No ads found for this position

सामाजिक संजालमा समाचार प्रकासनमा काउन्सिलको कडाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १५ गते १०:२९
No ads found for this position
सामाजिक संजालमा समाचार प्रकासनमा काउन्सिलको कडाई
No ads found for this position

काठमाडौं, १५ चैत

प्रेस काउन्सिल नेपालले कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी गरेको छ ।

निर्देशिकामा विश्वब्यापीरुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वहरु समेटिएका छन् ।

निर्देशिकामा सत्य–तथ्य र आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना सम्प्रेषण गर्न, व्यक्तिगत गोपनीयतामामा ध्यान दिन, लाञ्छना वा आरोप नलगाउन, डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई स्थान नदिन, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न भनिएको छ । साथै, संक्रमित व्यक्तिको दृश्य र तस्बिर प्रकाशन वा प्रसारण नगर्न र गल्ती सच्याउन पर्दा पनि तत्परता देखाउन भनिएको छ ।

निर्देशिकामा सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमणसम्बन्धी समाचार, जानकारी वा लेख/कमेन्टहरूलाई शेयर, लाइक वा रिट्विट गरी पुन: प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकतासमेतको ख्याल गरी सम्प्रेषण गर्न भनिएको छ ।

काउन्सिलले नियमितरुपमा अनुगमन गर्ने उल्लेख गर्दै निर्देशिकामा यस बिपरित गरिएको भेटेमा कारबाही गरिने उल्लेख गरिएको छ ।

निर्देशिका

प्रेस काउन्सिल नेपालद्वारा कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीको निम्ति निर्देशिका जारी

प्रेस काउन्सिल नेपालद्वारा पत्रकार र सञ्चारमाध्यमका लागि जारी निर्देशिका, २०७६ विश्वब्यापीरुपमा महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा सञ्चारमाध्यम र पत्रकारलाई तुरून्तै लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ दफा ७ को खण्ड (ख) द्वारा प्रदत्त अधिकारबमोजिम नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका २०७६ जारी गरेको छ ।

कोरोनाको महामारीविरुद्ध समाचार सम्प्रेषण गर्दा पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने दायित्वः

(१) सत्य–तथ्य र आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्नुपर्दछ । (२) पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत् प्रवाह गर्ने कोरोना संक्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारीहरू मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । (३) सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमणसम्बन्धी समाचार, जानकारी वा लेख/कमेन्टहरूलाई शेयर, लाइक वा रिट्विट गरी पुन: प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकतासमेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्दछ ।

(२) व्यक्तिगत गोपनीयतामामा ध्यान दिनुपर्ने : पत्रकार तथा सञ्चारमाध्यमले आशंकित वा संक्रमितको आशंका गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनु पर्दछ । कोरोना भाइरसको शंका भएकाको परिचय गोप्य राख्नुपर्दछ । साथै सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्वन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिक गर्नु हुँदैन ।

(३) लाञ्छना वा आरोप लगाउन नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । यसैगरी कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्थाजस्ता कुनैपनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।

(४) डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई स्थान दिन नहुनेः पत्रकार तथा सञ्चारमाध्यमले कोरोना संक्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनाधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लाहरुलाई स्थान दिनु हुँदैन । पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनु पर्दछ ।

(५) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने: (१) पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजिकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नुहुँदैन ।

(६) दृश्य र तस्बिर प्रकाशन वा प्रसारण गर्न नहुने : पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरू सम्प्रेषण गर्नुहुँदैन ।

(७) गल्ती सच्याउन तत्परता : पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्वन्धी समाचार सामग्रीमा कुनैपनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चारमाधयमबाट सार्वजनिक जानकारी गराउनु पर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्चाउन दिएको निर्देशनको तत्काल पालना गर्नु पर्दछ ।

(९) प्रेस काउन्सिलले अनुगमन तथा कारवाही गर्ने : पत्रकार तथा सञ्चारमाध्यमले यो निर्देशिकाको पालना गरे नगरेको प्रेस काउन्सिल नेपालले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित-२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्ने छ ।

प्रकाशित : २०७६ चैत १५ गते १०:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI