौं कोही पनि नमरोस् कोरोनाबाट। संक्रमित ती ३ जना पनि छिट्टै निको भएर गुलाफको फूल लिई घर फर्कने छन् । आफ्नो घर, टोल, समाज, स्थानीय पालिकालाई मात्र होइन सारा देशलाई खुसीको संकेत दिनेछन्। आशावादी बनौं । योभन्दा उत्तम उपाय के हुन सक्छ अहिले?
हामी पूर्ण सुरक्षित पक्कै छैनौं। किनकि छिमेकी भारतमा पनि संक्रमण नजानिँदो पाराले बढिरहेको छ। आजसम्म २० जनाको ज्यान गइसक्यो। करिब ८ सय जनामा संक्रमण देखिएको छ। भारतबाट थुप्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू गत एक हप्तामा नै हजारौंको संख्यामा लगभग सबै प्रदेश र ७५३ वटै पालिकामा भित्रिनुभएको छ। उहाँहरूको समयमै परीक्षण गर्ने, क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने र लक्षण देखिएमा तुरुन्त जाँच गराउने काम हाम्रो प्राथमिकतामा पर्नुपर्छ। गत चार दिनदेखि हामी एकहप्ते लकडाउनमा छौं। लकडाउनमा बसेर हामीले नियम पालना गरिरहेका छौं। पहिलो दिनभन्दा दोस्रो दिन, दोस्रो दिनभन्दा तेस्रो दिन लकडाउन अति सफल बनिरहेको छ। यो हामी सबैको खुसीको कुरा हो। हामी सबल बनौं, सजग बनौं, नेपाललाई सफल राष्ट्र बनाऔं।
अन्त्यमा, हाम्रो सरकारका सक्रिय नेता तथा कर्मचारीहरू, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मीहरू, मिडियाकर्मीहरू, बैङ्किङ्ग कर्मचारीहरू, जिम्मेवार व्यापारी र उद्योगीहरू सबै यतिबेला हाम्रो लाखौंलाख सलाम खाने ‘असल पात्र’ बन्नुभएको छ। हामी ‘लकडाउन’मा छौं, तर उहाँहरू ज्यानको बाजी लगाएर दिन नभनेर, रात नभनेर नेपालीजन र नेपाल देशको शान, मान र इज्जत जोगाउन लागिपरेको अवस्था छ। उहाँहरूको जति प्रशंसा गरे पनि कमै हुन्छ।
अब हामी सबैको ध्यान ‘लकडाउन’ लम्बिएर खान–लाउन नपाई अप्ठेरो पर्न सक्ने सीमान्तकृत गरिब वर्ग, मजदूर, साना किसान, एकल वृद्धवृद्धा, असहाय/ असक्तजन, बालबालिका, विकट हिमाली क्षेत्रका बासिन्दा र लामो समयदेखि अन्य रोगले ग्रस्त बन्नुभएका परिवारजनमा जानु जरुरी छ। पछिल्लो समयमा राजनीतिक पार्टीहरूको चासो पनि यस दिशामा बढेको छ। नागरिक समाजको भूमिका अझ बढी अपेक्षित छ। हामी सबै जुटेमा कोरोनालाई अवश्य परास्त गर्न सक्नेछौं। आशावादिता जगाऔं, नियममा बसौं, आ-आफ्नो हैसियतबाट चासो, चिन्तन र सक्रियता बढाऔं। बस् आजलाई यत्ति!
लेखक चेतनाथ कणेल “हरित” पर्यटन बिशेषज्ञ हुनुहुन्छ।
सम्पर्क इमेल : [email protected]
लेखकका पूर्व प्रकाशित बिचार:-
“होमस्टे पर्यटन प्रर्बद्धनका लागि तत्काल गर्नुपर्ने १२ काम”
प्रकाशित : २०७६ चैत १४ गते २०:०३
Facebook Comment