No ads found for this position

कोरोना अस्पताल बुटवलमा मृत्यु भएका थापाको शव उठेन

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २० गते ०:०२
No ads found for this position
कोरोना अस्पताल बुटवलमा मृत्यु भएका थापाको शव उठेन
No ads found for this position

बुटवल धागो कारखानामा निर्माण गरिएको काेरोना विशेष अस्पतालमा १६ चैतमा मृत्यु भएका बाबुराम थापाको शव अझै उठेको छैन । पाल्पा रब्दीकोट गाउँपालिका–५ घर भई रुपन्देहीको सैनामैना नगरपालिकामा अस्थायी रूपमा बस्दै आएका थापा १३ चैतमा अस्पताल भर्ना भएका थिए । वैदेशिक रोजगारीबाट फर्किएका थापामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । तर, रिपोर्ट नआउँदै उनको १६ चैतमा मृत्यु भएको थियो ।

कोरोनाको कारण मृत्यु भएको आशंकामा मृत्यु भएकाे दिन कोही पनि आफन्त अस्पताल आएनन् । मृत्यु भएको दोस्रो दिन भने उनलाई कोरोना नभएको रिपोर्ट आयो । 

आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिको राम्रो प्रबन्ध नगरिएको स्थानमा राखेर उपचारमाहेलचेक््रयाइँ  गरेको भन्दै अहिले थापाकी श्रीमती रीताले मृत्युको कारण खुलाउन र क्षतिपूर्ति दिन माग गरेकी छिन् । मृत्युको कारण र क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव नउठाउने पनि उनले स्पष्ट पारेकी छिन् । तर, लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पनि थापाको के कारणले मृत्यु भएको हो भन्ने थाहा पाउन नसकिएको बताए ।

कोरोना अस्पताल, प्रचार मात्रै बढी
कोरोना भाइरस (कोभिड– १९) संक्रमण देखिए उपचार गर्न भन्दै देशका विभिन्न स्थानमा कोरोना विशेष अस्थायी अस्पताल निर्माण भइरहेका छन् । यही क्रममा बुटवलमा पनि धागो कारखानाको भवनलाई काेरोना विशेष अस्पताल बनाइएको छ । तर, सेवा गुणस्तरीय बनाउनेबारे कुनै ठोस काम हुन सकेको छैन । जसका कारण आइसोलेसनमा राखिएका थापाको मृत्यु भएको भन्दै आलोचना भइरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले कोरोना विशेष अस्पतालमा विशेषज्ञसहितका डाक्टरहरू खटिएको दाबी गरे । कोरोना विशेष अस्पताल अझ व्यवस्थित बनाउनेतर्फ पनि काम भइरहेको उनको जिकिर छ । 

तातोपानीसमेत खान नपाई श्रीमानको मृत्यु भयो : श्रीमती रीता थापा
ज्वरो आएपछि उहाँ जचाउन बुटवल जानुभएको हो । उहाँले अस्पतालबाट राम्रो व्यवहार नभएको बताउनुभएको थियो । त्यहाँ तातोपानीसम्म दिएनन् भन्नुभएको थियो । तातोपानीसमेत नदिनेले अन्य हेरचाह के गरे होलान् । मेरो श्रीमानको उपचार नपाएरै ज्यान गएको हो । धेरै नै लापरबाही गरे । कोरोना भन्दै राम्रो हेर्दै हेरेनन् ।

कोरोना नै भएका भए पनि थुप्रै मान्छे सन्चो भएका छन् । उहाँ त्यस्तो सिकिस्त पनि हुनुहुन्थेन । राम्रो हेरचाह भएको भए उहाँ बाँच्नुहुन्थ्यो । त्यति टाठो मान्छेको उपचार नपाएर मृत्यु भएपछि हामी धेरै अन्यायमा परेका छौँ । यत्रो लापरबाही हुँदासमेत सरकारी निकायबाट सोध्ने काम भएको छैन ।

घरपरिवारको रेखदेख गर्ने, कमाउने नै उहाँ हुनुहुन्थ्यो । अस्पतालको लापरबाहीका कारण उहाँको मृत्यु भएको हो । अस्पतालले मृत्युको कारण खुलाएर क्षतिपूर्ति नदिएसम्म हामी शव बुझ्दैनौँ ।

नयाँ पत्रीकाको अनलाइन संस्करण बाट

प्रकाशित : २०७६ चैत २० गते ०:०२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI