आजबाट चितवनमा कोरोना परिक्षण हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २२ गते ९:५०
आजबाट  चितवनमा कोरोना परिक्षण हुँदै
doctor in the laboratory with a blood tube for analysis and sampling of Coronavirus under the microscope / microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

चितवन – राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा आजबाट कोरोना भाइरस (कोभिड -१९)को परीक्षण हुने भएको छ। पीसीआर मेसिनबाट परीक्षणको काम शुरु गर्न लागिएको हो। यसअघि गत बुधबार स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली आएर बिहीबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो। सो प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलीले निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालानै उपयुक्त भएको जनाएको थियो।

यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति लिएर शुक्रबार बिहानबाट काम थालिएको हो। मन्त्रालयबाट आएको टोलीका प्रमुख नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार आजैबाट काम थालिएको छ। पिसिआर ल्याब रामपुरबाट ल्याइँदै छ। बायोसेफ्टी क्याबिनेट एउटा यही छ भने अर्को मन्त्रालयबाट झिकाईएको छ। विज्ञ दुई जना जिल्लामा नै रहेको उनले जानकारी दिए।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा मदन पाण्डे र चितवन मेडिकल कलेजका डा ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याइने छ। उनीहरुलाई आवश्यक पर्ने अन्य जनशक्ति यही उपलब्ध हुने बताइएको छ। मन्त्रालयले किट, रिएजेन्ट, आवश्यक रसायनसहितका अन्य सामान आजै पठाउने खनालले जानकारी दिए।भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो। महानगर प्रमुख रेणु दाहालले अस्थायी अस्पतालसमेत स्थापना भइसकेपछि परीक्षणसमेत यही गर्न गरिएको गृहकार्यअनुरुप काम भइरहेको जानकारी दिइन। अहिलेको सङ्क्रमण कालमा यहाँ ल्याब स्थापना गरिएको भए पनि दीर्घकालीनरुपमा सञ्चालनका लागि केही महिनामा नै भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने उनले बताइन।

भरतपुर महानगरपालिकाकै पहलमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा रहेको छ। सो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशङ्कामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ। दैनिक गाडीको प्रयोग गरेर पठाउनुपर्ने र नतिजा आउन ढिला हुँदा समस्या हुँदै आएपछि प्रयोगशाला यही स्थापना गर्न लागिएको दाहालले जानकारी दिइन।

रजिष्ट्रार खनालका अनुसार भरतपुरसँगै प्रयोगशालाको सङ्ख्या ११ पुगेको छ। सात प्रदेशमा एक/एक वटा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीरअस्पताल, धुलिखेल अस्पतालमा प्रयोगशाला स्थापना भई काम भइरहेको छ। रासस

प्रकाशित : २०७६ चैत २२ गते ९:५०
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI