स्पेनमा थप तीन नेपालीमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १९ गते ६:४६
स्पेनमा थप तीन नेपालीमा कोरोना संक्रमण

स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ। यसअघि ४ जनामा संक्रमण देखिएको थियो । योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ।२ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको नेपाली समुदायका अगुवाहरुले बताएका छन् ।

संक्रमितहरुमध्ये बार्सिलोनास्थित सान्तपाओं अस्पतालमा एक जना, हस्पिटल दे सान्त खोवान देस्पिमा २ जना, भालदेब्रन युनिभर्सिटी अस्पतालमा १ जना र हस्पिटल दे मारमा १ जनाको उपचार भइरहेको छ।

बिगत चार दिनयता नयाँ ३ जना संक्रमितहरु थपिएका हुन्। उनीहरु सबै स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका छन्। संक्रमितमध्ये ६ जना पुरुष र एक महिला रहेका छन्।

एक सातादेखि आईसीयूमा उपचार गराइरहेका एक नेपालीको स्वास्थ्यमा भने सुधार आएको छ । एनआरएनए स्पेनका पूर्वअध्यक्ष भिष्मकुमार गुरुङ (अनिल)ले दिएको जानकारी अनुसार उनलाई मंगलबारदेखि आईसीयूबाट जनरल वार्डमा सारिएको छ। गुरुङले भने, ‘दिनको एकपटक डाक्टरले फोन गरेर जानकारी दिने गरेको छ । उहाँको स्वास्थ्यमा सुधार आएको छ ।’

स्रोतका अनुसार संक्रमितहरु ६ वटा छुट्टाछुट्टै परिवारका हुन् । उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरु पनि स्वास्थ्य परीक्षण गर्न अस्पताल पुगेका थिए ।

स्पेनमा झण्डै १० हजार नेपालीहरु छन्। क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बस्दै आएको अनुमान छ ।

गत १४ मार्चदेखि पुरै देश लकडाउन गरेपनि स्पेनमा कोरोनाको महामारी अझै नियन्त्रण हुन सकेको छैन । मंगलबारसम्म ९४ हजार ४१७ जना संक्रमित भएका छन्। स्पेनको स्वास्थ्य मन्त्रालयले ८ हजार १८९ जनाको मृत्यु भएको पुष्टि गरेको छ। तर झण्डै २० हजार मानिसहरु उपचारपछि निको भएर घर फर्किएका छन्। स्रोत- अनलाईनखबर डटकम

प्रकाशित : २०७६ चैत १९ गते ६:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI