इटाली : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो ! (अपडेट)

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १६ गते ७:०८
इटाली : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो ! (अपडेट)

कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ। अहिलेसम्म इटालीमा १०,०२३ जनाले ज्यान गुमाइसकेका छन्। इटालीमा हालसम्म ८२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ। संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३,८५६ जनाको अवस्था चाहिँ गम्भीर रहेको छ।

त्यसो त इटाली नै त्यो देश पनि हो, जहाँ कोरोनाभाइरसको संक्रमणको शिकार बनेका १०० वर्ष नाघेकी एक महिला पनि सफलतापूर्वक निको भएर घर फर्किसकेका छन्।

उता कोरोनाभाइरसको प्रकोप स्पेनमा पनि तीब्र रुपमा देखापरेको छ। गएको २४ घण्टाभित्र मात्रै स्पेनमा यही संक्रमणको कारण ८३२ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म स्पेनमा ५,८१२ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनमा कोरोनाभाइरसले ७२,२४८ जनालाई संक्रमित तुल्याएको छ जसमध्ये १२,२८५ जना निको पनि भएका छन् । बाँकी रहेका संक्रमितहरुमध्ये ४,१६५ जनाको अवस्था गम्भीर रहेको छ।

उता संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितहरुको संख्या १,१६,०५७ पुगेको छ । संख्याको हिसाबले संसारभरिमै सबैभन्दा बढी संक्रमित हुनेहरुको देशमा अमेरिका पहिलो र इटाली दोस्रो हुन पुगेको छ । कोरोनाभाइरस सबैभन्दा पहिले देखापरेको देश भने संक्रमितरुको संख्याको आधारमा तेस्रो नम्बरमा रहेको छ ।

तर चीनमा ठूलो संख्यामा संक्रमितहरु निको पनि भइसकेका छन् । चीनमा कूल ८१,३९४ जना संक्रमित भएकोमा ७४,९७१ जना निको भइसकेका छन् भने अहिले त्यहा ३,१२८ जना उपचाररत रहेका छन् । उपचाररतहरुमध्ये ८८६ जनाको अवस्था गम्भीर रहेको छ ।यसबीच चीनमा संक्रमितहरुको संख्या निक्कै बढी रहेको तर चीन सरकारले त्यसलाई लुकाएको आरोप अमेरिकाले लगाइसकेको छ । तर चीन सरकारले त्यसको खण्डन गरेको छ । 

प्रकाशित : २०७६ चैत १६ गते ७:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI