समाचार हटाएको घटनाको छानबिन गर्न पत्रकार महासंघको माग
NAWALPUR TIMES प्रकाशित : २०७६ चैत २० गते १५:४३
काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौंप्रेस डटकम अनलाइनको समाचार सेवा प्रदायक कम्पनीले हटाएको विषयमा छानबिन गर्न माग गरेको छ । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले समाचार हटाउन दबाब दिएको र नमानेपछि सेवा प्रदायक कम्पनीलाई दबाब दिएर समाचार हटाउन लगाएको भनी काठमाडौं प्रेसले महासंघलाई जानकारी गराएको छ ।
‘महासंघ राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछ’ महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा समाचारमा चित्त नबुझे वा कुनै गुनासो भए खण्डन गर्ने र त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदा हुँदै समाचार हटाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ ।
त्यस्तै अनलाइन पत्रकार संघले पनि विज्ञप्ती जारी गरी घटनाको विरोध जनाएको छ । संघले घटनाको छानविन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिन यस्ता कार्य नगर्न नगराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । संघले अबका दिनमा अनलाइन संचारमाध्यमहरुले पनि साइट डेभलपरसँग कानुनी रुपमा स्पष्ट सम्झौता गरी काम गर्न गराउन र सचेत हुन आग्रह गरेको छ ।
Facebook Comment