कोरोनाले खुम्च्याएको ‘सहभागिता दिवस’ र नेपानको रजत–जयन्ती दिन!

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते १२:५०
कोरोनाले खुम्च्याएको ‘सहभागिता दिवस’ र नेपानको रजत–जयन्ती दिन!

चेतनाथ कणेल हरित

भारतीय प्रसिद्ध गायक सोनु निगमले नेपाली चलचित्रका लागि गाएको एउटा नेपाली गीत अति मर्मस्पर्शी छ। गीत भन्छ, ‘यो जिन्दगीले के गर्‍यो, के गर्‍यो….।”  ठिक त्यही गीतको लयमा आज मैले प्यारोडी बनाएँ भने यस्तो हुनेछ, ‘यो कोरोनाले के के गर्‍यो, के गर्‍यो……।”  

हामी अति प्रताडित छौं कोरोनाबाट, ७४ हजार बढि मान्छेलाई खायो यो विश्वबाट। अझ कति खाने हो! दिनदिनै तथ्याङ्क बढ्दैछन्। विश्वमा १३ लाख ४७ हजार भन्द बढि मानिस आजका दिनसम्म कोरोनाबाट संक्रमित भइसकेका छन्। नेपालमा पनि ९ जनामा कोरोना संक्रमण देखिएको छ। छिमेकी देश भारतमा पनि मर्नेकै संख्या करिब १०० पुग्यो। सबैतिर अझै बढ्ने हो कि भन्ने हामी हरेकका मनमा आशंका छ, आतङ्कको बास छ। भाग्यले आजका दिनसम्म नेपालमा कोरोनाकै कारण कसैले यो धर्ती छाडेर जानुपर्ने अवस्था आएको छैन। नआओस् पनि। त्यसकै लागि हामी सतर्क छौं, सजग छौं, घरभित्रै ‘लकडाउन’ अर्थात् एकान्तबासमा छौं।

लकडाउनको आज १५ औं दिनमा छौं हामी। यो अवधि अझै बढेर बैसाख ३ सम्म पुगेको अवस्था छ। लकडाउनका सवालमा भारतसँग हात मिलाएर अघि बढ्ने विकल्प हामीले नदेख्दा हुन्छ।दुबै देशका सीमा खुला हुँदै जाने र आन्तरिक हिँडडुलको चहलपहल बढ्ने हो भने स्थिति भयावह बन्न जाने डर छ।अमेरिका, बेलायतजस्ता देशमा समयमै लकडाउन नगर्नाले र स्वतन्त्र घुमघाम गर्ने ‘लोकतान्त्रिक’  प्रवृत्तिमाथि कडा नियम नलगाउँदा अहिले ती देश धुरुधुरु रोइरहेका छन्।

अमेरिकी राष्ट्रपति स्वयमले बेलाबेलामा राष्ट्रका नाममा बोल्दै भनेका छन्, ‘करिब १ देखि २ लाखसम्म मान्छे अमेरिकामा मर्न सक्छन्।’ राष्ट्रप्रमुखले नै यसो भनेपछि जनता आतङ्कित नहुने कुरै भएन। उता बेलायतमा राजकुमार चाल्र्सलाई पनि छाडेन कोरोनाले, प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि छाडेन। प्रधानमन्त्री जोन्सन अहिले अस्पतालमा कोरोनाविरुद्धको लडाइँमा छन्। विकसित देशको हालत देखेर हामी अल्पविकसित मुलुकमा मान्छे ‘ट्वाँ’ पर्नुको विकल्प के छ त? घरभित्र सुरक्षित रहनु, सतर्क रहनु नै हाम्रो लागि दह्रो विकल्प हो।

मनाउन नपाएको ‘सहभागिता दिवस

यही सुरक्षा, सतर्कता, लकडाउन, अफिस बन्द, प्रतिष्ठान बन्द, दैनिक उद्यममूलक कार्य आदि सबै बन्दाबन्दीले हामी खुम्चिएका छौं। हामी चाउरिएझैं भएका छौं। यो अवधिमा गर्नुपर्ने कतिपय धार्मिक कार्य, अनुष्ठान, महा–उत्सव, उत्सव, पर्व, खेलकुद, साहित्यिक भेला र गोष्ठी, शैक्षिक जाँच, नतिजा प्रकाशन, नयाँ भर्ना, नियमित विकास–निर्माण कर्म, तालिम, भ्रमण, सम्मेलन सबै सबै रोकिएका छन् । यो रोकाइको मार यसपटक नेपान (नेपाल सहभागीमूलक कार्य समूह) लाई पनि पर्‍यो। 

सहभागीमूलक विकासकर्मीहरूको अग्रणी साझा सञ्जाल (नेटवर्क) संस्था ‘नेपान’ जन्मेको हिजो (६ अप्रिलका दिन) २५ वर्ष पूरा भयो। अर्थात् रजत–जयन्ती वर्ष पूरा भयो। आजदेखि नेपान २६ वर्ष प्रवेश पर्‍यो। आजको दिन नेपानले एउटा जमघट गर्नुपर्ने, नेपान वार्षिकोत्सव मनाउनुपर्ने, र नेपालमा ‘सहभागिता दिवस’ प्रवर्दन वकालती भूमिका निभाउँदै अझ सशक्त बन्ने प्रतिबद्धता जनाउने दिन। तर नेपान पनि ‘लकडाउन’मा छ। अफिसको ताल्चा बन्द छ। साथीहरू ‘लकडाउन’ सफलताको कामना गर्दै घरघरमा हुनुहुन्छ। हामी सबै सदस्यजन घरघरमा छौं। यो राष्ट्रव्यापी बाध्यता! यो विश्वव्यापी बाध्यता!

‘सहभागिता दिवस’को सन्दर्भमा केही गर्न पाइएन आज। ‘नेपान डे’ भनेर पनि जमघट हुन पाइएन।  रजतजयन्ती वर्ष समापन यसै गयो। २६ औं वर्षारम्भको दिन सदस्यहरू आ–आफ्ना घरमा बसेर यस्तरी सुस्ताउनुपर्ला भन्ने कहिले नसोचेको कुरा हुँदैछ। कहिल्यै कल्पना नभएको कुरा हुँदैछ।

सम्झनाको कुनोबाट

पुराना पुराना दिन र दिवसका सन्दर्भहरू स्मृतिमा धेरै नरहे पनि २०७४ र २०७५ का सहभागिता दिवस अर्थात् नेपान वार्षिकोत्सवका केही झलक भने यतिबेला मेरो स्मृति ताजा बनेर आएका छन्।

२०७४ चैत महिनामा मनाइएको ‘सहभागिता दिवस’ तथा नेपान स्थापनाको २४ औं वार्षिकोत्सवका दिन नेपानको आफ्नै घरको सभाकक्षमा भएको थियौं। सो दिन हाम्रो छलफलको विषय थियो ‘विकासमा सामाजिक जवाफदेहिता’। उक्त छलफलका लागि विशेष आमन्त्रित वक्ता डच नागरिक लुसिया नास हुनुहुन्थ्यो। इथियोपियाको विशेष अनुभवमा आधारित कार्यपत्र उहाँले प्रस्तुत गरेपछि व्यापक छलफल भएको थियो। नेपानका क्षमता विकास विशेषज्ञ गोविन्द पौडेलले पनि विशेष समय लिएर सहवक्ताका रूपमा पारस्परिक जवाफदेहिता अभिवृद्धिसम्बन्धी नेपानसम्बद्ध आफ्ना ठोस अनुभवहरू सेयर गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व नेपान अध्यक्षका हैसियतले मैले गरेको थिएँ भने सहजीकरण विकासविद् तेजराज दाहाल र फटिक थापाले गर्नुभएको थियो।सोही मौकामा अतिथिको रूपमा उपस्थित हाल लण्डन निवासी कवि गोकुल भण्डारी (रुपाकोट, गुल्मी) ले आफूले सिर्जना गरेको नेपानसम्बन्धी एक रोचक शुभकामना–कविता वाचन गरेर सुनाउनुभयो।

कविताका केही पंक्ति यस्ता थिए।

  • ‘सहभागिता, समावेशिता र पारदर्शिता
  • नेपान संस्थाका पवित्र नाराहरू
  • गाउँगाउँ, बेसीँबेसीँ र कुनाकुनामा घन्किरहून्
  • तराई, पहाड र हिमालभर जताततै छाइरहून्
  • यो संस्थालाई मेरो हृदयको कुनोबाट शुभकामन…….!’

कविता वाचन गरेर नेपानका सबै सदस्यलाई हौसला प्रदान गर्ने काम त उहाँले गर्नुभएकै थियो। साथै, नेपान सदस्यले स्वयमसेवी भावनाबाट आफ्नो घर आफैं बनाएको सुखद् प्रसङ्ग जोड्दै तत्काल नेपान अक्षयकोषका लागि भनेर १५ हजार रुपैयाँ पनि निःशर्त चन्दा दिनुभयो। कार्यक्रमको समापन मन्तव्य तत्कालीन निवर्तमान अध्यक्ष उत्तम उप्रेतीले गर्नुभएको थियो।

साथै सोही अवसरमा मैले आफ्नो दिवंगत ज्येष्ठ सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा नेपानभित्रै एक पुरस्कार (सम्मान) कोष स्थापना गर्ने भनेर तत्काल रु. १ लाखको चेक नेपानका तत्कालीन कार्यकारी निर्देशक फटिक थापालाई हस्तान्तरण गरेँ। सो कोष एक बैंकमा राखी प्राप्त हुने ब्याजबाट प्रत्येक वर्ष १० हजार नगद र प्रमाणपत्रसमेतको एक विकास लेखन पुरस्कार एकजना वरिष्ठ विकासकर्मी (लेखक) लाई नेपानबाट प्रदान गर्ने घोषणा गरियो।

पुरस्कार स्थापनाको २ वर्षमा २ जना वरिष्ठ विकासकर्मी लेखकहरू सम्मानित भइसक्नुभएको छ। सो १० हजार रुपैयाँको धनराशि र सम्मानपत्रसहितको ‘प्रसिद्ध स्मृति विकास लेखन सम्मान’ २०७५ भदौमा सहप्राध्यापक लेखक गम्भीरबहादुर हाडा ( भक्तपुर) लाई प्रदान गरियो भने २०७६ भदौमा विकासविद् एवम् द्वन्द्वविशेषज्ञ डा. विष्णुराज उप्रेती (दोलखा) लाई प्रदान गरियो। अब २०७७ भदौमा नेपानको २६औं वार्षिक साधारणसभाको अवसर पारेर तेस्रोपटक प्रदान गरिने छ। हरेक वर्ष नेपान कार्यसमितिले एक विशेष कार्यदल बनाई उपयुक्त व्यक्ति सिफारिस गर्ने र सोही व्यक्तिलाई सम्मान अर्पण गर्ने नेपानको कार्यविधि छ।)

२०७४ को त्यो दिवस विशेष स्मरणीय बनेको छ। र, २०७५ मा मनाइएको सहभागिता दिवस अर्थात् नेपान २४औं वार्षिकोत्सव पनि निकै समझनायोग्य छ। त्यसलाई म ‘डाँडागाउँ भेला’ भन्न मन पराउँछु ।

डाँडागाउँ भेला: नेपानको २५ वर्षे यात्रारम्भको बेला

काठमाडौंको बुढानीलकण्ठबाट केही माथि छ डाँडागाउँ। त्यहाँ रिसोर्टैरिसोर्टको बजार छ। त्यही बजारमा बित्यो हाम्रो २०७५ चैतमा २२ र २३ मा सम्पन्न ‘नेपान दिवस’को सन्दर्भ। ‘सहभागिता दिवस २०७५’ अति स्मरणीय बन्यो। नेपानका करिब २ दर्जन सदस्यका बिच आमन्त्रित विज्ञ रुपेन्द्र महर्जनले स्वयमसेवी हिसाबले रिट्रिट सहजीकरण गर्नुभएको थियो।

नेपानमा हाल करिब ३०० सदस्य छन्। त्यसमा ४०, ५० प्रतिशत सदस्य सक्रिय रहे पनि हरबखत सय–सवासय सदस्यको सहभागिता हुनुपर्ने, तर किन हुँदैन? यो प्रश्नको उत्तर निकै कठिन छ। झट्ट पाउन सकिँदैन। बदलिँदो समयको माग, सदस्यको आवश्यकता, रुचि, बहुपक्षीय संलग्नता, नेपानबाट अपेक्षा र अपेक्षापूर्ति हुने क्रम र सम्भावना, सदस्यता शुल्क र अन्य योगदानको तह, सदस्यको बढ्दो क्षमता, योग्यता र पदीय वाह्य अवसरहरू एवम जिम्मेवारी तथा प्रतिष्ठा बढोत्तरी-परिवर्तन आदि दर्जनौं कारण हुन सक्छन् सबै ठाउँमा सबै भेला हुन नसक्ने कारण। त्यसो त सदस्यतामा आधारित ‘भोल्युन्टरी नेटवर्क’मा बढी अपेक्षा राख्नु पनि हुन्न र धेरैजसो संस्थाको हालत यस्तै नै हुन्छ भनेर सहभागीमूलक विकास पद्धतिका अग्रज प्रा.डा. रोबर्ट च्याम्बर्स बारम्बार भन्ने गर्छन्। यो वास्तविकतालाई पनि हामीले मनन गर्नैपर्छ।

रिट्रिटको रमाइलो र सिकाइका अतिरिक्त त्यहाँ दुई मूल कुरा (काम) भए-

क) नेपानको रणनीति (२०१८–२०२२) को प्रभावकारी कार्यान्वयन गर्न के के कुरामा जोड दिनुपर्ला भन्ने विषयमा पनि व्यापक छलफल भयो। त्यसको प्रतिवेदन पनि निकालेर सारसंक्षेप सदस्यबीच सर्कुलर गरियो।     

ख) डा. भोला दाहाल स्मृति सम्मान कोष आरम्भ: नेपानका पूर्व अध्यक्ष विकासविद् डा. भोला दाहालको योगदानको उच्च सम्मान र कदर गर्दै दीर्घकालसम्म उहाँको स्मृति हुने गरी सम्पूर्ण सदस्यको सहभागितामा नेपानमा एक पुरस्कार स्थापना गर्ने प्रस्ताव अध्यक्षको हैसियतबाट मैले राखेँ।

सो अवधारणा सुन्दा साथीहरूले हार्दिक स्वागत गर्नुभयो। डा. भोला दाहालका सुपुत्र प्रज्ज्वल दाहाल र उपस्थित सबै साथीहरूको योगदानबाट करिब ३० हजार रुपैयाँ ठाउँका–ठाउँ उठ्यो। नेपान सदस्य तथा सहप्राध्यापक डा. प्रकाश भट्टराईको संयोजनमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनमा ‘डेभलेपमेन्ट स्टडिज’ विषय अध्ययन गर्ने एमफिल तेस्रो सेमेस्टर (शैक्षिक वर्ष २०७४–२०७६) का विद्यार्थी साथीहरूले पनि आफ्ना भिजिटिङ फ्याकल्टी गुरु स्व. डा. भोला दाहालप्रति सम्मान प्रकट गर्दै एकमुस्ट ५० हजार रकम त्यो कोषमा सहयोग गर्नुभएको छ। केही महिनाभित्रै सो रकम करिब (हालसम्म) २ लाख पुगेको छ। हालसम्मको रकमलाई बढी ब्याज दिने उपयुक्त बैंकमा मुद्धती खातामा राखी सो ब्याजबाट हरेक वर्ष कम्तीमा २ जना ‘सहभागीमूलक विकासकर्मी’लाई सम्मान गर्ने प्रस्ताव छ। कार्यविधिको प्रारुप तयार भएको छ। कार्यविधिलाई अन्तिम रुप दिने कार्य र पुरस्कार राशि एवम् प्रदान गरिने मिति (सन्दर्भ) घोषणा हुन बाँकी छ। वर्तमान कार्यसमितिको दायित्वमा छ त्यो कार्य।

डा. भोला स्मृति पुरस्कार कोष आरम्भ २०७५ को ‘सहभागिता दिवस’ अर्थात् ‘नेपान २४ औं वार्षिकोत्सव’ अर्थात् ‘नेपान रजत–जयन्ती (२५औं वर्षको यात्रा) आरम्भ दिन’ ले दिएका प्रमुख उपलब्धि थिए। ती स्मरणमा ताजा भएर आज विशेषरूपमा मेरो मनमा उत्रिउका छन्। पोहोर डाँडागाउँमा भेला हुने हरेक सहभागीका मनमा पनि यसैगरी आजको दिनमा विशेष उत्रिएका होलान् भन्ठान्छु ।

यसपटक यस्तै भयो !

यसपटक यस्तै भयो। कोरोना कहरले भय थप्यो। हामी भेला भै कार्यक्रम गर्न सकेनौं। सरकारी नियमको अवज्ञा गर्नु आफ्नै लागि बेहाल वा काल निम्त्याउनु हुनेछ। यो यथार्थलाई बुझी विगतका मिठा याद सम्झेर घरमै, कोठामै, छाप्रामै बस्नु बेस।

बुढ्यौली सवालमा नेपान अग्रणी साथी बनेको छ सबैका लागि। एक स्रोतकेन्द्र भएको छ धेरैका लागि। आफनै एउटा लाइब्रेरी छ। नेपालभर नेपान–सञ्जालको छवि राम्रो छ। विश्वमा पनि नेपानको छवि राम्रो भएको कुरा स्वयम विश्वप्रसिद्ध विकासविद् रोबर्ट च्याम्बर्सको भनाइ छ। नेपान सदस्य बन्न पाएकोमा हरेक व्यक्ति गर्व गर्छन्, हरेक संस्था शान अनुभव गर्छन्।

विगत २५ वर्षका एक–एक कामले नेपानलाई सधैं विकासकर्मीका नेटवर्कमध्ये ‘अब्बल’ नेटवर्कमा दर्ज गरेको छ। अनुसन्धानमा नेपानले गरेको काम भरपर्दो मान्छन् साझेदारहरू। वकालती काममा नेपानले लिड गरोस् भन्छन् सहकर्मीहरू। फिल्डमा नेपानका काम पारदर्शी र भरपर्दा हुन्छन् भन्छन् साझेदारहरू। नेपानको अफिस सञ्चालनदेखि हरेक कुरा पारदर्शी र सहभागीमूलक हुन्छन् भन्छन् हरेक भुक्तभोगीहरू। यी सबै सबै नेपानले कमाएका साख रहेछन्, आर्जन गरेका विश्वास र भरोसा रहेछन्।

म आज एक निवर्तमान अध्यक्ष। एक पूर्व संयोजक (कार्यकारी निर्देशक)। एक पूर्व प्रधान–सम्पादक। वर्तमानको पदेन कार्यकारिणी। २२ वर्षदेखि निरन्तर सक्रिय एक आजीवन सदस्य। आफूलाई एक बढी जिम्मेवार व्यक्ति सम्झन्छु । नेपानसँग सबैभन्दा बढी भिजेकामध्ये एक सम्झन्छु। नेपानलाई सबैभन्दा बढी समय दिनेमध्येको एक स्वयमसेवी सदस्य सम्झन्छु। म आफूलाई गौरवान्वित सम्झन्छु। नेपानसँग मुटु, मन, आत्मा, हृदय सबै सबै गाँसिएको सम्झन्छु । मनसा, वाचा, कर्मणा एकैठाउँ प्रयोग भएको पनि सम्झन्छु।

यो सबै गौरवका लागि हाम्रा अग्रज तेत्तीसै जना संस्थापक सदस्यहरू नै विशेष सम्झनलायक हुनुहुन्छ । र, मभन्दा अघि नेपानलाई डोर्‍याई ल्याउने कार्यमा अग्रणी भूमिका खेल्ने १३ जना अध्यक्षहरू र उहाँका कार्यकारिणी टिमका सदस्यहरू विशेष स्मरणीय हुनुहुन्छ। म नेपानको १४औं अध्यक्ष रहेछु। हालका (१५औं) अध्यक्ष झविन्द्र भण्डारीबाट पनि नेपानले धेरै अपेक्षा राखेको छ ।

नेपानको चुस्त व्यवस्थापनमा सचिवालयको नेतृत्व लिने मभन्दा अघिका र मभन्दा पछिका संयोजक-कार्यकारी निर्देशक साथीहरू र सहयोगी कर्मचारी साथीहरूको योगदान त सायद झनै महत्वपूर्ण हुन आउँछ। उहाँहरूकै हातमा हुन्छ नेपान सदस्यलाई परिचालन गर्ने मुख्य जिम्मा, कार्यकारिणीलाई सहजीकरण गर्ने प्रमुख दायित्व र संस्थागत निर्णयहरू कार्यान्वयन गर्ने पूर्ण दायित्व। सुरुमा हुस्नबानु शेखले संयोजकको भूमिका निभाउनुभयो। त्यसपछि क्रमशः डा. कमल फुयाल, द्रोण केसी, झविन्द्र भण्डारी, बच्चुराम बस्नेत, डम्मर राई, दलबहादुर जीसी, फटिकबहादुर थापा र उषा अर्याल दाहालले त्यो भूमिका निभाउनुभयो। पछिल्लो समय कार्यालय संयोजकको भूमिका चन्द्रबहादुर सर्तुङ्गे मगरले निभाइरहनुभएको छ। नेपानमा कुनै पद सह्मालेर नबसे पनि असीम योगदान पुर्‍याउने थुप्रै सदस्य हुनुहुन्छ, नेपान सदस्यता नै नलिएर नेपानका गतिविधि र पहलमा योगदान पुर्‍याउने पनि केही मित्रहरू हुनुहुन्छ, जो सधैं नेपानका लागि साधक र गहना बन्नुभएको छ।

नयाँ चुनौतीबीचको कोरोनामय ‘सहभागिता दिवस’ र नेपान

विश्वभर नै पछिल्लो समयमा विकास–बजेट खुम्चिँदो छ। गैरसरकारी संस्थाको भूमिका खुम्च्याइँदै छ। दातृ निकायको सोच र अवधारणा खुम्चिँदो छ। वाह्य सहयोग-विकास सहायता खुम्च्याइँदै छ। यसको मार नेपाल देशले पनि भोग्न थालिसकेको थियो। नेपालमा पनि नयाँ संविधान निर्माण भएपछि प्रदेश र स्थानीय सरकारसहितका संघीय संरचना तयार भए, विकास प्रक्रिया र प्रशासनमा गैरसरकारी भूमिकालाई कम आँक्न थालिएको स्थिति पनि छ। यी सबै कुराले नेपानजस्ता गैसस पहिलेको तुलनामा खुम्चिँदै जानुपर्ने बाध्यता आउने हो कि भन्ने संशय बढ्न थालेको छ।

नागरिक समाजको भूमिका नहुने विकास प्रणाली कुनै लोकतान्त्रिक पद्धतिमा परिकल्पनासमेत हुन नसक्ने भए पनि कहिलेकाहीँ नेपालमा यस विषयमा समस्या उत्पन्न हुने गरेका छन्, छलफल चल्ने गरेका छन्, विवादसमेत उत्पन्न हुने गरेका छन्। नेपानले नागरिक सहभागिता र समावेशिता अभिवृद्धिकै लागि चासो, चिन्ता, चिन्तन, अध्ययन, प्रशिक्षण र प्रकाशनमा आफूलाई समर्पित गरेको हुँदा बदलिँदो परिवेशमा पनि यसको महिमा र आवश्यकता कत्ति नघटेको बरु झन् बढेको हामीले महसुस गरेका छौं । जनताको आवाज ठूलो र फराकिलो नभएसम्म कुनै पनि प्रणाली दिगोरूपमा टिक्न सक्दैन भन्ने कुरामा पनि नेपान विश्वस्त छ ।

अहिले विश्वभर कोरोना (कोभिड–१९) को महामारीमय आक्रमण छ; यो वैश्विक स्वास्थ्य–समस्याको चरम अवस्थामा पुगेको छ; प्रलय, भय र संशयले सीमा पार गरेको छ। विनाशकारी प्रथम र दोस्रो विश्वयुद्धलाई पनि बिर्साएको छ। कतिपयले यो कोरोना-युद्ध ‘तेस्रो विश्वयुद्ध’सरह भएको भन्दैछन्। कोभिड-१९ का कारण विश्व नै आक्रान्त, क्षतिग्रस्त र तहसनहस बन्ने सम्भावना छ। विश्वका २०४ देशभन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ। कम विकसित देशहरूभन्दा बढी विकसित देशहरू झन् तहसनहस भए भने विश्वकै अर्थतन्त्र डावाँडोल बन्ने, विकास प्रणाली डिप्रेसनमा जाने, ‘रिकभरी’ हुन केही वर्ष लाग्ने संकेत देखिएका छन्।

विश्वको विकास बजेट कोरोनाका लागि खर्च गर्नुपर्ने, नेपालको विकास बजेट र विदेशी सहायता पनि कोरोनासम्बद्ध समस्या र प्रभावका लागि छुट्याउनुपर्ने अवस्था आएको छ । यस्तो स्थितिमा नेपानजस्ता स्वयमसेवी गैससहरूले साझेदारिताका अवसर खुम्चिँदै जाँदा झनै समस्या खेप्नुपर्ने निश्चित छ । कोरोनापछिको विश्व–परिदृश्य नै फरक हुँदैछ । यस्तो स्थितिमा नेपानले पनि आफ्नो ‘परिदृश्य’ फरक बनाउँदै र परिमार्जन गर्दै जानैपर्छ । २६ औं वर्ष प्रवेश गर्न लाग्दाका यी चुनौती र अवसरबीच जुध्नैपर्छ । आजको दिनले दिने मूल सन्देश पनि यही हो । नेपालका विकासकर्मी र नेपानका सबै सदस्यहरू यो समस्या र चुनौतीसँग जुध्नुको विकल्प छैन ।

अन्त्यमा, विश्वप्रसिद्ध चिन्तक विल्फ्रेड ग्रेनफेलले भनेको कुरा हामी सबैका लागि लागू हुन्छ- “यदि हामीले कठिन समस्याको सामना गर्नका लागि संकल्प गर्‍यौँ भने कसले भन्छ त्यो असम्भव छ भनेर?” बस्, आजलाई यत्ति। जय सहभागिता दिवस ! जय नेपान !!

(नेपान निवर्तमान अध्यक्ष)

ठेगाना:- छत्रकोट गाउँपालिका ४, श्रृङ्गा, गुल्मी, प्रदेश ५; हालः नयाँबानेश्वर

काठमाडौं कोरोना लकडाउनको १५औं दिन (२५ चैत, २०७६)   

प्रकाशित : २०७६ चैत २५ गते १२:५०
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI