देवचुली नगरपालिकाले बाडयो २ सय परिवारलाई खाद्य सामाग्री

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १८ गते २०:२१
देवचुली नगरपालिकाले बाडयो २ सय परिवारलाई खाद्य सामाग्री

खगेन्द्र पराजुली, १८ चैत्र, नवलपुर । 
देबचुली नगरपालिकाले दैनिक गुजारा चलाउन मुस्किल नगर क्षेत्रका बिपन्न नागरीकलाई राहत बितरण शुरु गरेको छ । आज मंगलवार नगरको सबैभन्दा बढी बिपन्नको संख्या रहेको देबचुली १७ स्थित रजहरका बोटे, माझी, मुसहर बस्तीवाट राहत बितरण शुरु गरेको हो । 
देबचुलीको वडा नम्वर १६ र १७ साबिक रजहर क्षेत्रका करीव २ सय परिवारलाई खाद्य सामाग्री बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । 


वहाँका अनुसार ४ देखी ६ जना सदस्य रहेको प्रति परिवारलाई २५ केजी चामल, एक किलोको एकपोका  आयोनून र एक केजी दाल  बितरण गरिएको बताउनुभयो । 
प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार भोेली र पर्सीसम्ममा देबचुलीका सबै वडामा राहत खाद्य  सामाग्री बितरण गरिसक्ने जानकारी दिनुभएको छ । 
नगरभरीका दैनिक ज्यालामजदुरी गरी छाक टार्ने ७ सय परिवार संख्याका लागी खाद्य सामाग्री बितरण गर्ने योजना रहेपनि वडागत तथ्याङ्कमा केही बृद्धि भएकाले सो तथ्याङ्कमाथी छानबिन समेत भईरहेको बताउनुभएको छ । 


वहाँले अहिले बितरण गरिने राहत खाद्य सामाग्री देबचुली उद्योग बाणिज्य संघको १ लाख, जागृति बाल तथा युवा सरोकार नेपालको १ लाख र गुरु प्रसाद गौतम स्मृति प्रतिष्ठानको ५४ हजार रुपैया बरावरको खाद्य सामाग्रीमा नगरपालिकाको तर्फबाट समेत थप गरी बितरण गर्न शुरु गरिएको बताउनुभयो । 
यस्तै, तत्कालका लागी खाद्य सामाग्री आपुर्तिको जिम्मा लिनुभएका देबचुली उद्योग बाणिजय संघका अध्यक्ष रेशमलाल सापकोटाले आज २५ केजीका २ सय बोरा सोना मन्सुली चामल, २५ केजी कै ८ बोरा मसुरोको दाल र ५० केजीका ४ बोरा नून पठाएको बताउनुभयो । 
अध्यक्ष सापकोटाले यो राहत प्याकेज १ हजार २ सय रुपैया बरावरको रहेको बताउनुभयो । 
यस्तै,  सोही देबचुली १७ पिप्रहर दिवार टोल स्थित बोटे, माझी र मुसहर बस्तीमा रहेका २६ घरपरिवारलाई सोमबार देबचुली १५ प्रगतिनगरका केही स्थानीयले प्रति परिवार आठ के जी चामल र एक के जी दालसहयोग गरेका थिए । 
हिजो प्रगतिनगरका जीवन श्रेष्ठ, राजकुमार श्रेष्ठ, रिम बहादुर आले, जय बहादुर थापा, ऋषि लम्साल, बनुमाधब भट्टराइ, बिष्णु खरेल, सन्तोस ढकाल, रोशन राउत, तिलक घर्तिले राहत बितरण गरेका हुन् । उनीहरुले सरकारी तवरबाट प्राप्त हुने सहयोग प्रक्रियागत रुपमा ढिलो हुनसक्ने भएकाले ब्यक्तिगत रुपमै सहयोग गरेको बताएका थिए । 

प्रकाशित : २०७६ चैत १८ गते २०:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI