No ads found for this position

समाचार कोभिड–१९ बारे अहिलेसम्म पत्ता नलागेका कुराहरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १६ गते १३:०९
No ads found for this position
No ads found for this position

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर फैलिएको छ । भाइरसका कारण विश्वभर ३० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यो भाइरसको संक्रमण रोकथामका लागि विश्वभर विभिन्न प्रयास भइरहेको छ ।

तर, वैज्ञानिकहरुको अथक प्रयासकाबीच पनि कोरोना भाइरसबारे धेरै कुरा थाहा पाउन सकिएको छैन । यो रोगबाट अहिलेसम्म पत्ता नलागेका प्रश्नहरु यहाँ उल्लेख गरिएको छ :

१. कति मानिस प्रभावित छन् ?

यो सबैभन्दा आधारभूत तथा महत्वपूर्ण प्रश्न हो । अहिले विश्वभर छ लाखभन्दा बढी मानिस संक्रमित भएको पुष्टि भएको छ । तर, यो संख्या समग्र संक्रमितको केही भाग मात्र हो । किनकी कुनै लक्षण नदेखिएका मानिसहरु पनि संक्रमित हुने गरेको पाइएको छ । यस्तो अवस्थामा मानिसलाई रोग लागिसकेको हुन्छ । तर, वास्तवमा उनीहरुलाई यो कुरा थाहा हुँदैन ।

तर, अहिले विकास भइरहेको एन्टिबडी परीक्षणले सबै मानिसमा यो भाइरस रहेनरहेको भन्ने परीक्षण गर्न सकिन्छ । त्यसपछि मात्र कसरी यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

२. कत्तिको प्राणघातक छ ?

हरेक दिन सयौंको संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने गरेको छ । मृत्यु हुनेहरुको संख्या पनि बढ्दो छ । तर, वास्तविक मृत्युदर पत्ता लाग्न सकेको छैन । एउटा समयमा संक्रमितमध्ये एक प्रतिशत मानिसको ज्यान जाने गरेको बताइएको थियो । तर, अत्यधिक मात्रामा लक्षण नदेखिएका संक्रमित पनि रहेकाले मृत्युदर अझै कम हुनसक्ने बताइएको छ ।

३. पूरा लक्षण

यो भाइरसको मुख्य लक्षण ज्वरो आउने र सुख्खा खोकी लाग्ने हो । केही संक्रमितमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला पनि लाग्ने गरेको पाइएको छ । त्यस्तै भाइरसका संक्रमितले गन्ध थाहा पाउने शक्ति पनि गुमाएको बताइएको छ । सबैभन्दा महत्वपूर्ण प्रश्न के हो भने अहिले यो भाइरसका सामान्य संक्रमितमा पनि रुघाखोकीजस्तो लक्षण देखिएको छ । तर, कुनै लक्षण नै नदेखिए पनि भाइरसको संक्रमण हुनसक्ने पनि पुष्टि भइसकेको छ ।

४. बालबालिकाको भूमिका

बालबालिकामा पनि कोरोना भाइरसको संक्रमण हुनसक्छ । अहिलेसम्म बालबालिकामा धेरैजसो भाइरसको सामान्य संक्रमण देखिएको छ । अन्य उमेर समूहको तुलनामा यो भाइरसबाट मृत्यु हुने बालबालिकाको दर पनि कम छ ।

तर, यो रोग फैलाउन बालबालिकाको भूमिका भने अझै स्पष्ट हुन सकेको छैन । सामान्य हिसाबमा यस्ता संक्रामक रोग फैलनुमा बालबालिकाको ठूलो भूमिका हुन्छ । तर, कोरोना भाइरसमा भने उनीहरुको भूमिका पत्ता लागेको छैन ।

५. कहाँबाट आयो ?

यो भाइरस सबैभन्दा पहिले चीनको वुहान शहरमा सन् २०१९ को अन्तिममा देखिएको थियो । वुहानको जनावर व्यापार हुने क्षेत्रबाट यो भाइरस फैलिएको थियो ।

आधिकारिक रुपमा सार्स–कोभ–२ नाम दिइएको यो भाइरस चमेरामा पनि देखिने भाइरस हो । त्यसैले चमेराबाट अर्को कुनै जनावरमा सरेको र त्यसपछि मानिसमा आएको अनुमान गरिएको छ । तर, अझै पनि चमेराबाट मानिसमा यो भाइरस ल्याउने माध्यम नै हो भन्ने पत्ता लाग्न सकेको छैन । यसले आगामी दिनमा अरु मानिसमा संक्रमण फैलाउनसक्ने आशंका छ ।

६. गर्मीयाममा भाइरस हराउँछ ?

रुघाखोकी तथा मौसमी फ्लु सामान्यतया गर्मीयाममाभन्दा पनि जाडो मौसममा बढी देखिन्छ ।

तर, अहिलेसम्म गर्मीयाममा यो भाइरस फैलिन्छ वा फैलिँदैन भन्ने कुरा पुष्टि भएको छैन । केहीले भने यो भाइरसले मौसमी असर पनि देखाउन सक्ने चेतावनी दिइसकेका छन् । यो भाइरस गर्मीयाममा पनि नियन्त्रणमा आएन भने जाडो मौसममा यसले थप जटिल अवस्था निम्त्याउन सक्ने उनीहरुले बताएका छन् ।

७. केही मानिसमा किन चिन्ताजनक लक्षण देखिन्छ ?

धेरैलाई कोभिड–१९ को सामान्य संक्रमण मात्र देखिने गरेको छ । तर, करिब २० प्रतिशत मानिसमा यो भाइरसको चिन्ताजनक लक्षण देखिएका छन् । तर, किन त ? त्यसमा मानिसको रोग प्रतिरोधात्मक क्षमता र वंशाणुगत कारण हुनसक्ने बताइएको छ ।

८. कति समयमा प्रतिरोधी क्षमता सकिन्छ ?

अहिलेसम्म यस विषयमा धेरै आशंका देखिएको छ । तर, केही तथ्यहरु पनि फेला परेका छन् । हाम्रो शरीरमा कति समयसम्म यो भाइरस रहनसक्छ भन्ने कुरा मानिसको प्रतिरोधी क्षमतामा निर्भर गर्छ । आफ्नो प्रतिरोधी क्षमता बढाउँदै यो रोगसँग सजिलै लड्न सकिन्छ । लामो समयको तथ्यांक उपलब्ध नभएकाले दीर्घकालीन असरबारे भने अहिलेसम्म अध्ययन हुनसकेको छैन ।

तर, कोरोना भाइरसको संक्रमण निको भइसकेपछि पनि पुनः सोही व्यक्तिलाई यो संक्रमण देखिनसक्ने पुष्टि भएको छ । रोग प्रतिरोधी क्षमताको प्रश्न दीर्घकालीन रुपमा यसको असर बुझ्न निकै महत्वपूर्ण सावित हुनसक्छ ।

९. रुप परिवर्तन होला ?

भाइरसहरुले आफ्नो रुप परिवर्तन गरिरहेका हुन्छन् । तर, उनीहरुको वास्तविक प्रकृतिमा ठूलो अन्तर देखिँदैन । सामान्य नियमअनुसार दीर्घकालीन रुपमा भाइरसको प्रकोप घट्दै जान्छ । तर, यसको कुनै ग्यारेन्टी भने छैन ।

कोरोना भाइरसले आफ्नो रुप परिवर्तन ग¥यो भने हाम्रो रोग प्रतिरोधी क्षमताले यसलाई बुझ्न सक्दैन र विशेष खोपले पनि काम गर्दैन । जुन अहिले फ्लुमा देख्न सकिन्छ ।

बीबीसीको सहयोगमा

प्रकाशित : २०७६ चैत १६ गते १३:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI