पानीकै अभाव छ कसरी धोइरहने हात ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते ११:२४
पानीकै अभाव छ कसरी धोइरहने हात ?

एजेन्सी । पछिल्ला केही महिनामा हामीले सबैतिर बारम्बार सुन्दै आएका छौँ– “साबुन पानीले नियमित हात धोइरहनुपर्छ ।”  अझ विश्व स्वास्थ्य संगठनले त कम्तिमा पनि २० सेकेन्ड मज्जाले धोइरहन सुझाव दिएको छ ।  अहिले किटाणुको संक्रमणविरुद्ध लड्न यही तरिका सबैभन्दा उपयुक्त हुने भनिएको छ ।  तर चिकित्सकहरुले भनेअनुसार गर्ने हो भने हरेकचोटी हात धुँदा औसतमा पनि २ लिटर पानी खर्च गर्नुपर्ने हुन्छ । यसरी प्रतिव्यक्ति दैनिक १५ देखि २० लिटर हात धुनमै खर्च गर्न सक्ने, पानी आफूहरुसँग नभएको वाटर इनिसिएटिभ ओडिसा (भारत)का कन्भर्नर रन्जन पाण्डे बताउँछन् ।  यसरी विश्वका २.२ अर्ब मानिसहरु अहिले खानेपानीबाट वञ्चित छन् भने हात धुने पानीको त कुरै नगरौँ ।  विशेषगरी कम र मध्यम आय भएका देशहरुमा पानीको चरम अभाव रहेको हुँदा कोरोनाविरुद्ध हात धुनु उनीहरुका लागि अर्को ठुलो युद्धसमान अवस्था बनेको छ । 

खडेरी, जलवायु परिवर्तन, अव्यवस्थित प्रणालीलगायत विभिन्न कारणले यी देशहरुमा पानीको अभाव हुने गरेको छ ।  यस्तोमा साबुन पानीले हात धोइरहनुले कोरोनासँग लड्नमा उल्लेखनीय भूमिका खेल्ने चिकित्सकहरुले धेरैपटक बताइसके पनि त्यहाँका नागरिकहरुका लागि बारम्बार हात धुनु लक्जरी समान कुरा बन्न पुगेको छ । 

यसमा पनि हात धुँदा खानेपानी समान सफा र बगिरहेको धारामा धुन भनिएको छ जसपछि मात्र किटाणु पखालिन्छ । तर गरिबहरुका लागि त्यसरी हात धुनु धेरै महङ्गो र दिर्गकालीन रुपमा सम्भव छैन । यस्तोमा सार्वजनिक स्थलमा हात धुने ठाउँ निर्माण गर्नु सबैभन्दा उपयुक्त हुने बताइएको छ ।  जस्तै २०१४ मा इबोला भाइरस प्रकोपका बेला पश्चिम अफ्रिकामा  ठाउँठाउँमा हात धुने ठाउँ बनाइएको थियो । 

सरसफाइ र पानीको अभाव त्यसबेला सबैका लागि गम्भीर चिन्ताको विषय बनेको थियो ।  त्यो समय अफ्रिकाका अविकसित क्षेत्रमा यो समस्याको समाधान असम्भव ठानिएको थियो । 

यस्तोमा क्लोरिनको प्रयोग सबैभन्दा प्रभावकारी साबित भयो । क्लोरिनले धेरै किटाणुहरु मार्ने हुँदा हात धुने पानीमा यसको प्रयोग गरिएको थियो । यसरी यी मुलुकहरुमा अहिलेका अति प्रभावित क्षेत्र जसरी साबुनको कुनै कमी छैन तर पानी पाउन चाहिँ उनीहरुले ठूलै संघर्ष गर्नुपर्छ ।  भारतको कर्नाटकमा बस्ने ५२ वर्षीया यशोदा आफ्ना पति, चार छोराछोरी, कुकुर, बिरालो र एउटा कुखुरा पालेर १५० वर्ष पुरानो पुर्ख्यौली घरमा बसेकी छन् । 

उनको घर समुद्रबाट ५०० मिटर टाढा छ र इनारमा आउने पानी नुनीलो भएकाले उनी सरकारले दिनमा दुईपटक दिने गरेको ड्रमको पानीमा निर्भर छन् ।  तर त्यो पानी सरकारले भने जसरी नियमित आपूर्ति नहुँदा कतिपय अवस्थामा उनी हप्तौँ बिनापानीको गुजारा गर्नुपर्ने हुन्छ ।  यस्तोमा उनले छरछिमेक र साथीकहाँ गइ पानी मागेर ल्याउने गरेको बताउँछिन् । 

यसरी भारतमा मात्र ८ करोड बढी मानिसहरुले पानीको चरम अभावमा बाँचिरहनु परेको छ ।  विशेषगरी ६ देखि ८ जनासम्मको ठूलो परिवारका लागि पानीको दैनिक उपभोग धेरै सीमित गराउनुपर्ने हुन्छ ।  अर्थात् राम्ररी हात धुने हो भने पाँचजनाको परिवारलाई मात्र दिनमा १०० लिटर आवश्यक पर्छ जुन उनीहरुका लागि केबल सपनासरह हुन्छ । 

प्रकाशित : २०७६ चैत २५ गते ११:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI