जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालले चढ्ने गाडी नै अवैधानिक

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते १८:०५
जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालले चढ्ने गाडी नै अवैधानिक

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवालले प्रयोग गरेको गाडी नै अवैधानिक रहेकोे पाइएको छ। शरीरको तापक्रम नाप्ने थर्मल गनको कालोबजारीको आरोपमा अग्रवाल कुटनीतिक नियोगको गाडीसहित पक्राउ परेका थिए।

कालोबजारी गर्न ६७ थान थर्मल गन बोकेको नियोगको २०९ एचसिसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको थियो। उनले आफू नेपालका लागि किर्गिजस्तानका मानार्थ दूत भएको र सोही सुविधाबापत कूटनीतिक नियोगको गाडी प्रयाग गर्दै आएको प्रहरी समक्ष बताएका थिए।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले यसबारे परराष्ट्रसँग बुझ्दा उनले कुनै कूटनीतिक नियोगको गाडी प्रयोग गर्न नपाउने जानकारी आएकाले बरामद गाडी समेत अवैधानिक रहेको पाइएको बताए। 

‘उनी मानार्थ दूत रहेछन्। त्यो भनेको सर्वसाधारण नागरिक सरह नै हो। त्यो भएर उनले कुटनीतिक नियोगको गाडीसमेत प्रयोग गर्न नपाउने देखियो। उनले यो गाडी प्रयोग गर्नु नै अवैधानिक हो,’ एसएसपी थापाले भने।

गाडी कसरी, कहाँबाट प्रयोग गरे भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको साथबाट प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चैत १९ गते जारी भएको सवारी पास समेत बरामद गरेको छ। उनले पासमा प्रयोग गर्ने स्थानमा उपत्यका भनेर राखेका थिए। 

थर्मल गनको कालोबजारी हुने गरेको थाहा पाएपछि महाशाखाका प्रहरी ग्राहक बनेर अग्रवालसँग थर्मल गन किन्न गएका थिए। ५ हजार रुपैयाँ पनि नपर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेच्न लागेपछि प्रहरीले उनलाई नक्सालबाट पक्राउ गरेको हो। स्रोत- नेपाल लाईभ डटकम

प्रकाशित : २०७६ चैत २५ गते १८:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI