लक डाउनमा घरमै बसेर हेर्नुहोस नाटक

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १५ गते ०:०६
लक डाउनमा घरमै बसेर हेर्नुहोस नाटक

काठमाडौं। ‘लक डाउन’को समयलाई मध्यनजर गर्दै विश्व रङ्गमञ्च दिवसको अवसर पारेर भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ। 

थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लागेको हो। 

‘कोभिड–१९को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोंच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए।

“तर, यो महोत्सव भर्चुअल  हुनेछ। हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ। घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ”, उनले भने।
हरेक साँझ ठीक ५ बजे थिएटर मलको अफिसियल फेसबुक पेजबाट एउटा नाटक देखाइनेछ।

थिएटर मल तथा टीसीसी नेपालका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, “सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येय हो। यसले रङ्गमञ्चका कलाकार र दर्शकबीच अन्तरक्रियाको अवसर पनि सिर्जना गर्छ।”

महोत्सवको पहिलो दिन विश्व रङ्गमञ्च दिवसको सन्देश वाचन गरिने र सम्भव भएसम्म अग्रजहरूको रेकर्डेड शुभकामना सन्देश पनि नाटकअघि देखाइने उनले जानकारी दिए।

“यस्तो विपद, दुःख र भिन्न वातावरणमा नेपाली रङ्गमञ्चले पनि खास केही गर्न सक्ने अवस्था छैन। रङ्गमञ्च आफैंमा त्यस्तो जटिल माध्यम हो जसले दर्शक र जनतासँग नाटकमार्फत् प्रत्यक्षमात्र सञ्चार र संवाद गर्न सक्छ। त्यसकारण रङ्गमञ्चले यो बेला नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन”, उनी भन्छन्, “तर, पनि यस्तो संकटपूर्ण र जटिल अवस्थामा दर्शक र रङ्गप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडिओ फेसबुकको भित्तामा प्रस्तुत गर्दैछौं। यसबाट थिएटरको वास्तविक आनन्द, अनुभूति र अनुभव लिन नसकिए पनि क्वारेन्टाइन अवधिलाई रङ्गमञ्चसँग जोडिरहन मद्दत गर्छ भन्ने विश्वास छ।”

उनले ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा आफ्ना नाटकको भिडिओसहित सहभागी हुन सबै रङ्गकर्मीहरूलाई आग्रह पनि गरेका छन्। 

महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ। विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चकै दिन शुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ। महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सब स्लोगन ‘फाइभ पिएम, इट्स थिएटर टाइम’ रहनेछ।

लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ। उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ प्रस्तुत गरिनेछ।

थिएटर मलकै नाटकबाट शुरू गरेर अरू इच्छुक थिएटरहरूका नाटक पनि पालै–पालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए। उनले भने, “लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठीक समयमा हुनेछ र थिएटरकै नियमहरू लागू हुनेछ।”

उनले लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउनसमेत आग्रह गरे। 

फेस्टिभल संयोजक सञ्जिता पराजुलीका अनुसार लाइभ स्ट्रिमिङ भएका नाटकको भिडिओ डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ। त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानून लागू हुने उनले बताइन्। उनी भन्छिन्, “हामीलाई थाहा छ–हामीले यो समयमा जे काम गर्दैछौँ, रङ्गमञ्चका दर्शकको मनोभावना बुझरै गर्दैछौँ। उहाँहरू जिम्मेवार हुनुहुन्छ भन्ने विश्वास छ। सिर्जनामाथिको सर्वाधिकारलाई उहाँहरूले सम्मान गर्नुभएको छ र गर्नु हुने नै छ।”

फेस्टिभलको लाइभ स्ट्रिमिङ संयोजन रमेश भट्टराईले गर्दैछन्। अन्य बेलाको महोत्सवमा जस्तै यसमा पनि नाटक शुरू हुनुअघि उद्घोषण हुने उनले बताए। “त्यस अवधिमा ‘कोरोना भाइरस (कोभिड–१९) बारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमहरू समेत उद्घोषण गरिनेछ”, उनले भने। 

नाटकको समयावधि १ घण्टादेखि २ घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडिओ सार्वजनिक रूपमा शेयर गर्न सकिने उनले जानकारी दिए। लाइभ स्ट्रिमिङपछि थिएटर मलकै फेसबुक पेजमा अन्तरक्रिया गर्न सकिनेछ।

फेस्टिभलबारे बढीभन्दा बढी रङ्मञ्चप्रेमीलाई सूचना पुगोस् भन्ने हेतुले सामाजिक सञ्जालमा राख्न जानकारीमूलक प्रचार सामग्री तयार पारिएको पब्लिसिटी डिजाइन संयोजक सुजिता महर्जनले बताइन्। त्यसलाई बढीभन्दा बढी शेयर गरिदिनु हुन पनि उनले आग्रह गरिन्। 

प्रकाशित : २०७६ चैत १५ गते ०:०६
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI